पाँचौं बिहे गर्न लागेका मिडिया टाइकुन मर्डोकको कति छ सम्पत्ति ?

काठमाडौं । मिडिया टाइकून तथा अर्बपति ९२ वर्षीय रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग विवाह गर्न लागेका छन् । अवकासप्राप्त रुसी मलेक्युलर बायोलोजिस्ट जुकोभासँग केही महिनादेखि डेटिङ गरिरहेको बताइएको छ । उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यो उनको पाँचौं विवाह हुनेछ । उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छाडेका थिए । ‘द न्यूयोर्क टाइम्स’ का अनुसार जुन महिनामा विवाह गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको छ । अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक बिहे गर्न निधो गरेकी पूर्वप्रहरी पादरी महिला एन लेसले स्मिथसँग एप्रिल २०२३ मा  सम्बन्ध बिग्रन पुगेको र त्यसलगत्तै उनले जुकोभासँग डेट गर्न थालेको बताइएको छ । एलेना र रुपर्टको भेट एक पार्टीमा भएको थियो । मर्डोकका पूर्वपत्नीमा अस्ट्रेलियाली एयर होस्टेस प्याट्रिसिया बूकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार आना मान, चीनमा जन्मेकी वेन्डी डेङ र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हल छन् । को हुन् रुपर्ट मर्डोक ? रुपर्ट मर्डोकले सन् १९५० को दशकमा आफ्नो करिअर सुरु गरेका थिए । उनले बेलायतमा १९६९ मा ‘न्यूज अफ द वर्ल्ड र ‘द सन’ खरिद गरे । पछि उनले अमेरिकामा ‘न्यूयोर्क पोस्ट र ‘वाल स्ट्रीट जर्नल’ लगायत अन्य अमेरिकी प्रकाशन खरिद गरे । १९९६ मा उनले ‘फक्स न्यूज’ सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ । न्यूज कर्प २०१३ मा स्थापना गरिएको हो । त्यसमार्फत मर्डोक सयौं स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन् । कति छ सम्पत्ति ? रुपर्ट मर्डोक ठूला अमेरिकी अर्बपतिका रूपमा गनिन्छन् । फोर्ब्स बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १८ अर्ब ९० करोड अमेरिकी डलरबराबर छ । यो नेपाली विनिमय दरअनुसार २४ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँबराबर हो । बीबीसी 

सबैभन्दा कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

मुस्लिम । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ बर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ बर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ बर्ष छ । सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो । इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए । इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो । सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् । रासस

एआईको डाटा चोरी गरेको आरोपमा गुगलका इन्जिनियर पक्राउ

काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्यरूपमा काम गरिरहेको आरोपमा गुगलका एक पूर्वसफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको छ । लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले ५ सयभन्दा बढी गोप्य फाइलहरू चोरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १० वर्ष कैद र प्रति कसुर २ लाख ५० हजार डलर जरिबानाको सजाय हुने बताइएको छ । डिङलाई गुगलले २०१९ मा एआईसम्बन्धी सफ्टवेयर विकास गर्ने जिम्मेवारी दिएर काममा लगाएको थियो । उनले गुगलको नेटवर्कमा भण्डारण गरिएको महत्वपूर्ण जानकारीहरु मे २०२२ देखि एक वर्ष लगाएर आफ्नो व्यक्तिगत गुगल खातामा अपलोड गर्न थालेको पाइएको बीबीसीले जनाएको छ । बीबीसी