६ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए । उनीहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा गएका थिए । उनीहरूलाई प्रतिस्थापन गर्नेहरू गत साता उनीहरूकै आफ्नो स्पेसएक्स क्याप्सुलमा आएका छन् । मोघबेलीले सोमबार परिक्रमा परिसरबाट प्रस्थान गरेपछि रेडियोमा भने, ‘हामीले तपाईंहरूका लागि बदामको केही बटर र टर्टिला छाडेका छौँ ।’ नासाका लोरल ओ’हाराले जवाफ दिए, ‘म तपाईंलाई पहिलादेखि नै सम्झन्छु र उदार उपहारका लागि धन्यवाद ।’ रुसी सोयुज क्याप्सुलमा सवार हुनुअघि ओ’हारासँग अन्तरिक्ष स्टेसनमा अझै केही साता छन् । अन्तरिक्ष स्टेसन छाड्नुअघि मोगेन्सनले सामाजिक सञ्जाल एक्समा भने, ‘रुखहरूमा चराहरूको गीत सुन्नका लागि प्रतीक्षा गर्न सक्तिनँ र कुरकुरे भोजन खाने पनि इच्छा छ ।’ रकेटमा गडबडीको अवस्थामा नासाले धेरै विकल्पलाई प्राथमिकता दिन्छ । बोइङले मेको प्रारम्भमा दुई–पाइलट परीक्षण उडानसहित अन्तरिक्ष यात्री ट्याक्सी प्रदान गर्न सुरु गर्नुपर्छ । रासस
१८ रुपैयाँमा भाँडा माझ्ने जयराम बने ३०० करोडका मालिक
काठमाडौं । जयराम बनान सागर–रत्न रेष्टुरेन्टका मालिक हुन् । बुवाले कुट्ने डरले उनी घर छाडेर हिँडेका थिए । त्यसपछि उनले धेरै दुःख पनि पाए । तर, हार स्वीकारेनन् । उनले निरन्तर कडा मिहिनेत गरे । अहिले उनले करोडौंको फुड चेन खोलेका छन् । त्यसबाट वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन्छ । भारत मंगलौर (कर्नाटक) नजिकै रहेको ‘उडुपी’ गाउको एक साधारण परिवारमा जन्मेका जयरामका बुबा ड्राइभर थिए । जयरामका बुबा अलि क्रोधित स्वभावका थिए । त्यही कारणले उनी आफ्नो बुबासँग धेरै डराउँथे । जयराम स्कुलको परीक्षामा फेल भएपछि बुवाले आफूलाई नराम्रोसँग कुट्छन् भन्ने महसुस गरे । बुबाले कुट्ने डरले १३ वर्षको उमेरमा उनी घरबाट भागेका थिए । घरबाट भाग्नुअघि उनले बुबाको खल्तीबाट केही पैसा निकाले र मंगलौरबाट मुम्बईको बसमा चढे । जयराम सन् १९६७ मा मुम्बई आएका थिए । जयराम मुम्बई त आए तर उनीसँग कुनै काम थिएन । त्यहाँ उनको एकजना चिनजानका मान्छे थिए जो रेस्टुरेन्ट चलाउँथे । जयरामले उनकै रेस्टुरेन्टमा काम गर्न थाले ।उनको उमेर पनि सानै भएकाले उनलाई धेर केही आउँदैनथ्यो । यस्तो अवस्थामा उनले रेस्टुरेन्टमा जुठा भाँडा धुने काम गरे । यो कामका लागि उनले मासिक १८ रुपैयाँ पारिश्रमिक पाएका थिए । उनले ६ वर्ष भाँडा माझ्ने काम गरे । जयरामको परिश्रम देखेर उनलाई पहिले वेटर र पछि रेस्टुरेन्टको म्यानेजर बनाइयो । योसँगै उनको तलब मासिक दुई सय रुपैयाँ पुग्यो । त्यसपछि सन् १९७४ मा जयराम दिल्ली आए । सुरुमा उनले आफ्नै व्यवसाय गर्ने सोच बनाए । उनी दिल्लीमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्थे। यहाँ उनले गाजियाबादको सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडको क्यान्टिन चलाउन थाले । साथीभाइबाट ऋण लिएर र आफ्नै बचतबाट उनले यो काम सुरु गरेका हुन् । त्यसपछि सन् १९८६ मा उनले दक्षिण दिल्लीको डिफेन्स कालोनीमा आफ्नो पहिलो रेष्टुरेन्ट खोलेका थिए जसको नाम सागर थियो । पहिलो दिनमै उनले यस रेस्टुरेन्टबाट ४०८ रुपैयाँ कमाए । त्यसपछि जयरामको मिहिनेतले प्रतिफल दिन थाल्यो । जयरामको रेष्टुरेन्टमा मानिसको भीड पनि बढ्न थाल्यो । उनको रेस्टुरेन्टमा पाइने साउथ इन्डियन परिकारलाई मानिसहरूले निकै रुचाएका थिए । त्यसपछि उनले दिल्लीको लोधी मार्केटमा पनि पसल खोलेर २० प्रतिशत बढी मूल्यमा त्यही गुणस्तरको खाना दिन थाले । यसरी उनले आफ्नो स्टार्टअप ‘सागर–रत्न’ सुरु गरे । आज दिल्लीमा मात्रै यसको ३० भन्दा बढी रेस्टुरेन्टहरू छन् । जबकि उत्तर भारतमा यसको संख्या बढेर ६० पुगेको छ । आज उनको क्यानडा, सिङ्गापुर, बैंककजस्ता देशहरूमा पनि आउटलेटहरु छन् । यी सबैका कारण उनीहरूको वार्षिक कारोबार ३०० करोडभन्दा माथि पुगेको छ । सागर–रत्न बाहेक उनले सन् २००१ मा स्वागत नामको अर्को रेष्टुरेन्ट चेन सुरु गरेका थिए । आज उनका विश्वभर करिब १०० रेस्टुरेन्ट छन् । वर्तमान अवस्थामा जयरामले वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ।
फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरे
सिङ्गापुर । गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ । चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ । रासस