इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

युरोपेली सङ्घ । युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो । युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले युक्रेनलाई सैन्य सहयोग गर्ने कदममा इयुले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने बताएको छ । इयुका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भने, ‘हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ, यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ, हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।’ अल जजिराका अनुसार इयुका २७ सदस्य मुलुकका राजदूतहरूले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (इपिएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा इयुका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए । ठूलो नगद–फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले इयुका सदस्य र अन्य मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ । युरोपेली रक्षा उद्योगहरूको बलियो प्रवर्द्धक फ्रान्सले ‘रिफन्ड’ का लागि सक्षम हतियार खरिद गर्दा बलियो ‘युरोपेली खरिद गर्नुहोस्’ नीतिमा जोड दिएको थियो । यद्यपि अल जजिराका अनुसार अन्य मुलुकले यस्तो प्रकारको आवश्यकताले विश्वभरबाट युक्रेनका लागि चाँडै हतियार खरिद गर्ने प्रयासमा अवरोध गर्ने तर्क दिएका छन् । जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ र उसले कोषमा मुलुकहरूको वित्तीय योगदानको आकार निर्धारण गर्दा द्विपक्षीय सहयोगलाई ध्यानमा राख्नुपर्ने बताएको छ । अन्ततः ‘युरोपेली खरिद’ नियमहरूमा खुकुलोपनलाई अनुमति दिएर सदस्यहरूको वित्तीय योगदानको गणना गर्दा द्विपक्षीय सहायताको मूल्यको अंशलाई ध्यानमा राखेर सम्झौता भएको कूटनीतिज्ञहरूले बताएका छन् । ‘यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ सङ्कल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो’, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, ‘हामी अर्को इयु विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।’ रासस

चिनियाँ उत्पादनमा मूल्य वृद्धि

चीन । चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ वटा प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ । रासस

‘अलिबाबा’ ले दक्षिण कोरियामा १ अर्ब १ करोड डलर लगानी गर्ने

चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा समूहले आगामी तीन वर्षमा दक्षिण कोरियामा एक अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ । दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले दक्षिण कोरियामा आफ्नो व्यवसाय विस्तार गर्न आगामी तीन वर्षमा १ अर्ब १ करोड डलर लगानी गर्ने योजना बनाएको छ । अलिबाबाले यस वर्ष कोरियामा १८ हजार वर्ग मिटरको लजिस्टिक सेन्टर निर्माण गर्न २० करोड डलर खर्च गर्ने योजना बनाएको छ । अलिबाबाले हालै दक्षिण कोरिया सरकारलाई लगानी योजना बुझाएको छ । यस्तै, अलीबाबले सानो र मध्यम आकारका दक्षिण कोरियाली कम्पनीहरूलाई आफ्नो सामान बेच्न १० करोड डलर खर्च गर्नेछ । दक्षिण कोरियामा उपभोक्ताको बढ्दो गुनासोको बारेमा अलिबाबाको ई–कमर्स प्लेटफर्म ‘अली एक्सप्रेस’ ले अध्ययन गरिरहेको छ । अध्ययनपछि उपभोक्ताको मन जित्ने क्षेत्रमा लगानी लगाउने तयारी छ । एजेन्सीकाे सहयाेगमा