मेरो जीवन राष्ट्रका लागि समर्पित छ : मुख्यमन्त्री केजरीवाल
एजेन्सी । दिल्लीको राउज एभेन्यु अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ । दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेपछि जाँच एजेन्सीले पुर्पक्षका लागि १० दिन न्यायिक हिरासतमा राख्न माग गरेको हो । अदालतमा शुक्रबार पेश गरिएका मुख्यमन्त्री केजरीवालले आफ्नो अडान जारी राखेका छन् । ‘म जेलभित्र वा बाहिर जहाँ भए पनि मेरो जीवन देशका लागि समर्पित छ’, पुर्पक्षका लागि हिरासतमा राख्ने म्यादको सुनिवाइका लागि अदालत परिसरमा प्रवेश गर्ने क्रममा उनले पत्रकारहरूसँग भने । इडीले अदालतमा मुख्यमन्त्री केजरीवाल व्यापारीहरूबाट घुस माग्ने मुख्य षड्यन्त्रकारी भएको आरोप लगाउनुका साथै अन्तःशुल्क नीति निर्माणमा उनको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो । इडीका वकिलले आम आदमी पार्टी (आप) का मिडिया इन्चार्ज विजय नायरले मुख्यमन्त्री केजरीवालका लागि काम गरिरहेको दाबी गरेका थिए । एजेन्सीले केजरीवालको घर नजिकै बस्ने नायरले आप र दक्षिण समूहबीच बिचौलियाका रूपमा काम गरिरहेको बताएको छ । अपराधको कमाइ एक सय करोड (भारतीय रुपैयाँ) मात्र नभई घुस दिनेहरूले गरेको नाफा पनि अपराधको कमाइ भएको इडीका वकिलले थप दावी गरेका थिए । एजेन्सीले गोवा चुनावमा प्रयोग भएको ४५ करोडको हवाला ट्रेलहरु पत्ता लगाएको वकिलले बताएका छन् । केजरीवालका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता अभिषेक मनु सिङ्घवीले रिमाण्डको निवेदनको विरोध गर्दै एजेन्सीले पक्राउ गर्न आवश्यक कारणहरु देखाउनुपर्ने बताए। उनले पक्राउको शक्ति र पक्राउको आवश्यकता दुई फरक कुरा भएको तर्क गर्दै स्वतन्त्रताको ७५ वर्षको इतिहासमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक भएको बताए । अन्तःशुल्क नीति मामिला विषयको मुद्दामा दिल्ली उच्च अदालतले जबरजस्ती कारबाहीबाट आन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि बिहीबार इडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको थियो । यो मुद्दा दिल्ली अन्तःशुल्क नीति मुद्दा २०२२ को गठन र कार्यान्वयनमा भएको अनियमितताको र मनी लन्ड्रिङसँग (कालो धनलाई सेतो बनाउने) सम्बन्धित मुद्दा हो । यसलाई पछि खारेज गरिएको थियो । आपका दुई वरिष्ठ नेता मनिष सिसोदिया र सञ्जय सिंह अन्तःशुल्क नीति मुद्दामा न्यायिक हिरासतमा छन् । सिबिआईले फेब्रुअरी २६ मा कैयौँ चरणको सोधपुछपछि दिल्लीका तत्कालीन उपमुख्यमन्त्री सिसोदियालाई पक्राउ गरेको थियो । इडीले अक्टोबर ५ मा राज्यसभा सदस्य सञ्जय सिंहलाई पक्राउ गरेको हो ।
बढ्दो क्रेडिट कार्ड ठगीका कारण अस्ट्रेलियालीले गुमाए अर्बौं
काठमाडौं । अस्ट्रेलियामा क्रेडिट कार्ड जालसाजी बढ्दै गएको छ । पीडितहरूले २०२२-२०२३ मा अर्बौं डलर गुमाएको आधिकारिक तथ्याङ्कले खुलासा गरेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा जारी गरिएको तथ्याङ्कअनुसार जुन २०२३ को अन्त्यदेखि १२ महिनामा १५ वर्ष र त्यो भन्दा माथिका १.८ मिलियन अस्ट्रेलियालीहरू कार्ड ठगीको शिकार भएका छन् । त्यो संख्याले १५ वर्षभन्दा माथिको जनसंख्याको ८.७ प्रतिशत प्रतिनिधित्व गर्दछ । जुन २०२१-२२ मा ८.१ प्रतिशत र २०२०-२१ मा ६.९ प्रतिशत थियो । कुल मिलाएर कार्ड ठगीको अनुभव गर्ने अष्ट्रेलियालीहरूले २०२२-२३ मा २.२ बिलियन अस्ट्रेलियन डलर (१.४ बिलियन अमेरिकी डलर) गुमाए । एक तिहाइ पीडितहरूले १०० अस्ट्रेलियाली डलरभन्दा कम गुमाए ।
लोकसभा चुनाव नजिक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार
एजेन्सी । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तारमा परेका छन् । पर्वतन निर्देशनालय (इडी)ले मदिरा सम्बन्धी नीतिमा भएको भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री केजरीवालाई पक्राउ गरेको भारतका सञ्चारमाध्यमहरुले जनाएका छन् । इडीले बिहीबार राती केजरीवाललाई उनकै आवासबाट गिरफ्तार गरेको थियो । गिरफ्तारपछि उनको मेडिकल चेकअप गरिएको छ । साथै उनलाई आज नै अदालत पेस गरेर थप अनुसन्धानको लागि इडीले हिरासतमा राख्न अनुमति लिने बताइएको छ । मुख्यमन्त्री केजरीवालको गिरफ्तारीपछि आम आद्मी पार्टीले विरोध प्रदर्शन शुरु गरेको छ भने भने पार्टीको तर्फबाट सर्वोच्च अदालत जाने बताइएको छ । मुख्यमन्त्री केजरीवालको गिरफ्तारीलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीले डराएको तानसाहले एक मरेको लोकतन्त्र बनाउन चाहेको बताएका छन् । अर्की कांग्रेसकी नेतृ प्रियंका गान्धीले चुनावको बेलामा मुख्यमन्त्रीको टार्गेट गरेर गिरफ्तारी गर्नु एकदमी गलत र असंवैधानिक भएको बताएकी छन् । त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि अब भारतीय जनता पार्टी सत्तामा नआउने डरले विपक्षी दलका नेताहरुलाई गिरफ्तार गरेको भन्दै यसले नयाँ जनक्रान्ती जन्माउने प्रतिक्रिया दिएका छन् ।