इरानका राष्ट्रपति इराक जाने
काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुक इराकको भ्रमण गर्ने भएका छन् । जुलाईमा पदभार ग्रहण गरेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । पेजेस्कियानले वरिष्ठ इराकी अधिकारीहरूसँग भेट्न बगदादमा उच्चस्तरीय इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बगदादमा इरानका राजदूत मोहम्मद काजम अल–सदेघलाई उद्धृत गर्दै आधिकारिक आइआरएनए समाचार एजेन्सीले भ्रमण इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको निमन्त्रणामा हुन लागेको हो । राजदूत सदेघले दुवै मुलुकबीच सहयोग र सुरक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए । उनकाअनुसार इरानका दिवङ्गत राष्ट्रपति इब्राहिम रायसीको इराकको योजनाबद्ध भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुने भएको थियो । यद्यपि मेमा रायसीको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढोकेको पहाडमा दुुर्घटनाग्रस्त हुँदा तत्कालीन विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानसँगै उनको निधन भएको थियो । पदभार ग्रहण गरेपछि पेजेस्कियानले इरानको छिमेकीहरूसँगको सम्बन्धलाई बलियो बनाउन ‘प्राथमिकता’ दिने वाचा गरेका थिए । पछिल्लो दुई दशकमा इरान र इराक दुवै शिया बुहल मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ । तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्येको एक हो । इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ । तेहरानले इराकको उत्तरमा कुर्दिश विपक्षी समूहरूमाथि आक्रमण गरेको महिनौपछि सन् २०२३ मार्चमा दुवै मुलुकले साझा सीमालाई समेट्ने सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यसयता उनीहरू इरानी कुर्दिश विद्रोही समूहहरूलाई निशस्त्र बनाउन र उनीहरूलाई सीमावर्ती क्षेत्रहरूबाट हटाउन सहमत भएका छन् । इरानले ती समूहहरूमाथि इराकबाट हतियार आयात गरेको र इरानी-कुर्दिश महिला महसा अमिनीको हिरासतमा भएको मृत्यृपछि भड्किएको सन् २०२२ को विरोध प्रदर्शनलाई उक्साएको आरोप लगाएको छ । इरानले जनवरीमा ‘यहुदी शासन (मोसाद) का जासुसहरूले’ प्रयोग गर्ने स्थललाई निशाना बनाएको भन्दै उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा घातक आक्रमण गरेको थियो । शनिबार निर्वासित एउटा इरानी कुर्दिश समूहले उसको कार्यकर्ता बेहदाज खोसरावीलाई इराकको उत्तरी सहर सुलेमानियाबाट पक्राउ गरेर ‘इरानी गुप्तचर’ लाई सुम्पिएको बताएको छ ।
ग्रीसले विदेशीलाई गोल्डेन भिसा दिने, ज्यालामा १४ प्रतिशत वृद्धि
काठमाडौं । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गरेका छन् । नयाँ योजनामा न्यूनतम ज्यालामा १४ प्रतिशत वृद्धि गर्ने, पेन्सनमा र पर्यटक करमा २.५ प्रतिशत वृद्धि गरेर आर्थिक सङ्कटको व्यवस्थापन गर्ने योजना उनले ल्याएका हुन् । युरोपेली सङ्घमा सन् २०२३ मा प्रतिव्यक्ति सबैभन्दा कम जिडिपी भएको देशमा ग्रीस दोस्रो स्थानमा पर्छ । सन् २०२७ सम्ममा समृद्धि ल्याउने मित्सोटाकिसले एक अन्तर्राष्ट्रिय मेला उद्घाटनमा घोषणा गरेका हुन् । ग्रीक प्रधानमन्त्रीले सार्वजनिक र निजी क्षेत्रको ज्यालामा एकरूपता, सस्तो ऊर्जाको प्रयोग गरी हरित सङ्क्रमण र पर्यटनमा बढ्दो वृद्धिको प्रभाव न्यूनीकरणमा सरकारले सामना गर्नुपरेका चुनौतीको सामना गर्न नयाँ योजना सार्वजनिक गरेका हुन् । साथै देशको घट्दो र वृद्ध जनसङ्ख्याको असरलाई कम गर्न प्रभावकारी काम गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे । एक करोड जनसङ्ख्या भएको रहेको ग्रीक पर्यटनमा अत्यधिक निर्भर रहेको छ । ग्रीकले महामारीमा झण्डै एक दशक लामो आर्थिक सङ्कटको सामना गर्नुपर्ने जानकार बताउँछन् । उच्च मुद्रास्फीतिको कारण आकाशिएको आवास र खाद्यान्नको मूल्य पनि घट्न थालेको छ । सन् २०२३ मा ग्रीसको औसत वार्षिक आय युरोपेलीको औसतभन्दा आधा थियो भने न्यूनतम ज्याला फ्रान्सको भन्दा आधाभन्दा कम अर्थात् मासिक ८३० युरो (९२० अमेरिकी डलर) रहेको छ । मित्सोटाकिसले सन् २०२५ मा पेन्सनमा २.५ प्रतिशतसम्म वृद्धि गर्ने र सन् २०२७ सम्ममा न्यूनतम ज्याला क्रमशः ९५० युरो पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले जन्मदर बढाउन र बजारलाई गति दिन करमा प्रोत्साहन गर्ने उनको भनाइ छ । स्वरोजगारलाई विशेष छुट दिने कार्यक्रमलाई क्रमशः समाप्त गरिने र ऊर्जा कम्पनीमा लगाइएको अप्रत्याशित करबाट संकलन भएको २४ करोड ३० लाख यूरोलाई कमजोर नागरिकहरूलाई वितरण गर्ने योजना सरकारले अघि सारेको छ । मित्सोटाकिसले ग्रीक बन्दरगाहमा क्रुज जहाजबाट ओर्लिने र २ लाख ५० हजार यूरोसम्म लगानी गर्ने विदेशीहरूका लागि गोल्डेन भिसा योजनाको पनि घोषणा गरेको छ ।
यो हो संसारकै महँगो पर्यटन गन्तव्य टापु, भाडा दिनकै ८४ लाख !
काठमाडौं । अहिलेको समयमा धेरै पर्यटक टापु घुम्न मन पराउँछन् । चारैतिर पानीले घेरिएको र हरियाली भएका कारण टापुहरूको सौन्दर्य हेर्न लायक हुन्छ । धेरै पर्यटकहरू यस्ता टापुहरूमा रात बिताउन मन पराउँछन् । तर, यसका लागि भने महंगाे भाडा तिर्नुपर्छ । एक दिनको भाडा लाखौं हुन सक्छ । फिलिपिन्समा एउटा यस्तो निजी टापु पनि छ, जसले यहाँ बस्ने पर्यटकहरूबाट दैनिक लाखौं रुपैयाँ भाडा लिन्छ । यति मात्र होइन, यहाँ बस्नका लागि विभिन्न शर्त पनि लागू हुन्छ । शर्त यो हो कि यो टापुमा कम्तीमा तीन दिन बस्न पाइन्छ । यो टापुमा बसेको तीन दिनको भाडा करोडौं रुपैयाँ पुग्छ । फिलिपिन्सको यो निजी टापुको नाम ‘बनवा’ हो । १५ एकडमा फैलिएको यो टापु फिलिपिन्सको पलावान द्वीपसमूहको हिस्सा हो । यो टापु आफैमा एक रिसोर्ट हो । यो संसारको सबैभन्दा महँगो रिसोर्ट हो । यस टापुमा ६ वटा भिल्ला छन् । एउटा भिल्लामा चार शयनकक्ष, एक निजी इन्फिनिटी पुल, ज्याकुजी आदि छन् । प्रत्येक सुत्ने कोठामा दुईजना मानिस बस्न सक्छन् । यसरी भिल्लामा ८ जना मानिस बस्न सक्छन् । यस्तो अवस्थामा यस टापुमा ४८ जना सँगै बस्न सक्छन् । यो रिसोर्ट पानीले घेरिएको छ । त्यसैले सिपप्लेन र हेलिकप्टरबाट मात्र यहाँ पुग्न सकिन्छ । एउटा कोठामा दुईजना पाहुनाको भाडा प्रतिदिन २ हजार ६ सय ५० अमेरिकी डलर छ । यो प्रारम्भिक मूल्य हो । कम्तीमा एउटा भिल्ला बुक गर्नुपर्छ । यसका लागि सामान्य सिजनमा एक दिनको भाडा करिब ९ लाख रुपैयाँ लाग्ने छ । यहाँ कम्तीमा तीन दिनका लागि बुकिङ गर्नुपर्छ । यस्तो अवस्थामा एउटा भिल्लाको तीन दिनको भाडा करिब २७ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । पिक टाइममा दैनिक भाडा ८४ लाखसम्म पुग्छ । तीन दिनका लागि २ करोड ५० लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । यी हुन् यस टापुका विशेषता: धेरै प्रकारका बाहिरी गतिविधिहरू यहाँ उपलब्ध छन् । यसमा स्कुबा डाइभिङ, स्नोर्कलिङ, स्विमिङ आदि समावेश छन् । यसबाहेक यहाँ स्टारगेजिङ, टेनिस र गल्फको पनि मजा लिन सकिन्छ । तपाईं यहाँ भिल्ला वा सम्पूर्ण टापु भाडामा लिन सक्नुहुन्छ । सम्पूर्ण टापु बुक गर्दा प्रतिभिल्ला भाडा तिर्नुपर्छ । प्रत्येक भिलामा इन्फिनिटी पुल छ । यो टापु मनिलाबाट निजी जेट र हेलिकप्टरबाट डेढ घण्टामा र हङकङबाट तीन घण्टामा पुग्न सकिन्छ । हेलिकप्टर र सिप्लेन सुविधा पनि मनिलाबाट सीधा उपलब्ध छ । एजेन्सी