भारतको औद्योगिक उत्पादन महिनामा ५.९ प्रतिशतले बढ्यो
काठमाडौं । भारतको कारखाना गतिविधि वृद्धि, औद्योगिक उत्पादन सूचकांकद्वारा निर्धारित मे मा ५.९ प्रतिशत वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सन् २०२४ को मे महिनाको लागि आधार २०११–१२ को साथमा आईआईपीको द्रुत अनुमान मे २०२३ मा १४५.६ को तुलनामा १५४.२ थियो । सन् २०२४ को मे महिनामा खानी, उत्पादन र विद्युत क्षेत्रका औद्योगिक उत्पादनको सूचकांक क्रमशः १३६.५, १४९.७ र २२९.३ रहेको तथ्यांकले देखाएको छ । आईआईपीले अप्रिलमा ५ प्रतिशतको वृद्धि देखाएको छ ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पमाथि अमेरिकाको पेन्सिल्भेनियामा भएको एक र्यालीमा गोली प्रहार भएको हो । उनलाई तत्कालै त्यहाँबाट सुरक्षित बाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् । यो घटनापछि तस्बिरहरूमा डोनाल्ड ट्रम्पले आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ र कानबाट रगत पनि बगिरहेको छ । र्यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । आवाज सुनेपछि गुप्तचर सेवाका एजेन्टहरूले उनलाई तुरुन्तै स्टेजबाट हटाए र कारमा लगेका थिए । अहिले उनी सुरक्षित छन् । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका बीबीसीले उल्लेख गरेकाे छ । उक्त घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ । बीबीसी
बंगलादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीको विरोधमा विद्यार्थी
बंगलादेश । बंगलादेशको राजधानी ढाका र देशका अन्य स्थानका विद्याथी सरकारी जागिरमा दिइएको कोटा प्रणालीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीहरूले बिहीबार देशभरका व्यस्त चोकहरूमा प्रदर्शन गर्दै चौथो दिन पनि यातायात अवरुद्ध पारेका छन् भने उनीहरूले ५६ प्रतिशत कोटा दिने सरकारी रोजगार नीतिमा सुधारको माग गरेका छन् । बिहीबार बिहानदेखि सुरु भएको दिनभरको आन्दोलन साँझसम्म चलेको थियो । नाकाबन्दीले विशेषगरी देशभरका कलेज र विश्वविद्यालय वरपरका क्षेत्रमा ट्राफिक जाम भएको छ । ढाका विश्वविद्यालयका विद्यार्थी तथा आन्दोलनका आयोजक नाहिद इस्लामले ढाकामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस कार्यक्रमअन्तर्गत बिहीबार देशभरका सबै राजमार्ग र रेलमार्ग अवरुद्ध गरिएको र आफूहरूको माग पूरा नभएसम्म ‘बंगला नाकावन्दी’ जारी रहनेछ ।’ आन्दोलनरत विद्यार्थीले सबै सरकारी जागिरमा विभेदकारी कोटा प्रणाली अन्त्य गर्नुपर्ने र संविधानबमोजिम पिछडिएको वर्गका लागि उचित तहमा कोटा कायम हुनुपर्ने माग गरेका छन् । हप्तौंलामो विरोध प्रदर्शनपछि सन् २०१८ मा रोकिएको यो प्रणालीलाई गत महिना छुट्टै अदालतले पुनस्थापित गरेको थियो । जुलाईको सुरुमा सर्वोच्च अदालतले सरकारी जागिरका लागि कोटा प्रणालीलाई पुनस्थापित गर्ने निर्णय गरेपछि विद्यार्थीहरूको नेतृत्वमा प्रदर्शनहरू फेरि सुरू भएका हुन् । विद्यमान सरकारी भर्ती प्रणाली अन्तर्गत सरकारी पदहरूको प्रवेशका लागि हुने परीक्षामा ५६ प्रतिशत विशिष्ट ‘हकदार’ वर्गहरूको लागि आरक्षित गरिएको थियो । सन् १९७२ मा लागू गरिएको कोटा प्रणालीमा सुधारको माग गर्दै विश्वविद्यालयका विद्यार्थी र रोजगारका आकाङ्क्षीहरूले गरेको प्रदर्शनपछि सन् २०१८ मा सरकारले सार्वजनिक सेवामा सबै ५६ प्रतिशत कोटा खारेज गर्ने परिपत्र जारी गरेको थियो । रासस