विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ : सी जिनपिङ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । उनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा यस्ताे बताएका हुन् । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पलाई पठाएको पहिलो सन्देशमा सीले भनेका छन्, ‘चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन् र मुठभेडबाट पीडित हुन्छन् भन्ने कुरा इतिहासले देखाएको छ । स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप छ।’ उनले वासिङ्टन र बेइजिङलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गरे । उनले भने, ‘नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ।’ चिनियाँ उपराष्ट्रपति हान झेङले पनि अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सलाई सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार अभियानका क्रममा रिपब्लिकन नेता ट्रम्प र उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान् उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए । ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । स्टिमसन सेन्टरका सिनियर फेलो युन सुनले एएफपीसँग भने, ‘नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीनबीचको व्यापारमा केही हदसम्म सन्तुलन मिलाउने लक्ष्य राख्नुभएको छ ।’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिँदै ‘दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै हितका लागि सहकार्यका सिद्धान्तलाई कायम राख्ने’ विश्वास व्यक्त गरेका थिए ।
अनिल अम्बानीको कम्पनी ऋणमुक्त, समय अगाडि नै तिरे १ हजार ३१८ करोड भारु
काठमाडौं । भारी ऋणमा डुबेका उद्योगपति अनिल अम्बानीको एउटा कम्पनी ऋणमुक्त भएको छ । रिलायन्स पावरको सहायक कम्पनी रोजा पावर सप्लाई कम्पनीले सिंगापुरको ऋणदाता भेर्डे पार्टनरलाई ४८५ करोड भारु ऋण चुक्ता गरेको हाे । योसँगै रोजा पावर अब ऋणमुक्त कम्पनी बनेको छ । कम्पनीले शून्य ऋण स्थिति हासिल गरेको र निर्धारित समयभन्दा अगाडि नै १ हजार ३१८ करोड रुपैयाँ तिर्न बाँकी ऋण पूर्णरूपमा चुक्ता गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि रोजा पावरले सेप्टेम्बरमा भर्डे पार्टनरलाई ८३३ करोड भारु तिरेको थियो । रोजा पावरले उत्तर प्रदेशको शाहजहानपुर नजिकै रोजा गाउँमा १ हजार २०० मेगावाटको कोइलाबाट चल्ने थर्मल पावर प्लान्ट सञ्चालन गर्दै आइरहेकाे छ । यसले रिलायन्स पावरको ब्यालेन्स शीटलाई बलियो बनाउने बताइएकाे छ । कम्पनीले भर्खरै १ हजार ५२५ करोडको प्रिफेरेन्सियल इस्यू (अधिमान्य मुद्दा) जारी गरेको थियो । नियामक जानकारीका अनुसार कम्पनीको प्रिफेरेन्सियल इस्यूले रिलायन्स पावरको नेटवर्थ ११ हजार १५५ करोड रुपैयाँबाट बढेर १२ हजार ६८० करोड रुपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले कम्पनीलाई हरित ऊर्जा क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउने अवसर दिने बुझिएकाे छ । रिलायन्स पावर देशको सबैभन्दा ठूलो निजी क्षेत्रको कम्पनी हो । यसमा कोइला, ग्यास, जलविद्युत र नवीकरणीय ऊर्जाको ठूलो पोर्टफोलियो छ । रिलायन्स पावरको स्थापना क्षमता ५ हजार ३ सय मेगावाट छ । भारतका दाेस्राे धनी व्यक्ति गौतम अडानीको नजरमा मुम्बईमा बिजुली आपूर्ति गर्ने रिलायन्स पावर प्लान्ट रहेकाे छ । (एजेन्सीकाे सहयाेगमा)
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् । अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्वपुर्ण र आमा –बाबासँग विताउनु पर्ने उमेर भएको उनले प्रष्ट पारेका छन् । नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानून पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ । यसको प्रभावकारी कार्यन्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् । फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताएका छन् । हेर्न नचाहेका अनावश्यक सामाग्रीहरु सामाजिक सञ्जालमा प्रणालीमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताएका छन् । यसैगरी, सञ्चारमन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेको बताएका छन् । रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानुनको उल्लङ्न गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने बताएका छन् । फ्रान्सले यस अघि नै सन् २०२३ मा कानुन पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तीमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो । रासस