रिलायन्स र वाल्ट डिज्नीबीच मर्जर : ७० हजार करोड कम्पनीको नेतृत्व नीताले गर्ने, तीन जना सीईओ

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) र वाल्ट डिज्नीबीच मर्जर भएको छ । दुबै कम्पनीले मर्ज गरेर ७० हजार ३५२ करोड भारुको ठूलो कम्पनी गठन गरेका छन् । यस सम्झौतामा रिलायन्सले ११ हजार ५०० करोड भारु लगानी गरेको छ । नीता अम्बानी यस नयाँ उद्यमको मुख्य व्यक्ति हुनेछिन् । उद्योगपति तथा अर्बपति मुकेश अम्बानीकी पत्नीले अध्यक्षको रूपमा कम्पनीको कामकाजको हेरचाह गर्न लागेकी हुन्। संयुक्त उद्यमको नेतृत्व तीन सीईओहरूले गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केभिन भाजले सबै प्लेटफर्महरूमा मनोरञ्जन संस्थाको नेतृत्व गर्नेछन् । किरण मणिले संयुक्त डिजिटल संगठनको कार्यभार सम्हाल्ने बताइएकाे छ । संयुक्त खेलकुद संगठनको नेतृत्व सन्जोग गुप्ताले गर्नेछन् । सँगै उनीहरूले उद्योगमा नयाँ मापदण्डहरू पनि बनाइने जनाइएकाे छ । गत वर्षको नोभेम्बरमा यो सम्झौता घोषणा गरिए पनि अहिलेमात्र सम्झौता सम्पन्न भएको हाे । यस संयुक्त उद्यममा रिलायन्स इन्डस्ट्रीजको १६.३४ प्रतिशत, भायाकम १८ को ४६.८२प्रतिशत र डिज्नीको ३६.८४ प्रतिशत रहेको छ । मिडिया र मनोरञ्जन क्षेत्रमा हंगामा १०० भन्दा बढी टीभी च्यानलहरू, ३० हजार घण्टाभन्दा बढी मनोरञ्जन सामग्री र पाँच करोडभन्दा बढी दर्शकहरूको पहुँचको साथ यो उद्यमले मनोरञ्जन उद्योगमा हंगामा मच्चाउने गरी तयारी गरिरहेकाे छ । यस सम्झौताको बारेमा मुकेश अम्बानीले भने, ‘यो संयुक्त उद्यमको गठनसँगै भारतीय मिडिया र मनोरन्जन उद्योग परिवर्तनकारी युगमा प्रवेश गर्दैछ।’ उनले थपे, ‘डिज्नीसँगको संयुक्त उद्यमको भविष्यको बारेमा म धेरै उत्साहित छु ।’ अनगिन्ती मनोरञ्जनको विकल्प यस नयाँ उद्यमको गठनले दर्शकहरूलाई विभिन्न मनोरञ्जन विकल्पहरू प्रदान गर्नेछ । जिओसिनेमा र हटस्टारजस्ता प्लेटफर्महरू दर्शकहरूमाझ पहिले नै लोकप्रिय छन् । अब यो सम्झौतापछि अझ उत्कृष्ट सामग्री देख्न सकिने अनुमान गर्न सकिन्छ । यस उद्यमसँग क्रिकेट र फुटबल जस्ता खेलहरूको प्रसारण अधिकार पनि हुने बताइएकाे छ । रिलायन्स र डिज्नी बीचको यो संयुक्त उद्यमले भारतीय मनोरन्जन संसारमा नयाँ अध्याय कोरेको छ । यो नयाँ उद्यमले अब के गर्छ र यसले दर्शकहरूलाई कसरी लोभ्याउँछ भनेर हेर्न समय नै कुर्न पर्ने हुन्छ । ( एजेन्सीकाे सहयाेगमा)

इजिप्टको बेरोजगारी दर तेस्रो त्रैमासिकमा ६.७ प्रतिशत

काठमाडौं । इजिप्टमा बेरोजगारी दर २०२४ को तेस्रो त्रैमासिकमा ६.७ प्रतिशतमा पुगेको छ । जुन २०२४ को दोस्रो त्रैमासिकको तुलनामा ०.२ प्रतिशतले बढेको छ । देशको आधिकारिक तथ्यांक एजेन्सीले बिहीबार जारी गरेको तथ्यांकअनुसार बेरोजगार व्यक्तिको कुल संख्या २१ करोड ६० लाख पुगेको र यो कुल श्रमशक्तिको ६.७ प्रतिशत रहेको बताएको छ । केन्द्रिय एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको प्रतिवेदनले यस अवधिमा महिलाको बेरोजगारी १८.२ प्रतिशत रहेको उल्लेख गरेको छ । जुन पुरुषको तुलनामा ४.२ प्रतिशतमा उल्लेख्य रूपमा बढी छ । युवा बेरोजगारी, विशेष गरी १५–२९ उमेर समूहभित्र कुल बेरोजगार जनसंख्याको ६७.२ प्रतिशत हो । रिपोर्टकाअनुसार इजिप्टमा श्रमशक्तिमा २६.४३ मिलियन पुरुष र ५.७९ मिलियन महिलाहरू छन् ।

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं । लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ । मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् । पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदुषण र धुवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगहरूसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि गरेको जनाएका छन् । पाकिस्तानका विभिन्न भागहरूमा धुलो तथा धुवाँको प्रदुषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द गरिएका छन् । पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । सन् २०२४ को ‘नोभेम्बरको सुरुमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाँकिदा हावाको गुणस्तर घटेकाले विद्यालयहरू बन्द भएको र सयौँ मानिसहरू अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ । नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार ९०० भन्दा माथि पुगेको जनाएको छ । पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदुषण ‘प्रकोप’ घोषणा गरी आपतकालीन उपायहरू सुरु गरेको घोषणा गरेको थियो । प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्ण रूपमा अस्पष्ट पारेको बताएको छ । पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर सहर परेको छ । रासस