ठगीको आरोप लागेसँगै धनीको सूचीबाट तल झरे अडानी, एकैदिन घट्यो १२.१ बिलियन डलर सम्पत्ति

काठमाडौं । ठगी र घुसखोरीको आरोप लागेसँगै अडानी समूहका अध्यक्ष गौतम अडानी धनीको सूचीबाट तल झरेका छन् । बिहीबार अमेरिकी अदालतले भारतको दोस्रो धनी व्यापारीसमेत रहेका अडानीविरुद्ध ठगी र घुसखोरीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनको सेयरमा भारी गिरावट आएको थियो । उक्त गिरावटसँगै उनी फोर्ब्सको रियल टाइम नेटवर्थ लिस्टमा तल आएका हुन्। अमेरिकी अदालतको आदेशपछि अडानीकाे कम्पनीको मार्केट क्याप ३.२ लाख करोड रुपैयाँभन्दा बढीले घटेको थियो । जसका कारण अडानीको नेटवर्थ पनि घटेको हो । कति घट्यो सम्पत्ति ? फोर्ब्सका अनुसार अदानीको सम्पत्ति एक दिनमा १७.३४ प्रतिशतले घटेको छ । अर्थात् अडानीको सम्पत्ति एक दिनमा १२.१ बिलियन डलरले घटेर ५७.७ बिलियन डलरमा पुगेको छ । सम्पत्तिमा आएको गिरावटका कारण अडानी फोर्ब्सको अर्बपतिको सूचीमा धेरै स्थान तल झरे । फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा अडानी २२ औं स्थानबाट २५ औं स्थानमा झरेका छन् । ब्लुमबर्ग बिलियनेयर इन्डेक्समा अडानी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छन् । यस सूचीअनुसार अडानीको सम्पत्ति ८५.५ बिलियन डलर छ । अडानी समूहको स्पष्टीकरण यो कुरा बाहिर आएपछि अडानी समूहले बिहीबार नै स्पष्टीकरण दिएको छ । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । के हो विषय ? अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढ्नूहोस् : अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप

अडानी समूहले दियो सफाइ, भन्छ- घूसखोरी र ठगीको आरोप निराधार

काठमाडौं । अडानी समूहले अमेरिकी न्याय विभाग र यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले लगाएका आरोपलाई आधारहीन बताएकाे छ । अमेरिकी अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियाे । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । सेयरधनीलाई आश्वासन अडानी समूहले विज्ञप्तिमा आफ्ना सेयरधनीहरूलाई आश्वासन दिएको छ । यसले अडानी समूहले सधैं सबै क्षेत्रहरूमा पारदर्शिता र नियामक नियमहरूको पालना गरेको र त्यसलाई निरन्तरता दिने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा सेयरधनीहरू, साझेदारहरू र समूहका कर्मचारीहरूलाई कानुनको पूर्ण पालना गर्ने संस्था हौं भन्ने विश्वस्त पार्न चाहन्छाैं ।’ के हो विषय ? अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सेयरमा ठूलो गिरावट यी आरोपलगत्तै अडानी समूहका सबै सेयरमा भारी गिरावट आएको छ । समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर २० प्रतिशतले घटेको छ । अडानी इनर्जी सोलुसन्सको सेयर पनि २० प्रतिशतको तल्लो सर्किटमा पुगेकाे छ । अडानी पोर्ट्स पनि २०% ले घट्यो । २ लाख करोडभन्दा बढीको घाटा सेयरमा आएको गिरावटका कारण अडानीलाई २ लाख करोड भारुभन्दा बढीको घाटा भएको छ । सेयरमा आएको गिरावटका कारण अडानी समूहका कम्पनीहरूको मार्केट क्याप करिब २ लाख करोड भारुले घटेको छ । केही मिडिया रिपोर्टमा यो घाटा करिब ३ लाख करोड भारु रहेको पनि बताइएको छ । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढाैं-  अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप

अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप

काठमाडौं । अडानी समूहका अध्यक्ष तथा भारतका दोस्रो‍ धनी उद्योगपति गौतम अडानी ठूलो समस्यामा परेका छन् । अडानी र अन्य सात जनामाथि अमेरिकामा अर्बौं डलरको घुसखोरी र ठगी गरेको आरोप छ । इकोनोमिक टाइम्सका अनुसार यो मुद्दा अमेरिकी अदालतमा सुनुवाइ भएको थियो । अडानी र उनका भतिजाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । यस मामिलामा नाम आएपछि अडानी समूहले अमेरिकामा रहेको ६० मिलियन डलरको ऋणपत्र (बन्ड) रद्द गरेको छ । सौर्य ऊर्जाको ठेक्का लिन अडानी समूहले भारतीय अधिकारीहरूलाई घुस दिएको आरोप लागेको इकोनोमिक टाइम्सले जनाएकाे छ । अडानीले बुधबार हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीका अध्यक्षले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको चुनावी जितको लागि बधाई दिएपछि यो घोषणा गरिएको हो । रोयटर्सको रिपोर्टमा भनिएको छ कि लगानीको घोषणा गर्दा अडानीले अमेरिकी राष्ट्रपति चुनावमा उनको चुनावी जीतको लागि डोनाल्ड ट्रम्पलाई बधाई पनि दिएका थिए । ट्रम्पले ऊर्जा कम्पनीहरूका लागि नियमहरू सरल बनाउने वाचा गरेका छन् । के हो अडानीको विषय ? अमेरिकी धितोपत्र तथा विनिमय आयोगले दायर गरेको मुद्दामा गौतम अडानीमाथि अमेरिकी लगानीकर्तालाई ठगी गरेको र अधिकारीहरूलाई घूस दिएको आरोप लगाइएको छ । अडानी र अन्यमाथि गलत र भ्रामक बयान दिएर अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम लिएको आरोप छ । अभियोगमा अडानी र अन्यले करिब २६५ मिलियन डलर घुस दिएको उल्लेख छ । यी ठेक्काबाट दुई दशकमा २ बिलियन डलर नाफा हुने उनीहरूको अनुमान थियो । अभियोजनकर्ताहरूले योजनामा ​​संलग्न केही व्यक्तिहरूले गौतम अडानीलाई सन्दर्भ गर्न ‘न्यूमेरो यूनो’ र ‘द बिग म्यान’ जस्ता कोड नामहरू प्रयोग गरेको दाबी गर्छन् । अभियोगमा अडानी, उनका भतिजा सागर अडानी र अर्का कार्यकारी विनीत एस जैनले अडानी ग्रीन इनर्जीका लागि ३ अर्ब डलरभन्दा बढीको ऋण र बण्ड प्राप्त गर्न ऋणदाता र लगानीकर्ताहरूलाई घुस दिएको कुरा लुकाएका थिए । पक्राउ पुर्जी जारी प्रतिवेदनमा गौतम अडानी र सागर अडानीका लागि पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले दुवै व्यक्ति र अर्को व्यक्ति सिरिल क्याबनेसविरुद्ध सम्बन्धित नागरिक अभियोग दायर गरेको छ । यद्यपि, अमेरिकी सरकारले अडानी र अन्य व्यक्तिविरुद्धको विशेष आरोपहरूको बारेमा अझै पूर्ण विवरण उपलब्ध गराएको छैन । अभियोग लाग्नुभन्दा केही घण्टा अघि बन्ड बिक्री अभियोगको खबर आउनुभन्दा केही घन्टाअघि अडानी समूहको एक इकाईले अमेरिकी कर्पोरेट बण्ड बजारमा ६०० मिलियन डलरको प्रस्तावमा प्रवेश गरेको थियो । यो प्रस्ताव ३ पटकभन्दा बढीले ओभरसब्सक्राइब भएको थियो । पछि यी ऋणपत्रको बिक्री पनि रद्द गरियो । अडानीले एक महिनाअघि पनि यस्तै प्रस्ताव राखेको थियो । यद्यपि, ब्लूमबर्गको रिपोर्ट अनुसार मूल्य निर्धारणमा लगानीकर्ताको विरोधपछि त्यो प्रस्ताव स्थगित गर्नुपरेको थियो । (एजेन्सीहरूको सहयोगमा)