स्टारलिंकको सेवा भुटानमा सुरु
काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको कम्पनी स्टारलिंकले छिमेकी राष्ट्र भूटानमा स्याटलकम सेवा सुरु गरेको छ । यो कम्पनी उपग्रह स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्छ । मस्कले स्वयंले यसबारे जानकारी दिएका हुन् । यो कम्पनीले पहिलो पटक नोभेम्बर २०२० मा अमेरिकाभित्र उपग्रहमार्फत इन्टरनेट सेवा सुरु गरेको थियो । त्यसपछि करिब १०० देशहरूमा यसको सेवा विस्तार भइसकेको छ । गत महिना कम्पनीले लाइबेरिया र तुवालुमा आफ्नो सेवा सुरु गरेको थियो र यो महिना भुटानमा पनि स्टारलिंकको सेवा उपलब्ध भएको छ । स्टारलिंकले भारतमा पनि स्याटकाम सेवा सुरु गर्नका लागि आवेदन दिएको छ । तर अहिलेसम्म सरकारबाट लाइसेन्स प्राप्त गर्न सकेको छैन । नेपालको अवस्था के छ ? गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कसँग भर्चुअल संवाद गरेका थिए । संवाद अगाडि स्टारलिंकले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको जनाइएको थियो । ओलीले मस्कसँग सोही विषयमा छलफल गरेको हुनसक्ने आशंका गरिएपनि प्रधानमन्त्री निवासले यसबारेकाे विवरण उपलब्ध गराएको थिएन। सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटवार्ता गरी कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न रुचि देखाएको बताएकी थिइन् । प्रधानमन्त्री ओलीसँग पनि यही विषयमा संवाद भएकाे अनुमान छ । स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
तेहरान । इरानले तेहरान र उसका ३१ मध्ये २० भन्दा बढी प्रान्तका विद्यालय र सरकारी कार्यालयहरू बुधबार देखि बन्द गरेको छ । विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डार इरानमा विद्युत् भने आवश्यकता अनसार उत्पादित छैन अर्थात् यहाँ विद्युत् अभावको अवस्था रहेको छ । विशेष गरी, जाडोमा जब तातो माग बढ्छ इरानले आफ्नो पावर प्लान्टहरूलाई पर्याप्त ईन्धन आपूर्ति गर्न सङ्घर्ष गरिरहेको छ । ‘अत्यधिक चिसो, हिमपात र ऊर्जा खपतमा कटौती गर्नुपर्ने आवश्यकताका कारण धेरै प्रान्तमा सरकारी कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्,’ इरानको मेहर समाचार संस्था (मेहर न्यूज एजेन्सी)ले जनाएको छ । तेहरान, अल्बोर्ज, फार्स, हमादान, इस्फाहान, कुर्दिस्तान र याज्द सहित २० भन्दा बढी अन्य प्रान्तहरू बन्दले प्रभावित भएका छन् । मङ्गलबार राति तेहरानका विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द भएको सरकारी टेलिभिजनले जनाएको छ । राष्ट्रिय विद्युत कम्पनी तावनीरले प्लान्टहरू सञ्चालन गर्न काम गरिरहेको जनाउँदै चरम मौसम र ईन्धनको अभावको कारण ग्यास र बिजुली खपतमा १० प्रतिशत कटौती गर्न आग्रह इरानले गरेको छ । सरकारी टेलिभिजनका अनुसार हमादानको तापक्रम माइनस १९ डिग्री सेल्सियस (माइनस २.२ फरेनहाइट) मा झरेको छ र यो सबैभन्दा चिसो प्रान्तीय राजधानी बनेको छ । बुधबारको मौसम पूर्वानुमानअनुसार १३ प्रान्तमा भारी वर्षा, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने पहाडी भू–भागमा हिमपातको सम्भावना रहेको छ । तेहरानबाट करिब ३०० किलोमिटर पश्चिममा रहेको जाग्रोस पर्वतमा ६० वटा गाउँ हिउँले ढाकिएका छन् र आपूर्तिका लागि हवाई सेवा जारी रहेको तस्निम न्यूज एजेन्सीले जनाएको छ । रासस
स्टिल र आल्मुनियममा छुट दिन अमेरिकासँग जापानको आग्रह
जापान । जापानले बुधबार अमेरिकासँग स्टिल र आल्मुनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करमा छुटका लागि आग्रह गरेको छ । जापानी सरकारी प्रवक्ताले कर छुटका लागि अमेरिकासँग आग्रह गरिएको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसले क्यानाडा, मेक्सिको र युरोपेली संघ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ । ‘हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ… हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ’, प्रवक्ता योशिमासा हायासीले भने । यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको उनले बताए । ‘जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ’, उनले भने । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए । तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो । ‘ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ’’, व्यापार मन्त्रालयका एक अधिकारीले भने । ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र आल्मुनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ । रासस