कुन देशमा मोबाइल इन्टरनेट स्पीड धेरै ? फिक्स्ड ब्रोडब्यान्ड स्पीडमा भारतभन्दा नेपाल अगाडि
काठमाडौं । के तपाईंलाई थाहा छ, संसारमा सबैभन्दा धेरै मोबाइल इन्टरनेट स्पीड भएको देश कुन हो ? स्पीडटेस्ट ग्लोबल इन्डेक्सको नोभेम्बरको तथ्याङ्कअनुसार अमेरिका, जापान र जर्मनी जस्ता प्रमुख देश यस मामिलामा विश्वका शीर्ष १० देशमा परेका छैनन् । यो सूचीमा एसियाका पाँच देश छन् । यस सूचीमा खाडी राष्ट्रहरू पहिलो तीन स्थानमा छन्। युनाइटेड अरब इमिरेट्स अर्थात युएई ४४१.८९ एमबीपीएसको स्पीडका साथ सूचीमा शीर्ष स्थानमा छ । त्यस्तै, कतार ३५८.२७ एमबीपीएसको मोबाइल इन्टरनेट स्पीडका साथ दोस्रो र २६३.५९ एमबीपीएसका साथ कुवेत तेस्रो स्थानमा छ । युरोपेली राष्ट्र बुल्गेरिया १७२.४९ एमबीपीएससँग चौथो स्थानमा छ । मोबाइलमा तीव्र गतिको इन्टरनेटको हिसाबले डेनमार्क पाँचौं स्थानमा छ । यो देशमा मोबाइल इन्टरनेटको गति १६२.२२ एमबीपीएस छ । यसैगरी, दक्षिण कोरिया १४८.३४ एमबीपीएसका साथ छैटौं, नेदरल्यान्ड १४६.५६ एमबीपीएसका साथ सातौं, नर्वे (१४५.७४ एमबीपीएस) आठौं, चीन (१३९.५८ एमबीपीएस) नवौं र लक्जेम्बर्ग (१३४.१४ एमबीपीएस) दशौंमा छ । त्यसपछि सिंगापुर (१२७.७५ एमबीपीएस), अमेरिका (१२४.६१ एमबीपीएस), बहराइन (११८.३६ एमबीपीएस) र फिनल्याण्ड (११४.४५ एमबीपीएस) छन् । यो सूचीमा ५१.९५ एमबीपीएसको गतिका साथ जापान ५९औं स्थानमा छ । सूचीमा भारत २५ नम्बरमा छ । देशमा मोबाइल इन्टरनेटको गति १००.७८ एमबीपीएस छ । पाकिस्तानमा यसको गति २०.८९ एमबीपीएस छ र यो सूचीमा ९७ औं नम्बरमा छ । बंगलादेश २८.२६ एमबीपीएसको गतिका साथ ८८ नम्बरमा छ । तर, फिक्स्ड ब्रोडब्यान्डमा भारतको अवस्था नेपालभन्दा खराब छ । भारतमा यसको स्पीड ६३.५५ एमबीपीएस छ र यो ९१ नम्बरमा छ । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड स्पीड ७०.९४ एमबीपीएस छ र ८७ औं स्थानमा छ । यो सूचीमा सिंगापुर ३२४.४६ एमबीपीएसको गतिका साथ पहिलो स्थानमा छ ।
युक्रेन युद्धको प्रभाव : रुसी तेलको सबैभन्दा ठूलो खरिदार भारत, रिफाइनरीहरू मालामाल
काठमाडौं । भारत रुसबाट तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । चेन्नई-भ्लादिभोस्तोक समुद्री मार्गले आयातलाई झन् सहज बनाएको छ । यो मार्गले यातायात समय र लागत घटाएको हो । यही नयाँ मार्गबाट नै कोइला, एलएनजीजस्ता उत्पादनको व्यापार पनि हुने गरेको छ । यस मार्ग परम्परागत मार्गभन्दा १६ दिन कम समय लिन्छ, जसका कारण रुसी तेल खरिदमा भारतलाई फाइदा भइरहेको छ । नयाँ समुद्री मार्ग ‘पूर्वी समुद्री करिडोर’ मार्फत भारत र रुसबीचको व्यापार सहज भएको हो । यसले विशेषगरी तेल आयातमा धेरै सहयोग गरेको छ । सन् २०२४ को मध्यमा भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको थियो । नयाँ बाटो चेन्नईदेखि भ्लादिभोस्तोकसम्मको रुटले समय र पैसा दुबै बचत गरिरहेको छ । कच्चा तेल, कोइला र एलएनजीजस्ता उत्पादनका साथै अहिले मल र कन्टेनराइज्ड सामान पनि यही बाटोबाट पठाउने गरेको छ । यस मार्गबाट सामान ढुवानी गर्न लाग्ने समय ४० दिनबाट घटेर २४ दिनमा पुगेको छ । भारतले चीनलाई उछिन्यो २०२४ को मध्यमा चीनलाई उछिन्दै भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुगेको हो । परम्परागत रूपमा मुम्बईदेखि सेन्ट पीटर्सबर्ग सम्मको समुद्री मार्ग ८ हजार ६७५ समुद्री माइल लामो थियो । यसले ४० दिन वा बढी समय लिन्थ्यो । चेन्नई देखि भ्लादिभोस्तोक सम्मको नयाँ रुट करिब ५ हजार ६०० समुद्री माइल छ । यसले ढुवानी समय १६ दिन घटाएको छ, अर्थात् अब २४ दिन मात्रै लाग्छ । एउटा ठूलो जहाज लगभग ४५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्छ । यसले लगभग १२ दिनमा भ्लादिभोस्टोकदेखि चेन्नईको दूरी कभर गर्छ । यो परम्परागत सेन्ट पिटर्सबर्ग-मुम्बई मार्गले लिने समयको एक तिहाइ भन्दा कम हो । भ्लादिभोस्तोक प्रशान्त महासागरमा रहेको रुसको सबैभन्दा ठूलो बन्दरगाह हो । यो चीन र रुस सीमाबाट करिब ५० किलोमिटर टाढा रहेको छ । केके आयात निर्यात हुन्छ ? पानीजहाज मन्त्रालयको तथ्यांकअनुसार सन् २०२४ मा यस मार्गबाट आयात भएका प्रमुख सामानमा कच्चा तेल, परियोजनाका सामान, कोइला र कोक, वनस्पति तेल र मल पर्छन् । रुसमा निर्यात गरिएका प्रमुख सामानहरूमा प्रशोधित खनिजहरू, फलाम र स्टील, चिया, समुद्री उत्पादनहरू र चिया-कफी समावेश थिए । परिमाणका हिसाबले कच्चा तेल, कोइला र कोक, मल, वनस्पति तेल र फलाम तथा स्टिल सबैभन्दा बढी आयात भएका छन् । त्यस्तै, प्रशोधित खनिज, फलाम तथा स्टिल, चिया, ग्रेनाइट र प्राकृतिक ढुङ्गा, प्रशोधित फलफूल र जुस निकासीमा प्रमुख छन् । भारतीय रिफाइनरीहरूको वार्षिक मर्मतसम्भारका कारण वर्षको दोस्रो ६ महिनामा कच्चा तेलको आयातमा केही कमी आएको थियो । समग्र आयातमा कमी आए पनि रुसको युराल कच्चा तेलको आयात अक्टोबरमा चार महिनाकै उच्चमा थियो । युराल भारतको रुसी तेल खरिदको मुख्य आधार हो । यो भारतीय रिफाइनरीहरूद्वारा आयात गरिएको रुसी तेलको तीन चौथाई हो । यद्यपि, केही अन्य रुसी कच्चा तेलको आयातमा तीव्र गिरावट आएको छ । यसअघि इराक र साउदी अरब सबैभन्दा ठूलो आपूर्तिकर्ता युक्रेन युद्धअघि इराक र साउदी अरब भारतलाई कच्चा तेलको शीर्ष दुई आपूर्तिकर्ता थिए । तर, जब पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाए, रुसले आफ्नो तेलमा छुट दिन थाल्यो । यसको फाइदा भारतीय रिफाइनरीहरूले उठाए । तर, समयसँगै छुटमा कमी आएको छ । अझै पनि भारतीय रिफाइनरीहरू रुसी तेल किन्न इच्छुक छन् । कारण ठूलो परिमाणमा आयात भएकाले कम छुटमा पनि धेरै बचत हुने गरेको छ । भारतका लागि रुससँगको सम्बन्ध केवल तेल व्यापारमा मात्र सीमित छैन । यस सम्बन्धले रुसलाई चीनतर्फको झुकाव कम गर्न पनि मद्दत गर्ने विज्ञहरू बताउँछन् । यसैगरी, भारत आणविक पनडुब्बीमा सहयोगका लागि पनि रुसमा निर्भर छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ मा भारत भ्रमण गर्ने कार्यक्रम छ । (एजेन्सीहरूको सहयोगमा)
गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी
काठमाडौं । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६औं ठूलो कम्पनी हो । हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर संसारमा यो कम्पनी केवल आफ्नो गाडीको लागि धेरै परिचित छ । हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् । उनी धेरै वर्षसम्म दक्षिण कोरियाको सबैभन्दा धनी थिए । यद्यपि चुङ जु-युङको जीवन संघर्षले भरिएको थियो । धेरै पटक उनको व्यवसाय ध्वस्त भयो तर उनले कहिल्यै हार मानेनन् । आज हामीले यिनै चुङ जु-युङको बारेमा यहाँ उल्लेख गर्दैछाैं । चुङको जन्म उत्तर कोरियाको कानवोन प्रान्तको एउटा सानो गाउँ टोन्चोनमा सन् १९१५ मा गरिब किसानको घरमा भएको थियो । उनी ७ दाजुभाइमध्ये जेठा थिए । उनका बुवा धानखेती गर्दथे । चुङ शिक्षक बन्न चाहन्थे तर उनको परिवारसँग पढाइका लागि पैसा थिएन । उनका बुबाले खेतीपाती गरून् भन्ने चाहन्थे तर खेतीपातीमा उनको रुचि थिएन । एक दिन मौका छाेपी चुङ घरबाट भागे अनि एउटा निर्माण कम्पनीमा काम गर्न सुरु गरे । त्यतिबेला उनी १६ वर्षका थिए । तर दुई महिनापछि उनका बुवाले उनलाई फेला पारे र फर्काए । चुङको मन घरमा थिएन । उनी फेरि भागे र फेरि पनि समातिए । यो क्रम धेरै पटक जारी रह्यो । सुरुवाती संघर्ष अन्ततः १९३४ मा चुङ घरबाट भाग्न सफल भए । उनी भागेर दक्षिण कोरिया पुगेका हुन् । त्यहाँ उनले चामल पसलमा डेलिभरी ब्वाईको रूपमा काम गर्न थाले । उनको इमानदारी र लगनशीलता देखेर पसल साहुले उनलाई मेनेजर बनाए । सन् १९३७ मा पसलका मालिक बिरामी परे र आफ्नो पसल चुङलाई सुम्पिए । यसरी २२ वर्षको उमेरमा चुङ पसलको मालिक बने । तर १९३९ मा जापानीहरूले उनको पसल बन्द गरे । यसपछि चुङले साथीबाट ऋण लिएर अटो मर्मत पसल खोले । उनको यो काम पनि राम्रै चलिरहेको थियो तर १९४३ मा जापानीहरूले फेरि व्यापार बन्द गरिदिए । १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि चुङको भाग्यमा परिवर्तन आयो । १९४६ मा उनले हुण्डाई नामक इन्जिनियरिङ र निर्माण कम्पनी स्थापना गरे । तर १९५० मा उत्तर कोरियाको आक्रमणका कारण चुङले आफ्नो व्यवसाय छोडेर बुसान भाग्नुपर्यो । युद्ध समाप्त भएपछि चुङले आफ्नो व्यवसाय पुनः सुरु गरे । उनले अमेरिकी सेना र कोरियाली सरकारबाट धेरै ठेक्का पाए । तर उनको व्यवसाय १९६१ मा जनरल पार्क चुङ-ही सत्तामा आएपछि फस्टाउन सुरु भएको थियो । हुन्डाईले धेरै निर्माण परियोजनाहरू पायो । यस अवधिमा चुङले आफ्नो व्यवसायलाई धेरै क्षेत्रमा विस्तार गरे । हुन्डाईको बिजनेस हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे । करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व-निर्मित कार पोनी लन्च गर्यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो । पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा गर्यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो । वर्षमै १ लाख ७० हजार कार बिक्री १९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो । आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै, यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो । कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ । सन् २००१ मा चुङको निधन भएको थियो तर त्यतिन्जेलसम्म उनले हुन्डाईलाई निकै उचाइमा पुर्याइइसकेका थिए। (एजेन्सीहरूको सहयोगमा)