क्रिप्टोको प्रचार गरेपछि अर्जेन्टिनाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षी दलको धम्की
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईलाई विपक्षी सांसदहरूले महाभियोगको सामना गर्नुपर्ने धम्की दिएका छन् । सांसदहरूका अनुसार उनले प्रचार गरेको एक क्रिप्टोकरेन्सी केही समयमै धराशयी भएको थियो । शुक्रबार राति मिलेईले एक्स (ट्विटर) मा ‘$LIBRE’ नामक कम चिनिएको क्रिप्टोकरेन्सी सिफारिस गरेका थिए, जसको मूल्य छिट्टै ५ डलर प्रति सिक्का पुग्यो । तर केही घण्टामै उक्त क्रिप्टोकरेन्सी १ डलरभन्दा तल झर्यो । अर्जेन्टिनाको फिनटेक च्याम्बरले यसमा धोखाधडी हुनसक्ने सम्भावना व्यक्त गरेको छ । यसमा डेभलपर्सहरूले प्रारम्भमा लगानी भित्र्याएर सिक्काको मूल्य बढाउँछन्, तर पछि आफ्नो हिस्सेदारी बिक्री गरेर मूल्य गिराउँछन् । ‘यो काण्डले अन्तर्राष्ट्रिय रूपमा हामीलाई लज्जित बनाएको छ। त्यसैले राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता छ,’ विपक्षी गठबन्धनका सांसद लिआन्ड्रो सान्तोरोले भने । मिलेईले एक्समा गरेको पोस्ट केही घण्टापछि हटाएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार पोस्ट केही घण्टासम्म मात्र रहेको थियो । उनले पछि स्पष्टीकरण दिँदै भने, ‘म यो परियोजनाका विवरणहरूबारे जानकार थिइनँ । जब मलाई थाहा भयो, मैले यसलाई प्रचार नगर्ने निर्णय गरें ।’
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गयो
काठमाडौं । शनिबार राति नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सहितका नेताहरूले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मृतक र घाइतेहरूलाई नयाँ दिल्ली रेलवे स्टेशन नजिकै रहेको लोक नायक जय प्रकाश अस्पतालमा लगिएको छ। २५ भन्दा बढी घाइते भएका छन्। महाकुम्भ जानको लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन भएको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीड बढ्यो र भागदौड मच्चिएको हो ।
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिक मामिला मन्त्री डग बर्गमले गर्ने छन् । ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बर्गमले भने, ‘राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्न अनुमति दिनेछ।’ नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड (२.५७ मिलियन वर्ग किलोमिटर) अपतटीय सङ्घीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ । राष्ट्रपति ट्रम्पले भने, ‘यदि तपाईं यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईं नेट वर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्। हामी यसलाई फिर्ता गर्दैछौँ।’