ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ रहेको बताएका छन् । उनले यो निर्णयलाई एक ठूलो झटका मान्दै, केही हप्ताअघि ट्रम्पसँग भएको मैत्रीपूर्ण वार्तापछि जापानका लागि यो कदम आश्चर्यजनक भएको बताए । ट्रम्पले आफ्नो निर्णयको समयमा भने, ‘मित्र र शत्रु दुवैबाट हामीले धेरै कुरा गुमाएका छौं, र वास्तवमा, मित्रहरूले अझ खराब काम गरेका छन् ।’ यस टिप्पणीसँगै जापानी अटो उद्योगमा असन्तोष फैलिएको छ, र जापानका प्रमुख अटो कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ । प्रधानमन्त्री इशिबाले यस निर्णयको जापानी अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने बताएका छन् र भने, ‘यस निर्णयले संयुक्त राज्य अमेरिकालाई कुनै विशेष लाभ प्राप्त हुने छैन ।’ जापानका लागि यो निर्णय एक ठूलो चुनौतीको रूपमा प्रस्तुत भएको छ, र जापानले यसको उपयुक्त प्रतिक्रिया दिने तयारी गरेको छ । यस निर्णयसँगै जापान र अन्य मित्र राष्ट्रहरूकाबीचमा तनाव उत्पन्न भएको छ र विश्वव्यापी अर्थव्यवस्था र बहुपक्षीय व्यापार प्रणालीमा पनि यसको प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ ।
अमेरिकासँग ‘व्यापार तनाव’ बढ्दै जाँदा ‘वैश्विक व्यवस्था’ कायम राख्दै राष्ट्रपति ‘जिनपिङ’
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी कार्यकारीहरूसँग भेटघाट गरेका छन् । अमेरिकासँग व्यापार तनाव बढ्दै जाँदा बेइजिङले व्यावसायीक सम्बन्ध सुदृढ गर्न निकै ध्यान केन्द्रित गरिरहेको छ । राष्ट्रपति जिनपिङले बहुराष्ट्रिय कम्पनीहरूको ‘वैश्विक व्यवस्था कायम राख्ने’ ठूलो जिम्मेवारी रहेको बताउँदै चीनसँग हातेमालो गर्न आवश्यक रहेको उल्लेख गरे । उनले चीनलाई विदेशी कम्पनीहरूको लागि सुरक्षित र स्थिर ठाउँ भएकोमा जोड दिए । उनले भनेका थिए, ‘चीनमा लगानी गर्नु भनेको भोलिमा लगानी गर्नु हो ।’ हालैका नीतिगत योजनासँग मेल खाने गरी सीले चीनले सरकारी खरिद बोलपत्रहरूमा विदेशी व्यवसायहरूलाई समान अवसर सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको बताए । सीसँग भएको गोलमेच छलफलमा ४० भन्दा बढी व्यक्ति मुख्यतः विदेशी कार्यकारीहरू र व्यावसायीक अधिकारीहरू सहभागी थिए । तीमध्ये ब्रिजवाटर एसोसिएट्सका रे डालियो, स्ट्यान्डर्ड चार्टर्डका सीईओ बिल विन्टर्स र ब्ल्याकस्टोन ग्रुपका सीईओ स्टिभ श्वाट्र्जम्यान पनि थि ए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीदेखि चीनमाथि २० प्रतिशत ट्यारिफ वृद्धि गरेका छन्, जसको कारण चीनलाई अमेरिकी फेन्टानाइल संकटका लागि दोषी ठहराइएको छ । साथै अप्रिलको सुरुवातदेखि प्रमुख व्यापारिक साझेदारहरूमा नयाँ ट्यारिफहरू लगाउने धम्की ट्रम्पले दिएका छन् । यसै साता ट्रम्पले चीनमा लगाइएको ट्यारिफ घटाउने संकेत दिए जुन बेइजिङ-आधारित बाइटडान्सलाई अमेरिकी अपरेसनबाट टिकटक बेच्न बाध्य पार्ने सम्झौता टुंग्याउन मद्दत गर्न सक्ने बताइएको छ । यसै हप्ता अमेरिकी सरकारले चीनका दर्जनौं प्रविधि कम्पनीहरूलाई आफ्नो निर्यात कालोसूचीमा थपेको छ । चीनले दक्षिणपूर्वी एसियाली देशहरू र युरोपियन युनियनसँग व्यापार बढाएको छ, तर एकल देशका आधारमा अमेरिका अझै बेइजिङको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ । सीले अमेरिका–चीन व्यापार तनाव वार्ताबाट समाधान गरिनु पर्ने बताउँदै भने, ‘हामीले विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थायित्वका लागि काम गर्नुपर्छ ।’ साथै उनले डिकपलिङ (अर्थतन्त्र अलग्याउने) को कुनै उपाय नभएको उल्लेख गरे । यस बैठकमा पोलिटब्युरो स्थायी समिति सदस्य काइ ची, चीनका प्रमुख कूटनीतिज्ञ वाङ यी, उपप्रधानमन्त्री हे लिफेङ, साथै चीनको आर्थिक योजना एजेन्सी, वित्त मन्त्रालय र वाणिज्य मन्त्रालयका प्रमुखहरू पनि सहभागी थिए । व्यापार दबाबलाई शक्तिशाली रूपमा प्रत्युत्तर दिनुभन्दा सन्तुलित समाधान खोज्ने संकेतस्वरूप चीनले आइतबारदेखि सोमबारसम्म चलेको सरकारी समर्थनप्राप्त वार्षिक सम्मेलनमा प्रमुख अमेरिकी व्यवसायका कार्यकारीहरूसँग भेटवार्ता गरेको थियो । सम्मेलनमा एप्पलका सीईओ टिम कुक सहभागी भए पनि टेस्लाका सीईओ एलन मस्क भने अनुपस्थित थिए । आइतबार नै अमेरिकी रिपब्लिकन सिनेटर स्टिभ डेन्सले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली च्याङसँग भेटवार्ता गरे । यो जनवरीमा ट्रम्पको नयाँ कार्यकाल सुरु भएयता पहिलो पटक कुनै अमेरिकी राजनीतिज्ञले चीन भ्रमण गरेको हो । ‘यो महत्वपूर्ण अर्को चरणतर्फको पहिलो कदम हो, जुन राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पबीचको बैठक हुनेछ,’ डेन्सले वाल स्ट्रीट जर्नललाई भने, ‘त्यो कहिले र कहाँ हुने भन्ने कुरा टुंगो लाग्न बाँकी छ ।’ चीनको राज्य सञ्चालित मिडियाका अनुसार लीले सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै व्यापार युद्धबाट कसैलाई पनि फाइदा नहुने उल्लेख गरे । डेन्ससँगको बैठकमा फेडएक्स, फायजर, कारगिल, क्वालकम, बोइङजस्ता प्रमुख कम्पनीका कार्यकारीहरूका साथै अमेरिका–चीन व्यापार परिषदका अध्यक्ष सीन स्टाइन पनि उपस्थित थिए । विदेशी मिडिया रिपोर्ट अनुसार उनीहरू चीनसँगको व्यापार नीतिबारे छलफल गर्न आएका थिए ।
एक्स पहिलो वार्षिक विज्ञापन राजस्व वृद्धिको रिपोर्ट गर्न तयार
काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूरानो ट्वीटर) पहिलो पटक वार्षिक विज्ञापन राजस्व वृद्धिको रिपोर्ट गर्न तयार भएको छ । बुधबार अनुसन्धान फर्म ईमार्केटरको डाटाले यस्तो जनाएको हो । मस्कको प्रभाव ट्रम्प प्रशासनमा बढिरहेको बेला ब्रान्डहरू एक्समा फर्किरहेका छन् । टेस्लाका सीईओ मस्क अमेरिकी सरकारको दक्षता विभागमा महत्त्वपूर्ण भूमिका निभाउँदै आइरहेका छन् । ईमार्केटरका अनुसार सन् २०२५ मा एक्सको अमेरिकी विज्ञापन राजस्व १७.५ प्रतिशतले वृद्धि भई १.३१ अर्ब पुग्ने अनुमान गरिएको छ, जबकि विश्वव्यापी विज्ञापन बिक्री १६.५ प्रतिशतले वृद्धि भई २.२६ अर्ब पुग्ने अपेक्षा गरिएको छ । ‘यस वर्षको वृद्धिमा डरको भूमिकासमेत रहेको छ । धेरै विज्ञापनदाताहरू एक्समा खर्च गर्नुलाई व्यापारिक आवश्यकताको रूपमा हेर्न सक्छन्, जसले सम्भावित कानुनी वा वित्तीय असरहरू कम गर्न मद्दत गर्दछ,’ ईमार्केटरकी की प्रमुख विश्लेषक जैस्मिन एनबर्गले भनिन् । एनबर्गका अनुसार एक्सले साना तथा मध्यम आकारका व्यवसायहरू आकर्षित गर्न सफल भएको छ, जसमा कम्पनी विगतमा संघर्ष गरिरहेको थियो । मेटा प्लेटफर्मको स्वामित्वमा रहेको इन्स्टाग्राम र छोटो भिडियो एप टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू विज्ञापन बजारमा ठूलो हिस्सा सुरक्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन्, जसलाई अमेरिकी शुल्कहरू र आर्थिक अनिश्चितताले असर पार्न सक्छ । ब्रोकरेज मोफेट नथानसनले नयाँ प्रशासनद्वारा गरिएका परिवर्तनहरूको कारण देखाउँदै, आफ्नो अमेरिकी विज्ञापन वृद्धिको पूर्वानुमान ६.९ प्रतिशतबाट घटाएर ५.८ प्रतिशतभन्दा बढीमा सीमित गरेको थियो । ‘शुल्क घोषणाहरूको उतार-चढाव र संघीय रोजगारी कटौतीहरूले व्यवसायहरू र बजारहरूमा उच्च अनिश्चितता पैदा गरेका छन्,’ उक्त ब्रोकरेजले भन्यो । ईमार्केटरको डाटाले देखाएको छ कि अपेक्षित खर्च वृद्धिसँगै पनि एक्सको विज्ञापन व्यापार अझै पनि त्यति ठूलो छैन जति मस्कले २०२२ को अन्त्यतिर ४४ अर्ब डलरमा कम्पनी किनेको बेलामा थियो । एक निजी कम्पनी भएकाले एक्सले वित्तीय डाटा सार्वजनिक गर्दैन । २०२१ मा यसले सार्वजनिक रूपमा कारोबार गर्ने कम्पनीका रूपमा ४.५१ अर्ब विज्ञापन राजस्व रिपोर्ट गरेको थियो ।