लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर :  विश्व बैंक

काठमाडौं । लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठूलो परिवर्तन देखिएको विश्व बैंकको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन थालेका छन् भने धेरै श्रमिकहरू जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् । सन् २०२५ को जनवरीदेखि फेब्रुअरीसम्म गरिएको विश्व बैंकको ताजा सर्वेक्षणअनुसार लाओसमा रोजगारी दर क्रमिक रूपमा बढिरहेको छ । जनवरी सन् २०२५ मा काम गर्ने व्यक्तिहरूको प्रतिशत ९७.१ पुगेको थियो जुन सन् २०२४ मा ९४.४ प्रतिशत र मे सन् २०२२ मा ८८.२ प्रतिशत थियो ।  प्रतिवेदन अनुसार लाओसको मुद्रास्फीति दर घट्दै गएको छ । सन् २०२५ को जनवरीमा मुद्रास्फीति १५.५ प्रतिशतमा झरेको थियो, जुन डिसेम्बर सन् २०२४ मा १६.९ प्रतिशत थियो । अप्रिलसम्म यो दर ११.१ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । तर, विगत केही वर्षको निरन्तर मूल्यवृद्धिका कारण धेरै परिवारहरू अझै पनि आर्थिक रूपमा कमजोर अवस्थामा छन् । धेरै नागरिकले विदेशमा रोजगारी खोज्ने क्रम जारी राखेका छन्, जहाँ उनीहरूले तुलनात्मक रूपमा राम्रो आम्दानी पाउने आशा राखेका छन् । उच्च मुद्रास्फीति विशेषगरी न्यून आय भएका परिवारमा गहिरो प्रभाव पारिरहेको छ । खाना लगायतका आवश्यक वस्तुहरू महँगा भएपछि धेरै परिवारले बचत खर्च गर्न, पशु बेच्न वा ऋण लिन थालेका छन् ।  यसकै असर स्वरूप केही परिवारले स्वास्थ्य र शिक्षा खर्चमा कटौती गर्न थालेका छन्, जसका कारण गरिब परिवारका बालबालिका विद्यालय बाहिर रहने सम्भावना बढेको छ । लाओसको केन्द्रीय बैंकले सन् २०२५ भित्र एक अंकको मुद्रास्फीति दर हासिल गर्ने लक्ष्यसहित आर्थिक तथा वित्तीय चुनौतीहरूसँग जुध्न सक्रिय उपायहरू अपनाउने जनाएको छ । रासस  

अमेरिकाले यूएईसँग गर्याे २०० अर्ब बढीको सम्झौता, तेल र ग्यास उत्पादनमा सहकार्य

काठमाडौं । संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) सँग २ सय अर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश गरिएको छ । जीई एरोस्पेसले इतिहाद एयरवेजबाट जिइ इन्जिनद्वारा सञ्चालित  बोइङ र विमान खरिद गर्नका लागि १४.५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । ‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ ले ओक्लाहोमा राज्यमा ४ अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।    एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र इओजी रिसोर्सेजले अबुधाबीको नेशनल आयल कम्पनीसँग ६० अर्ब डलरको तेल र प्राकृतिक ग्यासको उत्पादनका लागि सहकार्य गरिरहेको छ ।  यसैगरी आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र युएईको काउन्सिल तवाजुनसँग चर्चित ‘ग्यालियम प्रोजेक्ट’मा साझेदारी गरिरहेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साउदी अरब र कतारको भ्रमणपछि  युएईको भ्रमण गरेका हुन् । 

सीईओ टीम कुकसँग ट्रम्पको असन्तुष्टि, भन्छन्- म भारतमा नभई अमेरिकामा एप्पल बनेको चाहन्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई आफूले भारतमा उत्पादन नगर्न आग्रह गरेको बताएका छन् । चीनबाट उत्पादन हटाएर अन्य देशतर्फ केन्द्रित हुँदै गरेको एप्पलको कदमप्रति असन्तुष्टि जनाउँदै उनले उत्पादन अमेरिकामा ल्याउन आग्रह गरे । साउदी अरबमा आयोजित यूएस-साउदी लगानी फोरममा बोल्दै ट्रम्पले यस्तो आग्रह गरेका हुन् । मैले टिमलाई भनें, ‘हेर टिम, हामीले तिमीलाई धेरै राम्रो व्यवहार गर्‍यौं, वर्षौंसम्म चीनमा बनाएका कारखानाहरूलाई पनि स्वीकार गर्‍यौं । अब तिमी हामीका लागि बनाऊ । हामीलाई भारतमा तिमीले उत्पादन गर्नुमा चासो छैन, भारत आफै हेर्ला... हामी चाहन्छौं कि तिमी यहाँ बनाऊ’, ट्रम्पले भने । ट्रम्पले एप्पलले अमेरिकाभित्र ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको फेब्रुअरी महिनाको प्रतिबद्धतामा उल्लेख गरेका थिए । चीनमा लगभग ९० प्रतिशत प्रमुख स्मार्टफोन उत्पादन हुने अवस्थामा एप्पलले त्यो निर्भरता घटाउँदै भारतमा उत्पादन बढाउने लक्ष्य लिएको छ । कम्पनीले आगामी केही वर्षमा विश्वभरका २५ प्रतिशत आइफोन भारतमै बनाउने योजना बनाएको छ । राष्ट्रपतिले एप्पलले अमेरिकाभित्र उत्पादन बढाउने तयारी गरिरहेको बताएका छन्, तर थप विवरण भने खुलाएका छैनन् । ट्रम्पले एप्पलबारे टिप्पणी गर्दै भारतसँगको व्यापक व्यापार सम्बन्धबारे पनि बोलेका छन् । उनले भारतलाई 'संसारको सबैभन्दा उच्च शुल्क लिने राष्ट्रमध्ये एक' भने, तर भारतले अमेरिकालाई एक यस्तो प्रस्ताव दिएको उल्लेख गरे जहाँ उनीहरू हामीमाथि 'शून्य शुल्क' लगाउन तयार छन् । ह्वाइट हाउसको अप्रिलमा सार्वजनिक गरिएको व्यापार सुरक्षा नीतिअन्तर्गत ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा २६ प्रतिशत पारस्परिक शुल्क लगाएका छन्, जुन हाल जुलाईसम्मका लागि अस्थायी रूपमा घटाइएको छ । भारतमा एप्पलको प्रमुख असेम्ब्ली साझेदार फक्सकनले भारत सरकारबाट एचसीएल ग्रुपसँग संयुक्त लगानीमा अर्धचालक (सेमिकन्डक्टर) कारखाना निर्माण गर्न अनुमति पाएको छ । एप्पलले चीनमा दशकौं लगाएर आपूर्ति श्रृंखला निर्माण गरेको भए पनि अहिले भियतनाम र भारतजस्ता देशहरूमा उत्पादन क्षमता विस्तार गर्ने प्रयास गरिरहेको छ। तर विज्ञहरूका अनुसार आइफोनको उत्पादन अमेरिकामा सार्नु निकै असम्भवजस्तो देखिन्छ, किनभने त्यसो गर्दा अन्तिम मूल्य अत्यधिक महँगो हुनेछ । अनुमानका अनुसार यदि आइफोन अमेरिका भित्र बनाइयो भने यसको मूल्य एक हजार ५ सयदेखि ३ हजा ५ सयसम्म पर्न सक्छ । हाल एप्पलले अमेरिकामा केही मात्र उत्पादन गर्छ । कम्पनीले आफ्नो म्याक्स प्रो अमेरिका भित्र बनाउने गर्छ । फेब्रुअरीमा एप्पलले टेक्सासमा एप्पल इन्टेलिजेन्सका लागि सर्भर उत्पादन गर्ने कारखाना स्थापना गर्ने घोषणा गरेको थियो । कार्यक्रमका क्रममा ट्रम्पले सार्वजनिक रूपमा एनभीडीयाका सीईओ जेन्सेन हुआङको प्रशंसा गरेका थिए ।  'मेरा मित्र जेन्सेन यहाँ हुनुहुन्छ, तर एप्पलका सीईओ टिम कुक यहाँ हुनुहुन्न,'उनले भने ।  ट्रम्पले हुआङको एआई चिप बजारमा ९९ प्रतिशत हिस्सा ओगटेको उपलब्धिको प्रशंसा गरे र एनभीडीयाले अमेरिकी एआई पूर्वाधारमा ५०० अर्ब डलर लगानी गर्ने योजना रहेको उल्लेख गरे ।