श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सिंह नियुक्त

काठमाडौं । श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशील कुमार सिंह नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सिंहलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । रेग्मीले आजबाट सिइओको कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए । प्रदेशस्तरीय बैंक रहेको सो बैंकको केन्द्रीय कार्यालय बाहेक चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् भने अन्य शाखा पनि विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलबाट बाहिरिए सीईओ ढकाल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बाहिरिएका छन् । सीईओ ढकालको कार्यकाल सकिएपछि गत असोज १ गते क्यापिटलबाट बाहिरिएका हुन् । विगत ८ वर्षदेखि ग्लोबल आइएमई क्यापीटलको सीईओ भएर काम गरेका ढकालको २ कार्यकाल सकिए पछि क्यापिटलबाट बाहिरिएका हुन् । ढकालसँग बैंकिङ्ग तथा लेखा परिक्षणको क्षेत्रमा १४ वर्ष भन्दा बढिको कार्य अनुभव छ । साथै, बिबिए तथा एमबिएमा फाईनान्सियल एकाउन्टिङ्ग, कर्पोरेट फाईनान्स, इन्भेष्टमेण्ट तथा ट्याक्सेसन विषयको अध्यापन उनले गरेका छन् ।