हिमालयन रिको सीईओ बनिन् पौडेल, प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा पौडेल नियुक्त भएकी हुन् । प्राधिकरणले कम्पनीबाट पत्र पाएको दुई दिन अर्थात सोमबार (असोज १५ गते) नै पौडेललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएको उच्च स्रोतले बताएको छ । नवनियुक्त सीईओ पौडेलले पनि आफू एक कार्यकालको लागि हिमालयन रिको सीईओ पदमा नियुक्त भएको बताएकी छिन् । नवनियुक्त सीईओ पौडेल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत थिइन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन् । त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओसँगै कान्छो सीईओ पनि हुन् । ३६ वर्षको उमेरमै कम्पनीको सीईओ बनेकी पौडेलले १० अर्ब रुपैयाँ बराबरको कम्पनी धान्दै छिन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । यसअघि कम्पनीको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । सीईओ पदबाट राजिनामा दिएका उनलाई भने एक वर्षसम्मको लागि कम्पनीको सल्लाकारको रुपमा नियुक्त गरिएको प्राधिकरणले जानकारी गराएको छ ।

नेपाल बैंकबाट बाहिरिए अधिकारी, पन्तले पाइन् जिम्मेवारी

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नदोहोर्याउने निर्णय गरेको बैंक स्रोतले बताएको छ । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । अधिकारी बाहिरिएपछि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।

पशुपति जलहरी प्रकरण : सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर, जनही एक करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकालसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । साथै, उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो माग दावी गरिएको छ ।