देउवा सरकारले सुरु गरेको नियुक्ति धमाधम रद्ध, बीमा संस्थाको प्रशासक प्रक्रिया खारेज
काठमाडौं । शेरबहादुर देउवा सरकारको पालमा सुरु गरिएको नियुक्ति प्रक्रिया केपी ओली नेतृत्वको सरकारले धमाधम रद्ध गर्न थालेको छ । ओली सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासक नियुक्ति प्रक्रियालाई पनि रोकेको छ । देउवा सरकारको पालामा गठित प्रशासक नियुत्ति छनौट तथा शिफारिश समितिको निर्णयलाई ओली सरकारले उल्टाएको छ । समितिको गत शुक्रबार बसेको बैठकले प्राप्त दरखास्त तथा हाल भएको सबै प्रक्रिया रद्धको निर्णय गरेको हो । छनौट तथा शिफारिश समितिले माग गर्दा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापाले दरखास्त दिएका थिए । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ता पनि लिएको थियो । समितिले एकाएक नियुक्तिको सबै प्रक्रिया रद्ध भएको जानकारी गराउदै पदपूर्तिमा सहभागी सबै आवेदकलाई दस्तुर वापत बुझाएको सबै रकम फिर्ता लिन अर्थ मन्त्रालयको आर्थिक प्रशासन महाशाखामा सम्पर्क गर्न भनिएको छ ।
प्रोगेसिभ फाइनान्सको अध्यक्षमा किशोरकुमार महर्जन
काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्ष्यमा किशोरकुमार महर्जन चयन भएका छन् । संस्थाको चैत १३ गते सम्पन्न संस्चालक समितिको बैठकले संचालक सदस्य महर्जनलाई सोही दिनदेखि लागु हुने गरि कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको हाल संचालक समितिको अध्यक्षता गरिरहेका मुकुन्दप्रसाद दाहालले उक्त पदबाट राजिनामा दिए पछि नवनियुक्त महर्जनले उक्त पद सम्हाल्ने भएका हुन् । दाहाल भने यस संस्थाको संचालक सदस्यमा यथावत रहने भएका छन् । नवनियुक्त अध्यक्ष महर्जन सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् । त्यसका साथै, उनको नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ । संस्थाको चैत १२ गते बसेको समितिको बैठकले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्न महर्जनलाई नै संचालक सदस्यमा नियुक्त गरेको थियो ।
असार भित्र वाणिज्य बैंकका ३५९ वटा शाखा थपिँदै, ३ हजारलाई रोजगारी
काठमाडौं । असार मसान्तभित्र ३५९ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैशाख भित्र २४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कुन बैंकले कहाँ शाखा खोल्दैछन् हेर्न यहाँ क्लिक गर्नुहोस त्यस्तै असार भित्र थप ११६ वटा स्थानीय तहमा शाखा विस्तार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी आगामी असार मसान्तभित्रमा ३५९ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भैसक्नेछन् । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह नै तोकेर बैशाख र असार भित्र शाखा विस्तार नगरे कारवाही गर्ने पत्र समेत लेखेको हो । स्थानीय तहहरुले आफ्नो सञ्जित खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने व्यवस्था रहेको छ । ३५९ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा नखुलेपछि स्थानीय तहरुले आफ्नो सञ्चित खाता खोल्न नै अन्यत्र जानुपर्ने बाध्यता थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले केन्द्रिय बैंकको निर्देशन मान्न बैंकहरु तयार रहेको बताए । तर पुर्वाधार, सुरक्षा, जनशक्ति र बजारका कारण तोकिएकै समयमा भने सबै स्थानीय तहमा पुग्न कठिन हुने उनले बताए । ‘एउटा शाखा सञ्चालनका लागि न्युनतम पनि ६ जना कर्मचारी आवश्यक पर्छन्, पुर्वाधार र सुरक्षा पनि चाहिन्छ, हामी केन्द्रिय बैंकले भने अनुसार नै गर्ने प्रयास गर्छाै तर तोकिएको समयमा सबै तहमा पुग्न भने कठिन हुने देखिन्छ’, दाहालले भने । ३५९ वटा स्थानीय तहमा स्थापना हुने बाणिज्य बैंकका शाखाहरुमा करिब २६५ सय ३ हजारसम्म कर्मचारी आवश्यक पर्ने देखिन्छ । बाणिज्य बैंकहरुको एउटा शाखाका लागि न्युनतम ४ जना बैंकिङ स्टाफ, २ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोग आवश्यक पर्ने सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।