ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार सुनसरीमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सभासद श्रीले गरेका हुन् । उनले ग्रील तथा स्टील उद्योगमैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ व्यवस्थित उद्योग सञ्चालन गर्न आग्रह गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथि ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अधिकांश ग्रील उद्योगीहरु कानुनी दायरामा आउन नसक्दा व्यवसाय व्यवस्थित हुन नसकेको बताएका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान नसकेको र दर्ता भएका उद्योगहरु र त्यसमा संलग्न अधिकांश श्रमिकहरुले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नहुँदा कोषमा सहभागिता गराउन नसकिएको समेत जानकारी गराए । यस्तै, सचेतना कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै ग्रील तथा स्टील व्यवसायीहरुले आफ्ना श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइ काम गर्दा सुरक्षाका उपकरणहरु पन्जा, चस्मा, हेलमेट, सेफ्टी बेल्ट जुत्ताको अनिवार्य प्रयोग गराउन आग्रह गरेका थिए। कार्यक्रमका सभापति सुनसरी जिल्लाका अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उद्योगलाई सहज किसिमले दर्ता गर्ने र अबैध उद्योगलाई कानुनी दायरामा ल्याउने काममा सक्रियता देखाउनु पर्ने बताएका छन् । साथै, ग्रील उद्योगमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन सरकारसँग आग्रह समेत गरेका थिए । उक्त साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
वैदेशिक राेजगार विभागमा पर्ने उजुरी ४५ प्रतिशतले घट्याे, तीन महिनामा जम्मा साढे १३ करोड शुल्क संकलन
काठमाडौं । चालु आर्थिक वर्षकाे पहिलो चौमासिकमा वैदेशिक रोजगार विभागमा आउने उजुरी संख्या ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षकाे प्रथम चाैमासिकमा विभागमा आउने उजुरीकाे संख्या ४५ प्रतिशतले घटेको हो । चालु आवकाे कार्तिक मसान्तसम्मकाे तथ्याङ्क अनुसार विभागमा १ सय ७७ वटा उजुरी परेका छन् भने गत आवकाे प्रथम चाैमासिकमा ३ सय ११ वटा उजुरी परेका थिए । विभागका महानिर्देशक डा. भीष्म कुमार भूसालले पछिल्लाे समय विभागमा उजुरी कम पर्ने गरेकाे बताए । उनले खाडी मुलुकमा जाने श्रमिकको मात्र नभई युरोप, अमेरिका जस्ता विकसित देशमा जाने श्रमिकको गुनासो विभागमा आउने गरेको बताए । गत वर्षको पहिलो चौमासिकमा विभागमा आएको उजुरीमा ५९ वटा अदालतमा दर्ता भएकाे उनकाे भनाइ छ। यस वर्ष भने ९८ उजुरी अदालतमा दर्ता भएका छन् । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष १७ करोड ५३ लाख ७४ हजार विभागमा दावी रकम रहेकाे थियाे भने हाल १३ करोड ६६ लाख ६९ हजार रहेको छ । यस्तै गत वर्षको दोस्रो चौमासिकमा २५३ उजुरी र तेस्रोमा २८१ उजुरी विभागमा परेका थिए । ति मध्ये ८ सय ५५ वटा मुद्दा विभागमा दर्ता भएका छन् । गत वर्षकाे दाबी शुल्क भने ५६ करोड ११ लाख २९ हजार रहेकाे थियाे । गतवर्षको पहिलो चौमासिकमा ५९ वटा अदालतमा दायर भएका थिए भने दोस्रो ५० र तेस्रो एक सय गरी गत वर्ष कुल २ सय ९ मुद्दा विभागबाट अदालतमा पेश भएका थिए । महानिर्देशक भूषालले श्रमिकका गुनासो सुनुवाइर्मा विभाग केन्द्रित वैदेशिक रोजगार विभागमा आएका गुनासोलाई मध्यनजर गर्दै आफ्नो कामलाई तिव्रता दिएकाे बताए । पछिल्लो समय विभागमा विदेशिने मोहमा नक्कली विवाहदेखि पूर्जासम्म नक्कली गरेका विषयमा गुनासो आउने गरेकाे उनकाे भनाइ छ । विभागमा आउने गुनासोमा धेरै जसो मानिस गैर कानुनी माध्यमबाट वैदेशिक रोजगार जान लागेका तथा गरेर दु.ख पाएका व्यक्तिहरू आउने गरेका छन् ।
ग्लोबल आइएमई बैंकका सीईओ परशुरामकुंवर क्षेत्रीले गरे पदबहाली
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्रीले पदबहाली गरेको छन् । गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पदबहाली गराएका हुन् । तीन दशक भन्दाबढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ सालअसार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालिन बैंक अफएसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् । वि.सं. २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर शुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंकको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना काम गरेका थिए । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको हो । यससँगै एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष २४ अर्ब रुपैयाँ, कुल निक्षेप २१३ अर्ब रुपैयाँ, कुल कर्जा १९४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै, ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा/सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।