वैदेशिक रोजगारमा जाने महिलालाई श्रम सम्बन्धि प्रशिक्षण अनिवार्य
काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहचल कार्यालयले वैदेशिक रोजगारमा जाने महिलाका लागि अनिवार्य रूपमा प्रशिक्षण दिँदै आएको छ । करिब पाँच महिनादेखि निरन्तर श्रम स्वीकृति जारी गर्न आएका महिलाका लागि सो प्रशिक्षण अनिवार्य गरिएको हो । दलालका मिठा गफमा होइन बुझेर वैदेशिक रोजगारमा जानु पर्ने भन्दै श्रम कार्यालयले सो प्रशिक्षण दिएको हो । श्रम स्वीकृतिका लागि आउने महिला पुरुषको सबैलाई प्रशिक्षण दिन सम्भव नहुँदा महिलालाई मात्र ५ महिनादेखि प्रशिक्षण प्रदान गर्दै आएको वैदेशिक रोजगार विभाग, ताहचल कार्यालयका प्रमुख देवेन्द्र कार्कीले बताए । नेपालमा दैनिक रुपमा एक हजार युवा वैदेशिक रोजगारमा जाने गर्छन् । ‘श्रम स्वीकृतिका लागि विहानै देखि कार्यालयमा लाग्ने श्रमिकको भुइँचो हालैमात्र लागु भएको ई. टोकन सिस्टमले प्रभाव पारेको छ ।’ यसले गर्दा श्रम स्वीकृतका लागि आउने व्यक्तिका लागि पहिलोको जस्तो काम भएन भनेर फर्किनु नपर्ने कार्यालय प्रमुख कार्कीले जनाए । श्रम कार्यालय ताहचलले ५ महिनादेखि महिलाका लागि मात्र प्रशिक्षणमा आएका छ । प्रशिक्षणमा आउने महिलाहरु गरिबी र विकट भेगका, श्रीमानले दुई विवाह गरेका तथा मङ्गोलियनको दरबढी भएको प्रशिक्षक मनिष केसीले जानकारी दिए । दैनिक कम्तीमा १५ देखि ५० जनाको महिलाको उपस्थिति सो प्रशिक्षणमा ८० प्रतिशत महिला घरेलु काम तथा सरसफाइमा र सेल्समा जाने प्रशिक्षक मनिष केसीले बताए । वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरु दलाल पनि हुने हुँदा मिठा र चिल्ला कुरा धेरै फस्ने हुँदा तुरुन्तै भर नपर्नुका लागि यस प्रशिक्षण कार्यक्रम मार्फत सजक गराउँने काम गरिन्छ । भिषा, करार अवधि तथा पासपोर्टको फोटोकपी आफ्नो घरपरिवारलाई सोध्नु पर्ने जानकारी दिँदै आफुले काम गर्ने कम्पनी तथा तलब, सुविधा बुझेरमात्र करार गर्नु पर्ने छ । वैदेशिक रोजगारीमा जाँदा कामसँग सम्बन्धित सीप सिकी स्वास्थ्य परीक्षण र बीमा गराई श्रम स्वीकृतिको आवश्यकताको विषयमा श्रम कार्यालय ताहचलले जानकारी दिएको छ । आधा घण्टा प्रदान गर्ने उक्त प्रशिक्षण समूहमा तथा व्यक्तिगत रुपमा पनि गरिदै आएको छ ।
नगरपालिकाले शुरु गर्यो निःशुल्क लोकसेवा तयारी कक्षा
वालिङ । शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा प्रशिक्षण शुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । उनले भने, “स्याङ्जा जिल्लाको यो पहिचानलाई जोगाउँदै आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित यो प्रशिक्षण सञ्चालन गरिएको छ ।” पहिलो चरणमा निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि तयारी गरिरहेको नगरप्रमुख खाँणले बताए । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगरउपप्रमुख कल्पना तिवारीले दाबी गरे । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ । नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको भनाइ छ । “तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निःशुल्क कक्षा सञ्चालन गर्छौं”, अधिकृत सुवेदीले भने, “लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान वालिङ नगरपालिकामै पहिलो पनि हो ।” नायब सुब्बा र खरिदारका लागि सञ्चालन भएको तयारी कक्षा तीन–तीन महिना अवधिका लागि हुने शिक्षा शाखाप्रमुख उपसचिव बाबुराम सापकोटाले बताए । लोक सेवा आयोगको तयारी कक्षाका लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेका पुरुष र ४० वर्ष ननाघेका महिलालाई सहभागी बनाइएको शाखाप्रमुख सापकोटाले बताएका छन् । नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि १५ दिनको सूचना प्रकाशन गरेकामा ३ सय १५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट १५५ जना छनौट गरी निःशुल्क तयारी प्रशिक्षण कक्षामा सहभागी बनाइएको छ । सहभागी भएकाहरुलाई बिहान र बेलुकामा कक्षा सञ्चालन थालिएको शिक्षा शाखाप्रमुख सापकोटाले बताए । रासस
नेपाल पुनर्बिमा कम्पनीको सीईओमा शंकरकुमार रायमाझी नियुक्त
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ रायमाझीले आगामी चार वर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । उक्त सीईओ पदमा ६ जनाको आवेदन परेको थियो जसमध्ये २ जना पहिलो चरणबाटै बाहिरिएका थिए । बाँकी ४ मध्येमा रायमाझीलाई नियुक्त गरिएको हो । कम्पनीको सीईओ पदको लागि राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, नबिल बैकका पूर्व व्यवस्थापक ज्ञानेश्वर आचार्य, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य र युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल र नेपाल पुनर्बिमा कम्पनीकै पूर्व सीईओ चिरायु राजभण्डारीले आवेदन दिएका थिए ।