मलेसियामा मासिक १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान रोक

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया जाने नेपाली श्रमिकलाई न्यूनतम १२ सय रिंगेटभन्दा कम तलबमा लैजान नपाइने भएको छ । आगामी जनवरी २ तारिखदेखि मलेसियाका जुनसुकै कम्पनीहरुले नेपाली कामदार लैजान नपाउने मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले एक सूचना जारी गरेको हो । राजदूतावासमा प्रमाणका लागि पेश गरिने श्रम सम्बन्धि मागपत्रमा अनिवार्य रुपमा न्यूनतम/आधारभूत तलब प्रष्ट रुपमा राखेर पेश गर्न सबै रोजगारदातालाई निर्देशन दिएको हो । केहि समय अगाडी मलेसियाको मानव संशोधन मन्त्रालयले जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको न्यूनतम मासिक तलब १२ सय मलेसियन रिंगेट बनाउने निर्णय गरेको थियो ।

करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा हालसम्मकै कान्छा

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । उपाध्यक्षमा चयन भएसँगै चौधरीले भने- ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु । ’ नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । हालै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।

विदेश जादै हुनुहुन्छ, निःशुल्क सिमकार्ड लिन नभुल्नु होस्

काठमाडौं । श्रम स्वीकृति र पासपोर्टकोलाई आधार बनाइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई सिमकार्ड वितरण गरिरहेको छ । हाइल्याण्ड इन्टरनेशनल प्रा.लि., नक्सालले विगत तीन वर्षदेखि विभिन्न देशको टेलिकमसँगको सहकार्यमा तथा नेपाल सरकारको स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई निःशुल्क सिमकार्ड प्रदान गर्दै आएको हो । मलेसिया ओमान र कतारका सिमकार्ड एयरपोट र श्रम कार्यालय ताहचलले दैनिक दुई सय सिमकार्ड वितरण गर्दै आएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको सहजताका लागि ध्यानमा राखेर विगत तीनवर्ष देखि हाइल्याण्ड इन्टरनेशनल प्रा.लि.ले निःशुल्क सिमकार्ड वितरण गर्दै आएको कम्पनीका अप्रेशन म्यानेजर विनोद लामाले बताए । वैदेशिक रोजगारमा जाने श्रमिकको श्रम स्वीकृतिपत्र र पासपोर्टलाई आधार बनाइ सिमकार्ड प्रदान गर्ने जानकारी दिए । नेपाल सरकारको स्वीकृति बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाललाई गत्तव्य स्थलको सिमकार्ड वितरण गर्ने यो नै पहिलो तथा एक्लो कम्पनी हो । हालसम्म कुनै पनि देशका सिमकार्ड विक्री तथा वितरणका लागि नेपाल सरकारले अन्य संस्थालाई स्वीकृति नदिएको श्रम स्वीकृति कार्यालय ताहचलले जानकारी दिएको छ । दैनिक ताहचलबाट मात्र कतार, ओमान, मलेसियाको सिमकार्ड कम्तीमा एक सय वटा वितरण हुँदै आएको श्रम कार्यालय ताहचलमा ३ वर्षदेखि सिमकार्ड वितरण गर्दै आएका माधव पौडेलले जानकारी दिए । उनले भने ‘शुरुवातका समय दैनिक तीन सयसम्म सिमकार्ड वितरण हुन्छ ।’ विशेषगरी कतारको भोडाफोन, क्यूटेल र मलेसियाको सेलकम तथा ओमानको ओमानटेल नाममो सिमकार्डको वितरण गरिरहेको वितरक माधव पौडेलले जानकारी दिए । पछिल्लो समय सबैभन्दा बढीमात्रामा कतारको भोडाफोनको सिमकार्ड वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारका लागि जाने क्रममा गन्तव्य मुलुकको विमानस्थल पुगेपछि सहजता हुन्छ ।