कम्पनी रजिष्ट्रार कार्यालयले २ महिनापछि पायो नेतृत्व
काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालयले करिब २ महिपछि प्रमुख पाएको छ । १५ दिन अघिदेखि निमित्त रजिष्ट्रार पनि थिएनन् । आइतबारदेखि कम्पनी रजिष्ट्रारको प्रमुखको कार्यभार समालने गरी प्रदिपराज अधिकारी आउने भएका छन् । उनले शुक्रबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र बुझिसकेका छन् । निमित्त रजिष्टार अजुनप्रसाद खनाल पनि विद्युत नियमन आयोगमा सरुवा भएर गएका थिए । उनी सरुवा भए पछि १५ दिन कम्पनी रजिष्ट्रार कार्यालय प्रमुखबिना नै सञ्चालन भयो । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब २ महिनादेखि प्रमुख विहीन थियो । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा सरुवा भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रारको काम गरिरहेका थिए । नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए । कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् । ‘५ जना सहायक रजिष्ट्रारको सरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन’, दाहालले भने । किन आउन मान्दैनन् कर्मचारी ? भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्ने गरेका छन । अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिने भन्दै ५ हजार रुपैयाँ घूस लिने क्रममा लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद पन्थीलाई पक्राउ गर्यो । अख्तियारले सहायक रजिष्ट्रार सीताराम खड्का र अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई पनि आर्थिक चलखेल गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।
कोरोना प्रभाव: श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
काठमाडौं । काेराेना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेकाे हाे । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन । सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।
सिई कन्सट्रक्सनले माग्याे विभिन्न विद्यामा ३७ कर्मचारी
काठमाडौं । निर्माण क्षेत्रकाे पायाेनियर कम्पनी सिई कन्सट्रक्सनले विभिन्न विधामा ३७ जनाको कर्मचारी मागेको छ । सिई कन्सट्रक्सनले १८ भिन्न विधा कर्मचारीहरू मागेको हो । कन्सट्रक्सनले हाईड्रोपावरमा दुई प्रोजेक्ट म्यानेजर र असिस्टेन्ट प्रोजेक्ट म्यानेजर मागेको छ । यस्तै दुई टनेल ईन्जिनियर, सिनियर ईन्जिनियर, जियोलोजिस्ट, एकजना क्युये/क्युसि सिनियर ईन्जिनियर, क्युये/क्युसि ईन्जिनियर, दुई कवान्टिटि सर्भयर, प्लान्ट ईन्चार्ज, ईलेक्ट्रिकल ईन्जिनियर, मेकानिकल ईन्जिनियर, ६ जना टनेल सुपरभाईजर, ३ जना जियोम्याटिक ईन्जिनियर, दुई जना सेड्युलर, स्टोर कोओरडिनेटर, ४ जना स्टोर किपर, एक जना एचआर अफिसर र दुई जना सिनियर पिआर अफिसर मागेको छ । जागिर खान चाहानेले चैत १५ गतेसम्म बायो डाटा कभर लेटर सहित सिई कन्सट्रक्सनका [email protected] मा ईमेल पठाउन सक्नेछन् । याे कम्पनीले अावास निर्माण तर्फ पनि राम्राे ख्याती कमाएकाे छ ।