कोरोना भाइरसको असरले आपूर्ति प्रणाली बिग्रन सक्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनो भाइरसका कारण नेपाली अर्थतन्त्रमा पनि असर पर्ने बताएका छन् । अर्थमन्त्रीको रुपमा पुनः पदबहाली गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । नेपालको अर्थव्यवस्था आयातमुखी छ, विश्वभर फैलिएको कोरोना भाइरसको कारण आपूर्ति प्रणालीमा असर पर्न सक्छ, हामी त्यतातिर सचेत हुनुपर्छ,’ मन्त्री खतिवडाले भने । कोरोना भाइरसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने भन्दै मन्त्री खतिवडाले त्यसको कति असर पर्छ भनेर अहिले नै यकिन गर्न नसकिने पनि बताए । पछिल्लो समय विश्व अर्थतन्त्रमा नै नयाँ नयाँ प्रकारका चुनौति थपिदै गएको मन्त्री खतिवडाको भनाइ छ । डा. खतिवडाको सांसद पद सकिएको दिन उनले राजीनामा दिएका थिए भने राजीनामा दिएको भोलिपल्ट नै उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मंगलबार (२० फागुन) मन्त्रालयमा गएर काम गरेका मन्त्री खतिवडाले अपरान्ह मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा गरेको भोलिपल्ट (२१ फागुन) नै प्रधानमन्त्रीको सिफारिसमा भन्दै उनलाई मन्त्री बनाइएको छ । प्रधानमन्त्री ओली मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्रीले गरेको सिफारिसका आधारमा खतिवडालाई मन्त्री बनाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सो दिन विहान करिब ९ बजेतिर प्रधानमन्त्री मिर्गाैला प्रत्यारोपणका लागि अस्पतालको आईसीयू लगिएको थियो । प्रधानमन्त्रीलाई आइसीयू लगिनु अघि डा. खतिवडालाई मन्त्री पदमा सिफारिस गरिएको हो । डा. खतिवडा पहिलो पटक मन्त्रीमा नियुक्त हुँदा पनि सांसद थिएनन् । उनी २ वर्ष अघि १४ फागुनमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि २१ फागुनमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा सांसदमा मनोनित भएका थिए । उनको सांसद पदको कार्याकाल २० फागुनमा सकिएको छ । दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त हुँदा पनि डा. खतिवडा सांसद बन्ने सौभाग्यबाट भने बन्चित छन् । सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संविधानको व्यवस्था अनुसार डा. खतिवडाले २ पटक यस्तो सुविधा पाएका छन् ।
कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला, आजै लिए सपथ ग्रहण
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । नियुक्त भएकै दिन उनले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा गर्भनर डा. चिरिञ्जीवी नेपालबाट कृषि विकास बैंकको अध्यक्षको पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई फागुन २१ गते बिहान बैंकको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । त्यसपछि बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष निरौलाले नेपाल राष्ट्र बैंकमा लामो समयसम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त गरेका थिए । साथै, यसअघि विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेका उनीसँग बैंकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ । पद तथा गोपनियताको सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा र शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मिना पाण्डे र कृषि विकास बैंकका संचालक समिति सदस्यहरु संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।
वैदेशिक राेजगारकाे विषयमा एनआरएनको आधिकारिक धारणा, नेपालकाे अर्थतन्त्र संकटमा
काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाएको छ । वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.बद्री केसीको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा यस क्षेत्रमा देखिने चुनौतीका विषयमा कुरा गरेका हुन् । विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने विषय छलफल भएको हो । वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याको समाधान गर्न गैरआवासीय नेपाली संघको भूमिका प्रष्ट पारेका हुन्। वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा तथा संघको आधिकारीक धारणामा समेटिने छ । यस कार्यक्रममा उपस्थित हुनु भएका विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आआफ्ना धारणा व्यक्त गरेको थियो । संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेको छ । साथै उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघले अनुरोध गरेको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिए । यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।