यस्तो काम पनि हुन थाल्यो प्रधानमन्त्री रोजगार कार्यक्रममा
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाको तामाकोशी गाँउपालिकामा सडकमा ढुंगा सोलिङ गर्ने र ढल निर्माण गर्ने काम भइरहेको छ । जेठ ११ गतेदेखि शुरुभएको उक्त काम दैनिक १ सय ९२ जनाले गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक दिप्रेन्द्र कार्कीले बताए । ‘७ वटा वडा रहेको उक्त गाँउपालिकामा प्रधानमन्त्री कार्यक्रमका लागि ६७ लाख ३३ हजार रुपैयाँ मन्त्रालयले छुट्याएको छ, सो रकम हामीले प्रत्येक वडामा बराबर विनियोजन गरेका छौं’ उनले भने । संयोजक कार्कीले यस वर्ष कोरोनाको प्रभावले गर्दा ४० दिनमात्र रोजगारी दिने जानकारी दिए । दैनिक ७ सय ५० रुपैयाँको दरले प्रत्येक वडामा २६, २७, २८ जना श्रमिकले विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म काम गरिरहेको संयोजक कार्कीले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कहरमा पनि सकेसम्म सामाजिक दुरी कायम गरेर काम भइरहेको जनाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको अघिल्लो वर्ष ब्यापक आलोचना भएको थियो । श्रमदानले हुने कार्यक्रमका लागि सरकारले कराेडाैं रूपैयाँ खर्च गर्याे भन्ने टिकाटिप्पणी भइरहेकाे याे कार्यले एक नमुनाकाे रूपमा स्थापित भएकाे छ ।
बुधबार कुवेतमा रहेका ३ सय नेपालीलाई स्वदेश ल्याइँदै
काठमाडौं । बुधबार कुवेतमा रहेका ३ सय जना नेपाली स्वदेश ल्याइने भएको छ । गैरकानुनी रुपमा तथा विभिन्न अपराधिक कार्यमा संलग्न भइ जेलमा बस्दै आएका २ हजार ९ सय नेपालीलाई कुवेत सरकारले आममाफी घोषणा गरेसँगै २ महिनादेखि स्वदेश फर्कने प्रतिक्षामा रहेका नेपालीमध्य ३ सय जना नेपाली फर्किने भएका छन् । कुवेत सरकारले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्मको खर्च व्यवहोर्ने छ । विशेष गरि आममाफी पाएका, श्रम अवधि सकिएका, महिला, अशक्त व्यक्ति, कोरोना रोगबाहेक अन्य रोगबाट ग्रस्त भएका एवंम तथा रोजगार गुमाएका ५ हजारभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेद पेश गरिसकेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । पहिलो प्राथमिकता आममाफी पाएकालाई नेपाल लैजाने र त्यसपछि क्रमश रोजगार गुमाएका, श्रमअवधि सकिएका अशक्त महिलाहरुलाई ल्याउने राजुदूत भण्डारीले बताए । कुवेतबाट ८ हजार नेपालीहरु जसले आममाफी पाएका छन् र श्रम अवधि सकिएर बसेका एवं रोजगार गुमाएहरुलाई तत्कालका नेपाल फर्काउने तयारीमा लागिरहेको दुतावासले जानकारी दियो । आज कुवेतबाट दुईवटा जहाजमा १ सय ५० को दरले ३ सय जनालाई ल्याइने छ । जसअन्तर्गत पहिलो जहाजमा प्रदेश १ का ६१ जना, प्रदेश नं २ का ९ जना, बागमती प्रदेशका ८० जना र दास्रो जहाजमा प्रदेश नं १ मा ५७, प्रदेश नं. २ का १ जना , बागमती प्रदेशका २६ जना, गण्डकी प्रदेशका ९ जना, प्रदेश नं. ५ का ४५ , कर्णाली प्रदेशमा १० जना, सुदुरपश्चिम प्रदेशका २ जना ल्याएने सीसीएमसी स्रोतले जनाएको छ । त्यस्तै बिहीबार युएईमा रहेका नेपाली ल्याइने तयारीमा सरकार रहेको तर कति जनालाई ल्याउने भन्ने कुरामा छलफल हुन बाँकी रहेको सो स्रोतले जनाएको छ । यस अगाडी युएईबाट जेठ २३ गते १ सय ६९ जना नेपाली फर्किएका थिए । त्यस्तै गए राती अष्ट्रेलियाबाट ११ जना नेपाली ल्याइएको छ । १ हजार ३ सय जना तत्काल नेपाल फर्कन चाहे पनि सरकारले ११ जनालाई मात्र ल्याएको हो ।
बेलायतबाट नेपाल फर्किन चाहने ३ सय ९१ को विवरण नेपाल पठाइयो
लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३ सय ९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १सय ५४ जना रहेको छ । त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् । गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ । रासस