जागीर खाने सोच्दै हुनुहुन्छ ? यसरी गर्नुहोस् ईन्टरभ्यूको तयारी

एउटा राम्रो संस्था, राम्रो कम्पनी, इज्जतदार नोकरी र दिगो पेशा रोज्न खोज्नु अनि पेशागत मान–प्रतिष्ठाका साथै आर्थिक रुपमा सवल र सक्षम हुन खोज्नु आजका हरेक युवाको चाहना हो । ईन्टरभ्युलाई नोकरीको लागि छनौट प्रकृयाको अन्तिम कडीका रुपमा लिन सकिन्छ । तपाईंले कुनै निश्चित स्थानमा नोकरी पाउने वा नपाउने भन्ने कुराको निर्धारण इन्टरभ्यूले नै गर्ने हुनाले तपाईंले ईन्टरभ्यूमा आफुलाई प्रतिस्पर्धि सामु खरो रुपमा उतार्नु पर्ने हुन्छ । ईन्टरभ्यूको तयारी राम्रो सँग नगरेको कारणले हात लागिसकेको नोकरी पनि फुत्केका उदाहरणहरु प्रशस्तै पाइन्छन् । त्यसैले तपाईं यदी नोकरीको खोजीमा हुनुहुन्छ भने तल दिइएका कुराहरुलाई ध्यानमा राखेर ईन्टरभ्युको तयारी गर्नुहोस् । कम्पनीको बारेमा राम्रो सँग बुझ्नुहोस् ईन्टरभ्यूको तयारी गर्दा सबैभन्दा पहिले तपाईंले ईन्टरभ्यू दिन लाग्नुभएको कम्पनीको बारेमा राम्रोसँग बुझ्नु पर्ने हुन्छ । व्यवस्थापकहरुले आफ्ना कर्मचारीले कम्पनीको बारेमा राम्रो सँग जानकारी प्राप्त गरेको होस् भन्ने चाहने हुनाले “तपाईंलाई यो कम्पनीको बारेमा के थाहा छ ?” भनी अक्सर सोध्ने गरेको पाइन्छ । त्यसैकारण, तपाईंले इन्टरभ्यूको तयारी गर्ने क्रममा सम्बन्धीत कम्पनीको वारेमा राम्रो सँग अध्ययन गर्नु जरुरी हुन्छ । स्किल, क्वालिफिकेशन र नोकरीका बिच तालमेल मिलाउनुहोस् तपाईंमा सम्बन्धित नोकरीप्रतिको स्किल कस्तो छ, क्वालिफिकेशन मिल्छ मिल्दैन, यो नोकरी तपाईंलाई सुहाउँदो छ कि छैन ? नोकरी गरेर भविश्यमा पछुताउनु पो पर्ने हो कि भन्ने जस्ता कुराहरुमा विचार गर्नुहोस् । नोकरी यस्तो रोज्नुस् जुन जीवनभरी बोझका रुपमा नभएर काम गर्दा मज्जा आओस् । यसका लागि तपाईंले स्किल, क्वालिफिकेशन र नोकरीका बिच तालमेल मिलाउन जरुरी छ । सामान्यतया सोधिने प्रश्नहरुको सुची तयार गर्नुहोस् ईन्टरभ्यूको तयारी गरिरहँदा सामान्यतया सोधिने प्रश्नहरुको सूची तयार पार्नुहोस् । जस्तै – तपाईंमा त्यस्तो के छ ? तपाईंलाई हामीले किन छनौट गर्ने ? तपाईं हाम्रो कम्पनीलाई कसरी अगाडि बढाउनु हुन्छ ? केही भिजन छ तपाईंमा ? जस्ता प्रश्नहरु हरेक ईन्टरभ्यूमा अक्सर सोधिने गर्दछन् । घरमै पटक–पटक ईन्टरभ्यूको रिहल्सल गर्नुहोस् धेरैजसो मानिसहरु ईन्टरभ्यू दिने क्रममा नर्भस महसुस गर्ने, सजिला प्रश्नहरुको उत्तर पनि राम्ररी नदिने, भक्भकाउने जस्ता क्रियाकलाप गरेर ईन्टरभ्यू बिगार्ने गर्दछन् । त्यसैले तपाईंले यस कुरालाई ध्यानमा राख्दै ईन्टरभ्यूको तयारीका क्रममा धेरै पटक ईन्टरभ्युको रिहल्सल गर्नुहोस् । राम्रोसँग डकुमेन्टेशन गर्नुहोस् ईन्टरभ्यू दिनुभन्दा अगाडि नोकरीसँग सम्बन्धित आबश्यक कागजपत्रहरु जस्तै – योग्यताको सम्पूर्ण र्सिर्टफिकेटहरु, अनुभवका पत्रहरु, तालिम, गोस्ठि तथा सेमिनारमा पाएका प्रमाणपत्रहरु तयार पारेर राख्नुहोस् । लगाउने कपडाको छनौट गर्नुहोस् ईन्टरभ्यू दिन जाँदा आफूलाई सामान्य रुपमा प्रस्तुत गर्नु राम्रो हुन्छ । महँगो लुगाभन्दा पनि सफा, चिटिक्क परेको लुगा लगाउनु राम्रो हो । तपाईको पहिरनबाट नै तपाईको बाहिरी रुप झल्किने हुनाले र त्यसैगरी कम्पनीले पनि आफ्ना कर्मचारीहरु साधारण नै होस् भन्ने चाहने हुनाले गर्दा तपाईंले आफूलाई धेरै हाइफाइ रुपमा प्रस्तुत नगर्ने खालको कपडाको छनौट गर्नु राम्रो हुन्छ । लोकेशन पहिल्यै निश्चित गर्नुहोस् कतिपय व्यक्तिहरु ईन्टरभ्यू दिन जाने कार्यालयको लोकेशन पहिल्यै थाहा नपाउँदा ईन्टरभ्युको दिन केही ढिला हस्याङ फस्याङ गर्दै पुग्ने गर्दछन् जसबाट उसको इन्टरभ्यूमा पनि नकारात्मक प्रभाव पर्न जान्छ । त्यसैले ईन्टरभ्यूको दिनमात्र सो कार्यालय खोज्नु भन्दा बरु केही दिन अघिनै तपाईं लोकेशनसम्म पुगेर त्यसको वारेमा निश्चिन्त हुनुहोस् । समयभन्दा अगाडि पुग्नुहोस् ईन्टरभ्युमा तोकिएको समयभन्दा करीब आधा घण्टा अगावै पुग्नु जरुरी हुन्छ । जुनसुकै कम्पनीमा पनि समयको महत्व अति आवश्यक हुने भएकोले तपाईं समय अगावै पुग्नुहोस् । यसबाट तपाईंले समयलाई ख्याल गरेको पनि देखिन्छ भने तपाईप्रति कम्पनीको धारणा पनि सकारात्मक देखाउन मद्दत पुग्दछ । तोकिएको समयभन्दा केही वेर अघि पुग्नुभयो भने तपाईं आफू पनि त्यहाँको वातावरणलाई आत्मसाथ गर्न सफल हुनुहुनेछ । आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस् अहिलेको प्रतिष्पर्धात्मक समयमा हरेक कम्पनीले आत्मविश्वासी कर्मचारीहरुलाई मात्र नोकरीमा राख्न मन पराउँछन् । त्यसैले तपाईं पनि इन्टरभ्यूको समयमा आत्मबिश्वासी भएर प्रस्तुत हुनुहोस् । वास्तवमा, ईन्टरभ्यू नै तपाईलाई छनौट गरिने अन्तिम कडि भएकोले गर्दा माथि बताइएका उपायहरुमा ध्यान दिनुहोस् । त्यसैगरी उपरोक्त उपायहरुका अलावा बडि ल्याङ्वेज, बोलीको हाउभाउ, सोधिएको प्रश्नका उत्तर दिने शैली, ईन्टरभ्यू दिन कोठामा प्रवेश गर्दा देखाउने आदर लगायतका स–साना कुराले पनि अति महत्व राख्ने गर्दछ । बिराटनगर–५ [email protected]

लुफ्थान्सा एयरलाइन्स २ अर्ब ३० डलर नोक्सानीमा, हजाराैं कर्मचारीकाे राेजगारी धरापमा

काठमाडाैं । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएकोजनाएको छ । कोरोनाभाइरसले उत्पन्न गरेकाे लकडाउकाे कारण हवाई सेवा ठप्प हुँदा साे क्षति व्यहाेर्नु परेकाे जनाइएकाे छ । तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो । यस समूहसँग रहेका कूल ७ सय ६० वटा विमानमध्ये ३ सय वटा विमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २ सय वटा विमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ । बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । एएफपी

विदेशमा अलपत्र परेका ७ लाख नेपाली देश फर्कने प्रतिक्षामा, २५ हजारलाई ल्याउने तयारीमा सरकार

काठमाडौं । रोजगारीको क्रममा विदेशमा रहेका करिब ७ लाख नेपाली श्रमिक फर्कने चाहेका छन् । विश्वमा नै फैलिएको कोरोना भाइरसको कारण खाडी तथा मध्यपूर्वी देशमा रहेका करिब ७ लाख नेपाली स्वदेश फर्कनका पाउँ भन्दै म्यानपावर व्यवसायी, दूतावास एवम् एनआरएनएको सम्पर्कमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले १० लाख नेपाली फर्किने अवस्थामा रहेको जानकारी दिँदै आएको छ । तत्कालका लागि ५ देखि ६ लाखसम्म खाडी तथा मध्यपूर्व देशमा रहेका नेपाली फर्किन चाहेपनि सरकारले पहिलो चरणमा २५ हजारलाई मात्र ल्याउन सकिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । २/३ महिनादेखि रोजगारी गुमाइ नेपाल आउने प्रतिक्षामा रहेका धेरै नागरिक छन् । तर सजायबाट आममाफी पाएका, श्रमको करार अवधि सकिएका, रोजगारी गुमाएर बसेका, कोरोनाबाहेक अन्य कारण विरामी भएका, सुत्केरी, गर्भवती, जेष्ठनागरिक, अशंक्त, अध्ययनमा आएका विद्यार्थी, आफन्तको मृत्यु भई काजकिरिया गर्न नेपाल आउनुपर्ने, भिजिट भिसामा रहेकालाई स्वदेश फर्काउने सरकारको पहिलो प्राथमिकता रहेको छ । ठूलो संख्यामा रोजगारी गुमाएर बसेका मध्यपूर्वी तथा खाडी राष्ट्रमा रहेका नेपाली सरकारको प्राथमिकतामा परेको छ । विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ठूलै भइसकेको छ भने धेरै लामो समय देखि रोकिएर रहेका अन्य १ सय ९९ वटा विभिन्न कारण मृत्यु भएका शव रोजगार गन्तव्य मुलुकमा नै रहेका हुँदा सरकारले उक्त शव परिवारलाई बुझाउनु पर्ने अर्काे महत्वपूर्ण काम छ । पछिल्लो समय गन्तव्य मुलुकमा नै शवको अन्तिम संस्कार गर्नका लागि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारसँग कुरा गर्दै आएको छ । हालसम्म ७५ परिवारले स्वीकृति दिएका छन् । त्यस्तै कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली आफ्नै देशमा आइ सिप अनुसारको काम गर्न चाहनेको संख्या धेरै रहेको विदेशस्थित विभिन्न दुतहरुको जानकारी दिँदै आएका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८ देखि १० वटा उडान भर्नेछ । सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर) रिपोर्ट अनिवार्य गरिएको छ । विदेशबाट आएका नेपालीका होल्डिंग सेन्टर, होटल क्वारेन्टाइन तथा स्थानीय निकायमा बनाएको क्वारेन्टाइनसम्म पुर्याउने व्यवस्था सरकारले गर्ने भएको छ । सरकारले अर्काे हप्तादेखि उक्त कार्य शुरु गर्ने भन्दै आएको छ । यो सबै कार्ययोजना कोभिड १९ रोकथाम, नियन्त्रण तथा उच्चस्तरिय समितिले तय गरेको छ ।