कोरोना असरः एयर फ्रान्सले ७ हजार ५ सय कामदार हटाउने
पेरिस । कोरोना भाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५ सय कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ । फ्रान्स सरकारले गत मे महिनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदूर निकाल्ने निर्णयमा पुगेको भन्दै मजदूर युनियन आक्रोशित भएका हुन् । मजदूर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन् । सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुपर्नेमा उल्टै मानिसलाई बेरोजगार बनाएको युनियनका नेताहरुको गुनासो छ । एयर फ्रान्सका प्रतिनिधिसँग पहिलो चरणको वार्तापछि कम्पनी व्यवस्थापनले एयर फ्रान्सबाट ६ हजार ५ सयदेखि ४१ हजार कर्मचारी, कामदार हटाउने तथा एयर फ्रान्सको सहायक कम्पनी हपले १ हजारदेखि २ हजार ४ सय मजदूर सन् २०२२ सम्ममा हटाउने घोषणा गरेको थियो । एक अनुमान अनुसार विश्वभर यस वर्ष एयरलाइन्सहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने छन् । एयरलाइन्सको आम्दानीमा झण्डै आधा घट्ने छ । केही विमान कम्पनी बन्द हुनेक्रममा रहेका छन् । अधिकारीहरुले विश्वको एयरलाइन्स व्यवसायलाई बचाउन वा लयमा फर्किन केही वर्ष लाग्ने बताएका छन् । कोरोनाभाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले प्रति दिन १ करोड ५० लाख युरो गुमाउनु परेको छ । सरकारले उपलब्ध गराएको वित्तीय सहायता ऋण र ऋणको प्रत्याभूतिका रुपमा दिइएको छ । उड्डयन क्षेत्रमा फ्रान्स सरकारले करिब १५ अर्ब युरोको आर्थिक सहयोगको व्यवस्था गरेको छ । फ्रान्समै रहेको युरोपेली बिमान निर्माता कम्पनी एयरबसले पनि शुक्रबार कम्पनी बचाउन करिब १५ हजार कामदार, कर्मचारी हटाउने घोषणा गरिसकेको छ । रासस–एपी
विदेशमा अलपत्र परेकाको उद्धार जारी
काठमाडौं । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् । नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ । यसैगरी हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ । नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो । त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिए । यसपछि एक/दुई साता चार्टर्ड उडान नहुने उनले जानकारी दिए । उनका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ । यसपछि दुई साता उडान हुनेछैन । सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिए । पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन् । हिमालयसँग तीन न्यारो बडी जहाज छन् । पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सले पनि नेपालीको उद्धार उडानका लागि अनुमति पाएका छन् । हिमालयले औसतमा दैनिक दुईदेखि तीन चार्टर्ड उडान गरिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । अहिलेलाई पूर्वनिर्धारित तालिकामा उडान भर्ने र थप उडानका लागि सरकारले निर्णय गरेमा उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए । उनले यात्रु चार्टर्ड र केही कार्गो उडानबाहेक अहिलेलाई कुनै योजना नभएको जानकारी दिए । एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरी चार्टर्ड उडान गरिरहेको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार र आइतबार दैनिक ११ उडान भएको विमानस्थलले जनाएको छ । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सेन्टर (सिसिएमसी) को निर्णयअनुरुप पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ । १६ हजारभन्दा बढी फर्किए विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को विवरणअनुसार यही असार १८ गतेसम्म विभिन्न मुलुकबाट १६ हजार २ सय ९४ यात्रु फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै कुवेतबाट ३ हजार ५ सय २७, युएईबाट २ हजार ७ सय ३७, साउदी अरेबियाबाट २ हजार २, कतारबाट १ हजार ८ सय १७ र मलेसियाबाट १ हजार ५ सय ३७ स्वदेश फर्किएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका ५ हजार ३ सय ५८, प्रदेश नं १ का ३ हजार ८९, प्रदेश नं ५ का २ हजार ५ सय ८१, प्रदेश नं २ का २ हजार ४ सय ९८, गण्डकी प्रदेशका २ हजार २१, कर्णाली प्रदेशका ३ सय ९४ र सुदूरपश्चिम प्रदेशका ३ सय ५३ स्वदेश फर्किएका छन् । रासस
वोमी लघुवित्तको अध्यक्षमा बिन्दीया प्रधान, सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । असार १९ गते सम्पन्न साधारण सभापश्चात साँझ बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई संस्थाको अध्यक्ष पदमा चयन गरेको हो । सो दिन बसेको आठौं वार्षिक साधारण सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी ६ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । उक्त सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने बिन्दीया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्र कुमार प्रसाईलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने कृष्ण राज सिलवाल र शिव प्रसाद मिश्रलाई निर्विरोध निर्वाचित गरेको संस्थाले जनाएको छ ।