शुक्रबार तीन देशबाट ल्याईयो २३ नेपालीका शव
काठमाडौं । शुक्रबार विभिन्न तीन देशबाट २३ नेपालीको शव काठमाडौं ल्याईएको छ । शुक्रबार विभिन्न तीन देश कतार, यूएई र कुवेतबाट गरी उक्त शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । बोर्डका निर्देशक दिनबन्दु सुवेदीका अनुसार कतारबाट २०, कुवेतबाट २ र युएईबाट १ गरी जम्मा २३ नेपालीकाे शब स्वदेश ल्याईएको हो । जसमध्ये ७ जनाको शव काठमाडौंको पशुपतिमा दाहसस्कार गरिने उनले जानकारी दिए । चार्टर्ड उडान शुरु भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीकाे शव ल्याउने काम भइरेहेकाे बाेर्डले जनाएकाे छ ।
अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र
काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गरे । सङ्घले उपप्रधानमन्त्री तथा अध्यक्ष कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ । सङ्घले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमका बारेमा बुँदागतरूपमा सुझाव दिएको छ । सङ्घले चार्टर उडान गर्ने व्यावहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिङ सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौँको सङ्ख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्नका लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ । रासस
बुधबार अष्ट्रेलियाबाट हुने ‘उद्धार’ उडान सरेर असार ९ गते पुग्यो
काठमाडौं । अष्ट्रेलियाबाट असार ३ गते बुधबार हुने भनिएको ‘उद्धार’ उडान अर्काे हप्ताका लागि सरेको छ । अष्ट्रेयालियास्थित नेपाली दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको असार ९ गते (२३ जुन) लाई सारेको जानकारी दिएको छ । त्यस्तै मेलबर्नबाट हुने दोस्रो चार्टर्ड उडान असार १२ गते अर्थात् २६ जुनमा हुने दूतावासले प्रकाशित गरेको सूचनामा उललेख गरिएको छ । दुवै चार्टर्ड उडान नेपाल एयरलाइन्समार्फत हुनेछ । नेपाल सरकारले तोकेको प्राथमिकताकालाई मध्यनजर गर्दै २ जुनसम्म नेपाल फर्कने फाराम भरेका नेपालीलाई पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल गरिसकिएको दूतावासले जनाएको छ ।