विदेशमा अलपत्र परेका नागरिक अब सरकारी खर्चबाटै स्वदेश फर्किन पाउने

काठमाडाैं । कोभिड-१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन् । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको प्रवक्ता डा. युवराज खतिडाले बताए । स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गरिने उनले बताए । यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउन दिने निर्णय सरकारले गरेको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सञ्चारमाध्यमको नविरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताएका छन् । कोभिड-१९ का कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको उनले बताए । राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।

प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक सेयरधनीको तर्फबाट ४ जनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । इन्स्योरेन्सले सर्वसाधारणको तर्फबाट केदारनारायण मानन्धर र बलराम श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट सुरेश लाल श्रेष्ठ, प्रभु कृष्ण श्रेष्ठ, राजेश लाल श्रेष्ठ र राजन कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले उनीहरुलाई आगामी चार वर्षको लागि हुने गरी संस्थाको सञ्चालक पदमा निर्वाचित गरेको हो ।

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का, बैंकलाई थप उचाईमा पुर्याउने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । बिहीबार माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउदाँ आफुलाई खुसी लागेको बताउँदै नायिका खड्काले आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।