बैंकका कर्मचारी मालामालः दशैंभत्ता र बोनस एकै पटक, कोरोनाले छोएन आम्दानी

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको आम्दानीमा खासै असर नपार्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा राेकथामका लागि सरकारले गरेकाे लकडाउन तथा निषेधाज्ञाले धेरैकाे रोजगारी गुमेको, धेरैले बेतलवी घरमै बस्नु परेको र धेरैको तलब कटौति भैहरेको बेला बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुले भने यो समयमा पनि दशैं भत्ता र बोनस पाउने भएका हुन् । कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा खासै असर नगरेकोले पनि सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई बोनस सँसँगै दशैं भत्ता अर्थात एक महिनाको तलब अतिरिक्त दिने योजना बनाएका हुन् । नविल बैंकका डेपुटी जनरल म्यानेजर (डीजीएम) मनोज ज्ञवालीले अहिले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु आफ्ना कर्मचारीहरुलाई दशैं भत्ता दिन सक्ने अवस्थामा भएको बताए । ‘कर्मचारीको कुनै पनि तलब, सेवा सुविधा तथा भत्ता घटेको छैन, अब दशैंमा पनि सबै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई भत्ता दिन सक्ने क्षमता राख्छन्, कुनै पनि संस्थामा दिन नसक्ने समस्या आउँदैन’ उनले भने । कर्मचारीहरुलाई तलब तथा भत्ता नै दिन नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नरहेको उनको भनाई छ । ‘त्यो अवस्था आउनु भनेको देशको अर्थतन्त्र नै ध्वस्त हुनु हो, त्यति धेरै समस्या बैंकमा छैन,’ उनले भने । रोजगारको टर्म अनुसार नै पाएको सुविधा भएकाले कर्मचारीलाई दिने भत्ता अतिरिक्त समेत नभएको उनको भनाई छ । तोकिएको व्यवस्था नै भएकोले कर्मचारीले निर्वाद रुपमा दशैं भत्ता पाउने उनले बताए । नेपालमा दशैंको बेला कर्मचारीले एक महिनाको अतिरिक्त तलब पाउने गरेका छन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुलाई एक महिना बराबरको तलब दिने प्रचलन छ । अहिले धेरै संस्थाहरुले कर्मचारीलाई दशैं भत्ता दिन सक्ने अवस्था न्यून छ । किनकि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ती संस्थाहरुको व्यापार व्यवसाय ठप्प बनाएको छ भने कारोबार र आम्दानी धेरैको शून्य नै छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुकाे नाफा घट्ने देखिए पनि कर्मचारीकाे भत्ता नै कम हुने अवस्था नभएको बैंकरर्सले प्रतिक्रिया दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले दशैंको भत्ता अनिवार्य रुपमा पाउने उनीहरुले बताएका छन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कर्मचारीहरुको दशैं भत्ता दिन कुनै समस्या नभएको बताए । ‘दशैं जस्तो महान पर्वमा जसले सक्छ, त्यसले दशैं भत्ता दिनै पर्छ, कुनै पनि संस्थामा कर्मचारीलाई भत्ता दिन सक्ने अवस्था नै नभएको हुन सक्दैन’ उनले भने । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले कमाएको कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीले पाउने बताए । बैंक तथा वित्तीय संस्थाले गरेको कुल नाफाको १० प्रतिशत  कर्मचारीले बोनस पाउने भएपछि कर्मचारीको आम्दानीमा कोभिड–१९ ले खासै असर नगर्ने पनि उनको भनाई छ । यसरी हेर्दा बैंकका कर्मचारीको आम्दानीमा कोरोनाले कुनै असर नगर्ने देखिन्छ । बैंकले गरेको नाफाको १० प्रतिशत बोनस र एक महिनाको अतिरिक्त तलब वाफतको दशैं भत्ता पाउने भएपछि उनीहरुको आम्दानीमा असर नपर्ने देखिएको हो । कर्मचारीलाई एक दशैंको भत्ता आउँछ अर्कोतर्फ बैंकहरुले त्यही समयमा नाफाबाट गरेको बोनस समेत वितरण गर्छन् त्यसबाट उनीहरुलाई मालामाल हुने देखिन्छ । २७ वटा वाणिज्य बैकहरुमा ४० हजारभन्दा बढी कर्मचारी , २० वटा विकास बैंकमा करिब १० हजारभन्दा र २२ वटा फाइनान्स कम्पनीहरुमा १८ सय जना कर्मचारी कार्यरत छन् । अहिले कतिपय बैंकहरुले साधारणसभा नगरेरै नै कर्मचारीलाई नाफाको बोनस बाडिसकेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अघिल्ला वर्षहरुमा आर्थिक वर्ष सकिएको भोलिपल्टै कर्मचारीलाई बोनस वितरण गर्थे । तर, यो वर्ष भने कोरोनाले भने त्यस्तो गर्न दिएन । हालसम्म आधा दर्जनभन्दा बढी वाणिज्य बैंकले गत आवको नाफाबाट कर्मचारीलाई बोनस दिइसकेका छन् भने कतिले दशैंमा दिने योजना बनाएका छन् । बैंकहरुले साधारणसभा गरे लगत्तै कर्मचारीकाे खातामा बाेनस रकम पठाउने गरेका छन् । बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । बोनस ऐनअनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउने व्यवस्था छ । कतिपय बैंकहरुले साधारणसभा  नगरी एडभान्सको रुपमा अगाडि नै कर्मचारीको खातामा बोनस पठाइरहेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले पनि बैंकका कर्मचारीहरुको दशैं भत्तामा कुनै असर नपर्ने बताए । उनले पनि दशैं भत्ता नै दिन नसक्ने संस्था नभएको बताए । ‘दशैं भत्ता दिने प्रावधान नै छ, त्यही अनुसार नै भत्ता तथा सेवा सुविधा दिने गरिन्छ, राष्ट्र बैंकको हकमा पनि नेपाल सरकारले तोकेको भत्ता पाइन्छ,’ उनले भने ।

विजनेश आइडिया छ तर पैसा छैन ? हल्ट प्राइजले गर्नेछ करोडौं रुपैयाँ सहयोग

आजको समयमा युवा विद्यार्थीहरुलाई हरेक क्षेत्रमा प्राथमिकता दिने गरिन्छ, कारण हो उनीहरुमा भएको समाज परिवर्तन गराउन सक्ने विचारशक्ति । संसारभर ठूला व्यवसायीहरुले आफ्नो कम्पनीलाई नयाँ दिशातर्फ लैजानका लागि युवाहरुकै विचार आवश्यक ठानेर उनीहरुलाई प्रयोग समेत गरिरहेको पाइन्छ । तर बहुसंख्यक युवाशक्ति भएको हाम्रो देशमा भने युवाहरुको विचारलाई प्राथमिकतामा समेत राखेको पाइँदैन । हाम्रो देशमा कतिपय यस्ता युवा पनि छन् जोसँग उद्यम सञ्चालन गर्ने नौलो उपायहरु होलान् तर पूँजीको कमीले गर्दा त्यस्ता उपायहरु दिमागमै सिमित भएका होलान् । उनीहरुलाई पूँजी भएकाहरुले पत्याउन पनि गाह्रै पर्दछ । आखिर पैसाको माया कसलाई पो हुँदैन र ? हो, यस्ता उद्यमशील विचार भएका नव-युवाहरुप्रति मध्यनजर गर्दै यिनका विचारलाई संसारभर प्रस्तुत गर्ने प्ल्याटफर्मको रुपमा काम गरिरहेको छ ‘हल्ट प्राइज’ ले । र आज यस लेखमार्फत् यही ‘हल्ट प्राइज’ को बारेमा चर्चा गर्न लागिएको छ । के हो त हल्ट प्राइज ? ‘हल्ट प्राइज’ हल्ट इन्टरनेशनल विजनेश स्कुल र संयुक्त राष्ट्र संघको साझेदारीमा वर्षेनी गरिने विद्यार्थी प्रतियोगिता हो जहाँ विश्वभरका विद्यार्थीहरुले सहभागिता जनाएका हुन्छन् । यसलाई विद्यार्थीहरुको नोवेल प्राइज भनेर पनि चिनिन्छ । यस प्रतियोगितामा भाग लिने विद्यार्थीहरुले ३/४ जनाको आफ्नो समूह बनाउनु पर्ने हुन्छ । हरेक वर्ष हल्ट प्राइजले एउटा थिम अर्थात् विषयवस्तु चयन गर्दछ जसलाई आधार मान्दै प्रत्येक समूहले एउटा उद्यम कसरी सञ्चालन गर्न सकिन्छ, त्यो उद्यमले कसरी समाजको कल्याण गर्न सक्छ र त्यसबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने आइडियालाई निर्णायक मण्डल सामु प्रस्तुत गर्नुपर्ने हुन्छ । ‘हल्ट प्राइज’ को यस वर्षको थिम भने ‘फुड फर गुड’ रहेको छ । यो थिममा आधारित रहेर विद्यार्थीहरुले जीवनको लागि अत्यावश्यक वस्तु ‘खाना’ कसरी परिवर्तनको सारथी र मानवताको समृद्धि पनि बन्न सक्छ भन्ने विषयमा आफ्ना उद्यमशील विचारहरु प्रस्तुत गर्नुपर्नेछ । निर्णायक मण्डललाई उत्कृष्ट लागेको समूहहरु कलेजस्तरबाट छनौट भएर देश बाहिर हुने क्षेत्रियस्तरमा प्रवेश गर्दछन् जहाँ उनीहरुको प्रतिष्पर्धा अन्तर्राष्ट्रिय तहका विद्यार्थीहरुसँग हुनेछ । त्यहाँबाट पनि विजेता भई चुनिएकाहरुलाई फाइनल राउण्डको लागि तयार पार्ने हेतुले समर विजनेश इन्क्यूवेटर पठाइन्छ जहाँ यी विद्यार्थीहरुलाई विशेष तालिम र परामर्ष दिइन्छ । यसले गर्दा उनीहरुलाई योजना बनाउन मद्दत पुग्दछ र आफ्नो उद्यमको थालनी गर्न सक्षम समेत हुनेछन् । फाइनल चरण चाहिँ संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा हुनेछ र यस चरणको विजेताले १० लाख अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । रनर अपहरुले पनि राम्रो धनराशी पुरस्कार स्वरुप प्राप्त गर्न सक्नेछन् । विजेताहरुलाई त्यो रकम आफ्नो विजनेश आइडियालाई यथार्थमा परिणत गराउन प्रयोग गराउने उद्देश्यले दिइएको हो । नेपालमा हल्ट प्राइज नेपालमा अन-क्याम्पस कार्यक्रम होस्ट गर्ने कार्यभार पुर्वाञ्चल विश्वविद्यालयले पाएको छ । यस विश्वविद्यालयको क्याम्पस डाइरेक्टरको रुपमा वसिम अन्सारी चयन भएका छन् । डाइरेक्टर अन्सारीका अनुसार यस प्रतिष्पर्धामा संसारभरका विद्यार्थीहरुले आफ्ना रचनात्मक विचारका साथ सहभागीता जनाउने छन् र केही वेग्लै कोणबाट सोच्न सक्ने आफ्नो क्षमताको प्रदर्शन पनि गर्नेछन् । जुन आजको समयमा जरुरी पनि देखिन्छ । त्यसैले ‘हल्ट प्राइज’ आफू र आफ्नो राष्ट्रलाई विश्व सामू चिनाउने एउटा सुनौलाे अवसर पनि हो । यो प्रतियोगिता यस वर्षको डिसेम्वरसम्म चल्नेछ । अन्सारी थप्छन्, “हाम्रो टिम अहिलेको कोभिडले निम्त्याएको असहज परिस्थितीका बावजुद पनि सारा कलेजहरुसँग भर्चुअल माध्यमबाट सम्पर्कमा रहेर धेरैभन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउने कसरतमा जुटेको छ ।”

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको छ । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको हो । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा मार्फत निर्वाचित भएका सञ्चालक विशाल अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको साधारण सभा बाराको सिमरा स्थित होटेल इच्छा प्रा. लिमा भएको थियो ।