पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्थमन्त्रायका सहसचिव भुसाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका हुन् । भुसाललाई भदौ ३ गतेको मन्त्रिस्तरीय निर्णयका आधारमा अध्यक्षको जिम्मेवारी दिइएको हो । कम्पनीले मंगलबार कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेनजलाई गराएको छ । त्यसैगरी पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन् । लम्साललाई पनि सरकारको तर्फबाट संचालक समितिको सदस्य बनाइएको हो । कम्पनीमा ७ जना संचालक हुनुपर्नेमा अब ३ पद खाली छ । खाली रहेका संचालकमा पब्लिक सेयरधनीको तर्फबाट २ जना र विज्ञ संचालकको तर्फबाट १ जनाको पद रिक्त छ । यसअघि मन्त्रिपरिषदले संचालक समिति अध्यक्ष नियुक्त गर्ने र सो अध्यक्षले ४ वर्षको लागि संचालक समितिको नेतृत्व गर्ने परम्परा थियो । तर, यसपटक मन्त्रिस्तरीय निर्णयबाट भुसाललाई अर्काे व्यवस्था नभएसम्मको लागि भनेर अध्यक्ष बनाइएको छ । कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ । संस्थापक सेयर स्वामित्वमध्ये कुल प्रमोटर सेयरको करिब ६० प्रतिशत सरकारको र बाँकी प्रमोटर सेयर बीमा कम्पनीहरुको छ ।

शिक्षकले तलब माग्दा जागिरबाटै निकालिनु पर्ने ?

हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौं । आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ । त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ । जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्याउने गुरूको पूजासमेत गरिन्छ । शिक्षकले विद्यार्थीको भविष्यको मार्गदर्शन गर्छन् । अफ्ठ्याराहरूलाई समाधानको बाटोमा लैजाने नै शिक्षक हुन् । जब तिनै शिक्षक समस्यामा पर्छन्, विद्यार्थी कसरी अगाडि बढ्न सक्लान् ? हो, विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना महामारीले सबै क्षेत्र समस्याग्रस्त छ । त्यसमा शिक्षा क्षेत्र झन यसको चपेटामा परेको छ । एकातिर विद्यार्थी चैतदेखि विद्यालय जान पाएका छैनन् भने अर्काेतिर तलब नपाएर शिक्षकहरू समस्यामा छन् । यतिमात्र कहाँ हो र, महामारीको कारण देखाउँदै निजी विद्यालयले शिक्षकहरू निकालिरहेका छन् । निजी मात्र नभएर केही सामुदायिक विद्यालयमा कार्यरत अस्थायी करार शिक्षक कर्मचारी पनि यसको शिकार बनेका छन् । यसको ज्वलन्त उदाहरण म आफै छु । मेरो घर विराटनगर महानगरपालिका १२ बर्कीमा हो । भक्तपुर सूर्यविनायक बाराहीस्थानको महेन्द्र मास्के संचालक रहेको महेन्द्र विद्या आश्रम नामको एक निजी विद्यालयमा म अध्यापन गराउँदै आएको थिएँ । माध्यमिक तहमा गणित विषय पढाउँदै आएको मलाई महामारीका कारण तलब दिन नसक्ने भन्दै स्कुलले निकालिदियो । महामारीका कारण सबैमा मानसिक तनाव परिरहेको बेला जागिर गुमेको अर्काे समस्यामा म परेँ । सरकारी स्कुलका शिक्षक घरमै बसेर पनि तलब भत्ता खाइरहेका छन् । म अनलाइन कक्षा पढाइरहेका छु । तर, एकाएक असार अन्तिमतिर भोलिबाट तपाईं काममा नआउनुहोला भनिदियो । विद्यार्थीले पनि मैले पढाएको राम्रैसँग बुझिरहेका थिए । उनीहरूबाट एकदम राम्रो प्रतिक्रिया आइरहेको थियो । जसले गर्दा म निकै उत्साहित बनेको थिएँ । महामारीका बेला पनि विद्यार्थीलाई कसरी पढाईमा सहभागी गराइराख्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुन्थ्यो । गत चैतदेखि तलब नदिएपछि विद्यार्थीको भविष्यका लागि अनलाइन कक्षा पढाइरहेका थियौं । अनलाइन कक्षा लिइरहेको भएपनि मलाई आर्थिक समस्या थियो । काठमाडौंमा कोठा भाडामा बसेर सबै किनेरै खानुपर्ने, घरबेटीलाई भाडा तिर्नुपर्ने, पैसै नभएपछि चैतदेखि साउनसम्म कसरी व्यवस्थापन गरे हुँला ? विद्यालयले मासिक ३८ हजार रूपैयाँ पारिश्रमिक पाउनेगरी गत मंसिरदेखि करारमा राखेको थियो । चैतसम्म राम्रै तरिकाले काम चलिरहेको थियो । विद्यार्थीको नजरमा पनि लोकप्रिय शिक्षक बनेको थिए । आखिर जति जे गरेपछि पेटमा एक छाक हाल्न पनि त पैसा नै चाहिन्छ नै । तर, चैतदेखि नै पैसा पाएको थिइनँ । आज पाइन्छ, भोलि पाइन्छ भन्दै आशै आशमा एक होइन, दुई होइन, चार महीना बितिसक्यो । तलब दिनु त कता हो, मैले काम गरेको पारिश्रमिक पाउँ भन्दा उल्टै जागिरबाट हात धुनुपर्यो । आफ्नो मिहेनतको कमाई माग्दा जागिरबाटै निकालिनु पर्ने यो कहाँको न्याय हो ? यस्तो बेला विद्यालयले झन् थप सहयोग गर्नुपर्नेमा उल्टै भोलिबाट काममा नआउनुहोला भनिदियो । चार्टर्ड एकाउन्टेन्टका लागि परीक्षा दिन गत वर्ष विराटनगरबाट काठमाडौं आएको थिएँ । परीक्षा दिएर खाली बसेको बेलामा पढाउनका लागि अफर आयो । आफ्नो बायोडाटा बुझाएर अन्तर्वार्ता दिँदा नाम निस्कियो । लामो समयदेखि तलब नपाउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छु । काठमाडौंमा जागिर नै गुमाएपछि त्यहाँ बस्नु आवश्यक नै भएन। त्यसैले अहिले आफ्नै घर फर्केको छु । विद्यालयले मलाई मात्रै होइन, मेरो पक्षमा लागेका अर्का अंग्रेजी विषय पढाउने शिक्षकलाई पनि त्यहीदिन जागिरबाट निकाल्यो । तलब दिनुभन्दा जागिर नै खाइदियो । निजी विद्यालयको यस्तो दादागिरी ? हामीलाई साह्रै अन्याय गरे । यदि यो देशमा साच्चै सरकार छ भने यस्तालाई कारवाही गरोस् । जागिरबाट निकालेपछि पनि सबै हिसाब ‘क्लियर’ गरेर पठाउनुपर्नेमा अहिलेसम्म केही भएको छैन । चैतदेखि असारसम्म १ लाख ४४ हजार रूपैयाँ पाउनुपर्नेछ । त्यो मध्ये २७ हजार मात्र दिइयो । जागिर नै गएपछि काठमाडौंमा बसेर के गर्ने भनेर घर आएँ । कमाउन गएको छोराले केही न केही ल्याएको होला भन्ने आशमा बसेका आमा बुवालाई के भनेर सम्बोधन गर्ने ? मसँग त्यसको उत्तर थिएन । करार सम्झौतामा जुनसुकै बेला पनि जागिरबाट निकाल्न सकिने कुरा उल्लेख छ । जागिरबाट निकालेकोमा मेरो गुनासो होइन । तर, यस्तो महामारीको बेला जागिर नै नभएपछि के खाने ? कसरी बाच्ने ? घरमा आमाबुवा र दुई भाइ गरी चार जनाको परिवार छ । काठमाडौंमा पैसा कमाउन गएको छोरा जागिर नै गुमाएर घर फर्किनु पर्दा कुन आमा बुवाको मन नरोला र ? साथीभाइ तथा आफन्तसँग ऋण निकालेर अहिलेसम्म घरखर्च चलाइरहेको छु । लामो समयदेखि काम गरेको पैसा नपाउँदा मानसिक तनावमा छु । कुनै बेला त सुसाइड गरू कि जस्तो लाग्छ । फेरि मनमा आमा बुवा, भाइ तथा घर परिवारको याद आउँछ । त्यसैले त अहिलेसम्म आफ्नो र आफूजस्तै पीडित शिक्षकहरूको न्यायका लागि आवाज उठाइरहेको छु । आफ्नो मनमा अनेकन प्रश्न आउँछन् । पैसा कमाउन नसकिएको भए ठिकै छ भनेर चित्त बुझाउन सकिन्थ्यो होला । तर, यहाँ त काम गरेको पैसा पाइएन । एकातिर काम गरेको पैसा पाइएन, अर्काेतिर काम गरेको पैसा देऊभन्दा जागिरबाट नै निकालियो । शिक्षकलाई विद्यालयहरुले गरेको यो व्यवहार अहिलेको परिवेश र परिस्थिति तथा कानुन सुहाउँदो छ ?

गणेश कार्की मौरिससको अवैतनिक वाणिज्य राजदूत

काठमाडौं । उर्जा व्यवसायी गणेश कार्की अफ्रिकन मुलुक मौरिससकाे लागि अवैतनिक वाणिज्य राजदूतमा नियुक्त भएका छन् । उनलाई हिजो नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको छ । पश्मिना, गार्मेन्ट हुँदै हाइड्रो व्यवसायमा जमेका कार्की स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था (इप्पान) का उपाध्यक्ष समेत छन् । कार्की सिंगटी खोला हाइड्रोपावरकाे कार्यकारी निर्देशक हुन् भने पिपुल्स हाइड्रोपावर, क्रिम हाइडेल, बैधिक हाइड्रो इन्भेष्टमेन्ट, बेनी हाइड्रो पावर लगायत जलविद्युत परियोजनाका प्रवर्द्धक हुन् । मौरिसस अफ्रिकन सामुन्द्रिक देश हो । विश्व बैंकका अनुसार यस देशमा करिव १३ लाख जनसंख्या रहेको छ । २ हजार किलोमिटर क्षेत्रफल भएको सानो देश भएपनि समूद्रको बीचमा रहेकोले अफ्रिकाको अर्थतन्त्रकाे केन्द्रविन्दुमा रहेकाे छ। मौरिससमा ५१ प्रतिशत मानिस हिन्दु धर्मालम्बी छन् । सन् १५०७ मा समुद्रको बीचमा फेलापरेको यो देशमा ७० प्रतिशत मानिस भारतीय मुलका छन् । यस देशका नागरिकले सेरोज, भोजपुरी र फ्रेन्च भाषा प्रयोग गर्दछन् । उखु उत्पादन, फिल्म सुटिङ र उच्चस्तरका पर्यटकका लागि चर्चित मौरिससमा विश्वका सफल सिनेकर्मीहरुले घरबार बसाएका छन् । मौरिसस र नेपालबीच यसै वर्ष श्रम सम्झौता भएको छ । नेपालबाट ५० हजार श्रमिक लैजाना मरिससले प्रस्ताव गरेको छ । २ देशबीचकाे मैत्रिपूर्ण सम्बन्ध बलियाे बनाउँदै आर्थिक सम्बन्ध विस्तारमा आफूले भूमिका खेल्ने नवनियुक्त अबैतनिक राजदूत कार्कीले विकासन्युजलाई बताए । ‘गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु’ परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ ।