सबैको चासो दशैं भत्ताः यस वर्ष कर्पोरेट क्षेत्रका कर्मचारीले पाउँछन् कि पाउँदैनन् ?
काठमाडौं । अघिल्ला वर्षहरुमा दशैं आउनुभन्दा १/२ महिना अगावै एक किसिमको छुट्टै माहोल हुन्थ्यो । राजधानी काठमाडौंमा दशैंको चहल–पहल निकै बढ्थ्यो । तर, यस वर्ष भने त्यो माहोल देखिएको छैन । दशैं आउन अब ४० दिन बाँकी छन् । दुई महिना अगडि नै चहल–पहल बढ्ने काठमाडौंमा यस वर्ष भने कुनै रौनकता छैन । मानिसहरुले गाउँ फर्किनका लागि १ महिना अगाडि नै नयाँ–नौलो कपडा तथा अन्य सामान किनेर गाउँ जानका लागि तयारी अवस्थामा हुन्थे । तर, यो वर्ष भने न बजारमा चहल–पहल छ नत मानिसमा त्यस्तो खालको दशैं आउन लाग्यो भन्ने उत्साह नै छ । अहिले वहस र चर्चा कोरोनाकै छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण यस वर्षमा चाडपर्वहरु निराशमय हुने निश्चित छ । कोरोनाकै कारण लामो समय भएको लकडाउन र त्यसपछिको जारी निषेधाज्ञाले देशको अर्थतन्त्रलाई निकै असर पुर्याएको छ । जसको प्रत्यक्ष असर राष्ट्रलाई मात्र होइन सर्वसाधारण नागरिकलाई समेत नराम्ररी परेको छ । लकडाउनले गर्दा व्यापार व्यवसाय ठप्प भएकै कारण यसवर्ष धेरै व्यापारी तथा व्यवसायीहरुलाई पनि निकै असर परेको छ । त्यसको प्रत्यक्ष असर ती व्यवसायमा काम गर्ने कर्मचारी तथा श्रमिकहरुलाई पनि परेको छ । अघिल्ला वर्षहरुमा ती व्यवसाय अथार्त कर्पोरेट क्षेत्रमा काम गर्ने कर्मचारीहरुले दशैंमा अतिरिक्त भत्ता पाउँथे । एक महिनाको तलब अतिरिक्त पाउने भएपछि कर्मचारीहरुलाई केही हदसम्म भएपनि राहात हुन्थ्यो । तर, अहिले भने कर्पोरेट क्षेत्रलाई आर्थिक समस्या भएको कारणले कर्मचारीहरुलाई दशैं भत्ता दिन्छन् कि दिँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ । एक महिनाको तलब अतिरिक्त तलब पाएपछि उत्साहित हुने कर्मचारी यो वर्ष कोरोनाको कारण पाइन्छ कि पाइँदैन भन्ने दुविधामा छन् । हाल नेपालको ठूलो अर्थात चर्चित चौधरी ग्रुपले भने यही अवस्था रहिरहेमा कर्मचारीलाई दशैं भत्ता दिन सकिने बताएको छ । चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडेले अहिले चौधरीको व्यापार व्यवसाय नर्मल रुपले अगाडि बढिरहेकोले त्यति धेरै समस्या नभएको बताए । ‘पछि कस्तो संकट आउँछ त्यो हामी भन्न सक्दैनौं, आजको दिनसम्म हामी नर्मल हिसावमै जाने प्रयास गरिरहेका छौं, जति हामी गत वर्ष कारोबार तथा आम्दानी गर्थ्यौं त्यही अवस्थामा छौं, यही अवस्था रहि रह्यो भत्ता दिन सकिन्छ,’ उनले भने । यही अवस्था अझै पनि कायम गर्ने प्रयास भइहरेको उनको भनाई छ । अहिले चौधरी ग्रुपसँग १३ हजा कर्मचारी आवद्ध रहेको उनले बताए । यस्तै, डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले दशैं आउन समय भएकोले त्यस सम्बन्धि आफ्नो संस्थाले कुनै निर्णय नगरेको बताए । ‘दशैं आउन समय छ, अहिलेसम्म दशैं भत्ताको बारेमा हामीले सोचेका छैनौं, भत्ता दिने वा नदिने भन्ने क्लिअर पिक्चर आइसकेको छैन, लकडाउन भएन र अलिकति व्यापार भयो भने दशैं भत्ता दिन सकिन्छ, व्यवसाय नै बन्द भयो भने दिन सकिने अवस्था हुँदैन,’ उनले भने । अझै पनि मान्छे खर्च गर्नमा कन्जरभेटिभ भएको उनको भनाई छ । मानिस पैसा खर्च गर्न अझै पनि त्रसित जस्तो भएको उनले बताए । हालसम्म दशैंमा भत्ता नदिने भन्ने कुरा भने डिस होमले नसोचेको उनको भनाई छ । उनका अनुसार डिस होमसँग १८० जना कर्मचारी आवद्ध छन् । अन्य दुई सय जना कल सेन्टर र अप्रत्यक्ष रुपमा १ हजारभन्दा बढी कर्मचारी डिसहोमसँग जोडिएको उनले बताए । यस्तै,नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले यो समयमा कर्मचारीलाई दशैं भत्ता दिन असम्भव भएको बताए । ‘मलाई यो वर्ष कर्मचारीले दशैं भत्ता पाउँछन् जस्तो लाग्दैन, लामो समयसम्म भएको बन्दले कम्पनी व्यवस्थापन निकै चुनाैतिपूर्ण छ । हाम्राे मात्र होइन, सबै कर्पोरेट क्षेत्रका कर्मचारीले तलब पाउन सक्ने अवस्था मैले न्यून देखेको छु’ उनले विकासन्युजसँग भने । कर्मचारीलाई तलब नै दिन समस्या भइरहेको बेला दशै भत्ता दिन त असम्भव नै रहेको उनको भनाई छ । उनका अनुसार लक्ष्मी ग्रुपमा हाल १५ सयभन्दा बढी कर्मचारी आवद्ध छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि यो वर्ष कर्मचारीलाई दशैं भत्ता दिन सक्ने अवस्था नरहेको बताए । ‘दशैं भत्ता व्यापार हेरेर थाहा हुन्छ, अहिले सबैलाई तलब दिन नै गाह्रो भइरहेको छ, यही अवस्थालाई हेर्ने हो भने पनि दशैं भत्ता दिन सकिँदैन, उनले भने । चैत ११ गतेदेखि देशव्यापी रुपमा भएको लकडाउन र त्यपपछि भएको निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प नै भएकोले पनि अहिले धेरै कर्पोरेट हाउसहरुले आफ्ना कर्मचारीहरुलाई दशैं भत्ता दिन सक्ने आँट गर्न सकेका छैनन् । निजी क्षेत्रका कर्मचारीलाई दशैंमा भत्ता पाउने कि नपाउने दुविधा भएपनि सरकारी कर्मचारीहरुलाई भने त्यतो खालको दुविधा छैन । यो बिचमा निजी क्षेत्रका धेरै कर्मचारीहरुले बेतलवी घरमै, तलब कटौती र रोजगार नै गुमाउनु परे पनि सरकारी कर्मचारीहरुले भने त्यो समस्या भोग्नु परेन । अब उनीहरु दशैं भत्ता पनि ढुक्कका साथ पाउने अवस्था छ ।
प्रुडेन्सियल इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष अग्रवालद्वारा सपथ ग्रहण
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष विशाल अग्रवालले आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो । अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप सम्बद्ध छन् । सम्बन्धित समाचारः प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त
बैंकका कर्मचारी मालामालः दशैंभत्ता र बोनस एकै पटक, कोरोनाले छोएन आम्दानी
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको आम्दानीमा खासै असर नपार्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा राेकथामका लागि सरकारले गरेकाे लकडाउन तथा निषेधाज्ञाले धेरैकाे रोजगारी गुमेको, धेरैले बेतलवी घरमै बस्नु परेको र धेरैको तलब कटौति भैहरेको बेला बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुले भने यो समयमा पनि दशैं भत्ता र बोनस पाउने भएका हुन् । कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा खासै असर नगरेकोले पनि सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई बोनस सँसँगै दशैं भत्ता अर्थात एक महिनाको तलब अतिरिक्त दिने योजना बनाएका हुन् । नविल बैंकका डेपुटी जनरल म्यानेजर (डीजीएम) मनोज ज्ञवालीले अहिले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु आफ्ना कर्मचारीहरुलाई दशैं भत्ता दिन सक्ने अवस्थामा भएको बताए । ‘कर्मचारीको कुनै पनि तलब, सेवा सुविधा तथा भत्ता घटेको छैन, अब दशैंमा पनि सबै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई भत्ता दिन सक्ने क्षमता राख्छन्, कुनै पनि संस्थामा दिन नसक्ने समस्या आउँदैन’ उनले भने । कर्मचारीहरुलाई तलब तथा भत्ता नै दिन नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नरहेको उनको भनाई छ । ‘त्यो अवस्था आउनु भनेको देशको अर्थतन्त्र नै ध्वस्त हुनु हो, त्यति धेरै समस्या बैंकमा छैन,’ उनले भने । रोजगारको टर्म अनुसार नै पाएको सुविधा भएकाले कर्मचारीलाई दिने भत्ता अतिरिक्त समेत नभएको उनको भनाई छ । तोकिएको व्यवस्था नै भएकोले कर्मचारीले निर्वाद रुपमा दशैं भत्ता पाउने उनले बताए । नेपालमा दशैंको बेला कर्मचारीले एक महिनाको अतिरिक्त तलब पाउने गरेका छन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुलाई एक महिना बराबरको तलब दिने प्रचलन छ । अहिले धेरै संस्थाहरुले कर्मचारीलाई दशैं भत्ता दिन सक्ने अवस्था न्यून छ । किनकि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ती संस्थाहरुको व्यापार व्यवसाय ठप्प बनाएको छ भने कारोबार र आम्दानी धेरैको शून्य नै छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुकाे नाफा घट्ने देखिए पनि कर्मचारीकाे भत्ता नै कम हुने अवस्था नभएको बैंकरर्सले प्रतिक्रिया दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले दशैंको भत्ता अनिवार्य रुपमा पाउने उनीहरुले बताएका छन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कर्मचारीहरुको दशैं भत्ता दिन कुनै समस्या नभएको बताए । ‘दशैं जस्तो महान पर्वमा जसले सक्छ, त्यसले दशैं भत्ता दिनै पर्छ, कुनै पनि संस्थामा कर्मचारीलाई भत्ता दिन सक्ने अवस्था नै नभएको हुन सक्दैन’ उनले भने । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले कमाएको कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीले पाउने बताए । बैंक तथा वित्तीय संस्थाले गरेको कुल नाफाको १० प्रतिशत कर्मचारीले बोनस पाउने भएपछि कर्मचारीको आम्दानीमा कोभिड–१९ ले खासै असर नगर्ने पनि उनको भनाई छ । यसरी हेर्दा बैंकका कर्मचारीको आम्दानीमा कोरोनाले कुनै असर नगर्ने देखिन्छ । बैंकले गरेको नाफाको १० प्रतिशत बोनस र एक महिनाको अतिरिक्त तलब वाफतको दशैं भत्ता पाउने भएपछि उनीहरुको आम्दानीमा असर नपर्ने देखिएको हो । कर्मचारीलाई एक दशैंको भत्ता आउँछ अर्कोतर्फ बैंकहरुले त्यही समयमा नाफाबाट गरेको बोनस समेत वितरण गर्छन् त्यसबाट उनीहरुलाई मालामाल हुने देखिन्छ । २७ वटा वाणिज्य बैकहरुमा ४० हजारभन्दा बढी कर्मचारी , २० वटा विकास बैंकमा करिब १० हजारभन्दा र २२ वटा फाइनान्स कम्पनीहरुमा १८ सय जना कर्मचारी कार्यरत छन् । अहिले कतिपय बैंकहरुले साधारणसभा नगरेरै नै कर्मचारीलाई नाफाको बोनस बाडिसकेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अघिल्ला वर्षहरुमा आर्थिक वर्ष सकिएको भोलिपल्टै कर्मचारीलाई बोनस वितरण गर्थे । तर, यो वर्ष भने कोरोनाले भने त्यस्तो गर्न दिएन । हालसम्म आधा दर्जनभन्दा बढी वाणिज्य बैंकले गत आवको नाफाबाट कर्मचारीलाई बोनस दिइसकेका छन् भने कतिले दशैंमा दिने योजना बनाएका छन् । बैंकहरुले साधारणसभा गरे लगत्तै कर्मचारीकाे खातामा बाेनस रकम पठाउने गरेका छन् । बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । बोनस ऐनअनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउने व्यवस्था छ । कतिपय बैंकहरुले साधारणसभा नगरी एडभान्सको रुपमा अगाडि नै कर्मचारीको खातामा बोनस पठाइरहेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले पनि बैंकका कर्मचारीहरुको दशैं भत्तामा कुनै असर नपर्ने बताए । उनले पनि दशैं भत्ता नै दिन नसक्ने संस्था नभएको बताए । ‘दशैं भत्ता दिने प्रावधान नै छ, त्यही अनुसार नै भत्ता तथा सेवा सुविधा दिने गरिन्छ, राष्ट्र बैंकको हकमा पनि नेपाल सरकारले तोकेको भत्ता पाइन्छ,’ उनले भने ।