ढुङ्गाखानीबाट ४०० जनाले पाए रोजगारी, वार्षिक ६० लाख बढीको कारोबार

गलकोट । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै युवा विदेश पलायन भइरहँदा बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित ढुङ्गाखानीमा भने करिब ४०० स्थानीयले नियमित रोजगारी पाउँदै आएका छन् । गाउँपालिकाभित्र झण्डै ४५ ढुङ्गा (स्लेट) खानी सञ्चालनमा छन् । ढुङ्गाखानीबाट स्थानीय युवाले सहजै रोजगारी पाएपछि वैदेशिक रोजगारीमा जानेतर्फ सोच्नु नपरेको स्थानीयवासीको भनाइ छ । घरको छानामा प्रयोग हुँदै आएको ढुङ्गा पछिल्लो समय आधुनिक घरमा टाँस्ने र छाप्ने कार्यमा समेत प्रयोग हुँदै आएको छ । पालिका क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनमा भएका ढुङ्गा उद्योग क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गा खानी भने सञ्चालनमा छन् । गाउँपालिको वडा नं १ र ५ मा ४५ ढुङ्गाखानी सञ्चालनमा छन् । ढुङ्गाखानीबाट ठूलो सङ्ख्या स्थानीयले रोजगार पाइरहेको खानी सञ्चालक हिमाल विश्वकर्माले बताए । “मैले ताराखोलामा पहिलोपटक ढुङ्गाखानी दर्ता गरी सञ्चालनमा ल्याएको हुँ, स्थानीय तहमा ढुङ्गाखानी दर्ता हुन नसक्दा यहाँका खानी सञ्चालकले धेरै दुःख र सास्ती पाइरहेका छन्”, उनले भने, “सबै प्रक्रिया पुर्याएर दर्ता गर्न धेरै समस्या छ, यद्यपि, केही उद्योग दर्ता प्रक्रियामा छन्” ढुङ्गाखानीबाटै वार्षिक ६० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उनको भनाइ छ । उनको खानीमा ३५ जनाले नियमित रोजगारी पाइरहेका छन् । पाँच वर्षदेखि मतेस खोला नजीकै खानी सञ्चालन गर्दै आएका विश्कर्माले पछिल्लो समय ढुङ्गाको मूल्य घट्दै गएको र कामदारको ज्याला बढ्दै गएका कारण समस्या भएको बताए । ताराखोला-५ नागीस्थित पोकबहादुर घर्तीले आफ्नै पाखोबारीमा ढुङ्गाखानी सञ्चालन गर्दै आएका छन् । उनले १० युवालाई नियमित रोजगारी दिएका छन् । “बाउबाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको देखेको थिएँ, आफ्नै पाखोबारी खनेर ढुङ्गा निकाल्दै कटिङ गर्दै बिक्री गर्दै आएको छु”, उनले भने, “वार्षिक चार÷पाँच लाख रुपैयाँ कमाउँदै आएको छु, विदेश जानु परेको छैन ।” यहाँको स्थानीय ढुङ्गा विदेशबाट आयातीत मार्बल तथा टायलको बिकल्पसमेत बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको छ । खानी सञ्चालकले ढुङ्गाको निकासी कर गाउँपालिकालाई बुझाउँदै आएका छन् । गतवर्ष ढुङ्गा निकासीबाट रु १० लाख राजश्व उठेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। खानी अन्वेषण तथा व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने भएकाले कर सङ्कलन र उद्योग दर्तामा समस्या भएको अध्यक्ष घर्र्तीको भनाइ छ । “प्रदेशले बल्ल गिट्टी बालुवाको कार्यविधि बनाएको छ, ढुङ्गाखानीको कार्यविधि नबन्दा हामीले लाखौँ राजश्व गुमाइराखेका छौं”, उनले भने, “प्रदेशको पटक-पटक ध्यानाकर्षण गर्दासमेत कार्यविधि बनेको छैन, कार्यविधि नबन्दा खानी तथा भूगर्भ विभागमा दर्ता गर्नुपर्ने भए पनि निकै समस्या छ ।” रासस

नेपाल प्रहरीमा ५ हजारभन्दा बढीलाई जागिर खुल्यो, आठ पासले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल प्रहरीले ५ हजारभन्दा बढी जवान थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र सुचना प्रकाशित गरी ५ हजार २ सय २७ जवान थप गर्न लागेको जानकारी दिएको छ । सुचना अनुसार खुल्लातर्फ २८ सय १७ र अरु समावेशीतर्फको कोटा छ । समावेशी कोटातर्फ आदिवासी जनजातिको लागि ७ सय ३७ र महिनातर्फ ४ सय ४१ जना भर्ना गर्न लागिएको छ । नेपाल प्रहरीको जवान पदमा आवेदन दिने म्याद कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म तोकिएको छ । आवेदन दिनको लागि ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट पनि व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आवेदन फारामको लागि १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । आवेदन दिने योग्यतामा कम्तिमा ८ कक्षा वा सो सरह अध्ययन गरेको हुनुपर्ने पुरुषको हकमा उचाइ ५ फिट २ इन्च हुनै पर्ने र तौल ५० केजी हुनुपर्ने तोकिएको छ । यस्तै, महिलाको लागि शैक्षिक योग्यता कम्तिमा ८ कक्षा वा सो सरह अध्ययन पूरा गरेको, उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भएको र २३ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका छन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेका थिए । पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् । यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते)मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए । अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भिर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।