अब कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
काठमाडाैं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् । हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् । यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा, लिए शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन तालिम सुरु
काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्लाबाट देशव्यापी तालिमको सुरुवात गरिएको हो । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाले अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमको उद्घाटन गरेको हो । भोला परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । तालिम लिनको लागि ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले देशभर रहेका व्यवसायीहरुको सीप अभिवृद्धिका लागि यो तालिम ल्याईएको बताए । ‘सिलाई व्यवसाय गर्नेहरुलाई आधुनिकतातर्फ लैजान यस तालिमले सहयोग गर्ने छ ।’ अध्यक्ष रामकृष्ण श्रेष्ठले भने । यस्तै महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिव राज कार्किले तालिम सफलताको शुभकामना दिदै फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले व्यवसायीहरुलाई थप उर्जा मिलेको बताए । साथै प्रदेश र केन्द्रबाट आगामि दिनमा पनि व्यवसायीलाई लक्षित कार्यक्रमहरु लैजाने कार्कीले बताए । कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना, कार्यपालिका सदस्य रमेश तिखत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।