एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त, को हुन् उनी ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंककाे सीईओका रुपमा नियुक्त गरेको हो । यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव उनीसँँग छ । साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरमा रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् । उनी सीईओकाे रुपमा बैंकमा प्रवेश गरेसँगै बैंकले पहिलो पटक नेपाली सीईओ पाएको छ ।
स्वावलम्बन लघुवित्तको सीईओमा उदयराज खतिवडा नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खतिवडालाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेका हुन् । यससँगै नवनियुक्त सीईओ खतिवडाले आगामी चैत २६ गतेदेखि आफ्नो कार्यकाल सम्हाल्ने छन् ।
दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
काठमाडाैं । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ । न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ । विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो । यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ । सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागु भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरुलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ । रासस