बैंकिङ क्षेत्रमा जागिर खाने इच्छा छ ? पहिले सुधार्नुस् यस्ता बानी
नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र दुई दशक यता एउटा यस्तो क्षेत्रको रुपमा स्थापित भइसकेको छ जसले लाखौंको संख्यामा रोजगारी सिर्जना गरिरहेको छ । यस्तै, कैयौं लगानीकर्तालाई वर्षैपिच्छे मुनाफा प्रदान गर्दै, व्यापार व्यवसाय गर्न चाहनेका लागि लगानीको वातावरण बनाइदिँदै आएको छ । अनि राजस्वको रुपमा सरकारलाई करोडौं रकम बुझाउँदै देश र जनतालाई आत्मनिर्भर बनाउन धेरै हदसम्म सफल पनि भएको छ । सायद बैंकिङ क्षेत्र एउटा इज्जतिलो क्षेत्रको रुपमा स्थापित भइसकेको कारणले गर्दा नै हुनुपर्छ, यस क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवा जमातको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । एकातर्फ यसरी यो क्षेत्रमा प्रवेश गर्न चाहनेहरु धेरैको संख्यामा भेटिन्छन् भने अर्कोतिर आफ्ना लागि बैंकिङ क्षेत्र पटक्कै सुहाएन भन्ने चिन्ताले बैंकको जागिर छाडेर अन्य कुनै क्षेत्रमा भविष्य खोज्नुपर्छ भन्नेहरु पनि भेटिइरहेका हुन्छन् । त्यसो भए के हो त बैंकिङ क्षेत्र ? यो क्षेत्रलाई कस्ता बानी बेहोरा भएकाले रोज्ने ? तपाईं यदी यो क्षेत्रमा प्रवेश गर्न पाए हुन्थ्यो भनेर सोचिरहनुभएको छ भने तपाईंले आफूमा कस्तो बानीको विकास गर्ने भन्ने लगायतका कुरामा केन्द्रीत रहँदै केही टिप्स तयार पारेको छु । तपाईंलाई बैंकिङ क्षेत्र रोज्ने अथवा अन्यत्रै भविष्य खोज्ने भन्ने जिज्ञासाको केही हदसम्म भएपनि सरलताका साथ जवाफ दिनेछ । बैंकिङ क्षेत्रमा शत प्रतिशत नै वित्तीय पारदर्शिता हुने भएकोले तपाईं हिसाव किताबमा कत्तिको चनाखो हुनुहुन्छ, पारदर्शितामा कत्तिको विश्वास राख्नुहुन्छ, करोडौं रकम भित्रिने र बाहिरिने हुँदा कत्तिको गोपनियता कायम राख्न सक्नुहुन्छ भन्ने कुराले बैंकिङ क्षेत्रमा ठूलो अर्थ राख्ने गर्दछ । यदी तपाईंमा प्यारप्यार बोलिरहने, कुरा गोप्य राख्न नसक्ने लगायतका बानी छन् भने आजैबाट आफ्नो यी बानीहरुमा सुधार ल्याउनुहोस् । यो क्षेत्र एउटा अध्ययनशील क्षेत्र पनि हो । बैंकिङ सिस्टम, नेपाल रास्ट्र बैंकको डाइरेक्टिभहरु, सम्बन्धित बैंकको सर्कुलर लगायतका कुराहरु समय समयमा परिवर्तन भइरहने हुनाले तपाईंले आफूलाई सधै अध्ययनशील बनाइरहनु पर्ने हुन्छ । यो क्षेत्रमा स्टाफले कत्तिको मिहिनेत गरिरहेको छ भन्ने कुराले गहिरो अर्थ राख्ने भएकोले कार्यालय समयभन्दा थोरै बढी समय दिनुपर्दा पनि तपाईं बिना हिचकिचाहट तयार हुनुपर्ने हुन्छ । आफूलाई अरुभन्दा अव्वल देखाउन तपाईं कार्यालय समयभित्रै पुग्ने, प्रतिस्पर्धी बैंकहरुको योजना, बजारको अवस्था लगायतलाई नजिकबाट बुझ्ने लगायतका काम गर्न जरुरी हुन्छ । त्यसैले आफूलाई यस्ता कुराहरुका लागि हरक्षण तयार राख्नुपर्ने हुन्छ । सेवाग्राहीले तपाईंसँग बोल्ने वित्तिकै तपाईं र तपाईंको बैंकप्रति धारणा बनाउने हुनाले तपाईंले आफ्नो ड्रेसअप, बडि ल्याङ्वेज, बोल्नेशैली लगायतमा विशेष ध्यान पुर्याइरहनुपर्ने हुन्छ । बैंकिङ क्षेत्र एउटा अनुशासित क्षेत्र भएकोले तपाईं कत्तिको अनुशासित हुनुहुन्छ, आफूभन्दा सानालाई कत्तिको माया गर्नुहुन्छ अनि ठूलालाई कत्तिको आदर गर्नुहुन्छ भन्ने कुराले विशेष अर्थ राख्ने गर्दछ । बैंकिङ काम मुख्य रुपमा कम्प्युटरबाटै गरिने भएकोले गर्दा तपाईं कम्प्युटर, फोटोकपी मेशिन, स्क्यानर लगायतका प्रविधिहरुसँग राम्रो जानकार हुनुपर्ने हुन्छ । कामको शिलशिलामा तपाईंलाई कार्यालयले जतिवेला पनि जिम्मेवारी हेरफेर गर्नसक्ने भएकोले तपाईं त्यसका लागि हरदम तयार हुनुपर्ने हुन्छ । त्यसैगरी बैंकिङ क्षेत्र सिकेर कहिल्यै नसिद्धिने भएकोले तपाईंमा हरदम नयाँ कुरा सिक्ने जोश जाँगर कायम रहनुपर्ने हुन्छ । यस्तै, बानी व्यहोराहरु तपाईंलाई आफूमा लागू गर्न सक्छु जस्तो लाग्छ भने यो क्षेत्र पक्कै पनि तपाईंकै लागि हो । अन्यथा हतारमा जागिर खाएर फुर्सदमा पछुताउनु बाहेक अरु केही विकल्प तपाईंसँग बाँकी रहनेछैन ।
‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित: प्रदेश प्रमुख कलौनी
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिनुहुँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा यहाँका नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए । “कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती विकास, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’, कर्णालीका नागरिकको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई बढावा दिएको छ ।” प्रदेश प्रमुख कलौनीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिनुका साथै मौलिक तथा अग्र्यानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाए । उनले प्रदेशभरिको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेशभन्दा निकै कमजोर भएकाले जनताले अपेक्षा गरेअनुसारको काम नदेखिएको बताए । “नाबालकजस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ”, उनले भने, “शून्य संरचनाबाट काम शुरु गरे पनि विकासका लागि आधार तयार गरिएको छ ।” गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतीपूर्ण भए पनि जलविद्युत् उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उनले बताए । उनले भने, “कठिन भूगोल र आर्थिक स्रोत न्यून हुँदा पनि चुनौतीको सामना गरेर अघि बढेका छौँ । निजी लगानीकर्ता भित्र्याउने पहल भइरहेको छ र कर्णालीमा लगानी सम्मेलनका आवश्यक वातावरण तयार गर्दैछौँ ।” प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आइसकेकाले आफ्नो अभिभारा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले सङ्घीय व्यवस्था ल्याउने जनताको हितमा काम गरेर आगामी दिनमा प्रभावकारी योगदान दिन सकोस् र तीनै तहका सरकारहरुको सहकारितामा विकास गतिविधि अघि बढुन् भन्ने चाहन्छु ।” लोकतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता र पारदर्शिता हो भन्दै सभामुख शाहीले सङ्घीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मक लिनुपर्नेमा जोड दिए । उनले कार्यकारीहरुलाई दूरगामी सोच राखेर काम गर्नसमेत सुझाव दिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली आज पनि गरिबीको दुश्चक्रबाट माथि उठ्न नसकेको जिकिर गरे । “हामीले हाम्रो सोच र सपनालाई संस्थागत गर्ने सङ्घीय संरचनाको अपेक्षा गरेका थियौँ”, मन्त्री भण्डारीले भने, “यद्यपि संविधानप्रदत्त अधिकारको प्रयोग गर्ने सवालमा प्रदेश सरकारले अन्योलता व्यहोर्दै आएको छ ।” समारोहमा प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान दिने शहीद परिवार, कोरोना महामारीमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा फुटबल तथा ब्याटमिन्टन खेलमा पहिलो, दोस्रो हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त समारोहमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित देउडा खेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कलाकारले नृत्य तथा मार्सल आर्ट्सका खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए । रासस
महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल, बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव
काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । नवनियुक्त कामु सीईओ लम्सालले केन्द्रिय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने बताएका छन् ।