नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खाली
काठमाडौं । नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि रहेको छ । आइतबार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति दालि रहेको बताए । उनले विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको पनि बताए । सिनियर अफिसरहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको घिमिरेले जानकारी दिए । उनले भने, ‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ हो । खाली भएर अहिले ५.९५ प्रतिशत ४ हजार ७ सय ३५ खाली छ । विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको छ । सिनियर अफिसरहरुको प्रतिशतमा गणना गर्दा प्रहरी महानिरीक्षकदेखि, प्रहरी निरीक्षकहरू गणना गर्दा २.८४ प्रतिशत रहेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ । तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।’ उनका अनुसार तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।
भायानेटको स्वतन्त्र सञ्चालकमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका क्षेत्री भायानेटको सञ्चालक समितिको निर्णयअनुसार बोर्डमा आबद्ध भएका हुन् । क्षेत्रीले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसियाको विभिन्न वरिष्ठ जिम्मेवारी सम्हालेका थिए भने जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले सन् २०२० मा ग्लोबल आइएमई बैंकको सीईओबाट अवकाश लिएका थिए । कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको अनुभवले भायानेटको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
दमौली । यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् । केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज पौडेलले बताए । कार्यक्षेत्र प्रदेशभर हुनु तर कर्मचारी कम हुँदा काम गर्न समस्या परिरहेको उनको गुनासो छ । पौडेलका अनुसार कार्यालयमा एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । कार्यालयमा कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकको पदपूर्ति हुन सकेको छैन । उनले भने, '११ जिल्ला कार्यक्षेत्र हुँदा कर्मचारीको अभावले सोचे बमोजिम काम गर्न सकिएको छैन ।' कार्यालयको मुख्य काम रेशमखेती, मौरीपालन र च्याउखेतीमा प्राविधिक सहयोग गर्नु हो । त्यसका लागि कार्यालयले कृषकलाई मौरीपालनसम्बन्धी सीपसँगै च्याउखेती तालिम प्रदान गर्दै आइरहेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३१ रेशम बिज कोया उत्पादन गरेको छ । उत्पादित रेशम बिज कोया रेशम विकास केन्द्र खोपासीलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए । कार्यालयको च्याउ ल्याबमा तीन हजार पोका च्याउ बीउ उत्पादन गरिएको छ । ती च्याउहरु विभिन्न ठाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए । पौडेलका अनुसार कार्यालय परिसरमा करिब १०० केजी खायन च्याउ उत्पादन गरिएको र कार्यालयबाटै बिक्री गरिएको छ । कार्यालयले यस आवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११० कृषकलाई मौरीपालन आधारभूत स्थलगत घुम्ती तालिम प्रदान गरेको छ । त्यसैगरी १८३ कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिएको छ । रासस