प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले दियो बधाई
काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले बधाई दिएको छ । कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अवसरमा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले बधाईसहित शुभकामना व्यक्त गरेका छन् । राठीले जारी गरेको शुभकामना सन्देशमा नयाँ नेतृत्वले सुशासन, वाक स्वतन्त्रता, स्वदेशमै मर्यादित रोजगारी, राजस्वको सदुपयोग तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ । सन्देशमा अगाडि भनिएको छ, 'उहाँको नेतृत्वमा उद्यम–व्यवसाय निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा सहितको वातावरण निर्माण हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।' राठीले कार्कीको कार्यकालले मुलुकको मुहार फेरिने विश्वास समेत व्यक्त गरेका छन्।
निडर स्वभाव र सरल जीवनशैलीको पर्याय प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भएकी छन् । जेनजी समूहको आन्दोलनका मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवापुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाबमोजिम राजनीतिक दल तथा सरोकारवालासँगको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बीए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् । विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उनले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गरेकी थिइन् । उनले विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । विसं २०४५ देखि २०४७ सालसम्म उनले कोसी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । विसं २०६१ पुस ५ गते उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । विसं २०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्यान्डलगायत देशको भ्रमण गरिसकेकी उनी नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपुण छिन् । निडर स्वाभाव र सरल जीवनशैलीको उनको पहिचान हो । उनले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हालेकी थिइन् । रासस
नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नयाँ अध्यक्ष नियुक्ति नभएको अवस्थामा बस्याललाई जिम्मेवारी दिइएको हो । बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए । उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । करिब दुई वर्षअघि उनी सो कम्पनीको सीईओ बनेका थिए ।