एनवाईईएफ स्टार्टअप अवार्ड्स ४. ० को आवेदन खुला, ४ लाख जित्ने मौका

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० आयाेजनाको शुभारम्भ गरेकाे छ । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो । स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन् । प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिने आयाेजकले जनाएकाे छ । यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन् । आवेदनहरू अहिले खुला रहेकाे र २०२४ नोभेम्बर १५ मा बन्द हुने जनाइएकाे छ । अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । अर्थात १ सेप्टेम्बर २०१८ भन्दापछि दर्ता भएका स्टार्टअप कम्पनीहरू मात्र अवार्डका लागि योग्य हुनेछन् । यति मात्र नभएर स्टार्टअपले प्रदान गरेको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनु पर्नेछ । आवेदन फारम भर्दा सहभागीले अङ्ग्रेजी अक्षरमा मात्र विवरण उल्लेख गर्नुपर्नेछ । यदि कुनै गलत सूचना राखेको पाइएमा तत्कालै आवेदन रद्द हुने एनवाईईएफले उल्लेख गरेको छ । यसबाहेक सहभागीले भनेको समयमा भनेको स्थानमा उपस्थित हुने प्रतिबद्धता समेत जनाउनु पर्नेछ । सहभागी स्टार्टअपहरूले केके लाभ पाउँछन् ? मार्गदर्शन: अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन नेटवर्किङ: नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका व्यावसायिक विकास सहयोग: स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग नगद पुरस्कार: उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः रु। ४,००,०००, २,००,०००, १,००,००० नगद पुरस्कार जित्ने अवसर पिचिङ अवसर: राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपहरूको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । नेपाली युवा उद्यमी मञ्चले नेपाल उद्योग वाणिज्य महासङ्घबाट सन् २००३ मा आधिकारिक मान्यता पाएको थियो । मञ्चले नेपाली युवाहरूमा उद्यमशीलता विकास गर्न टक शो, मेन्टरशिप, मास्टर क्लासलगायतका कार्य गर्दै आएको छ । सन् २०१६ मा मञ्चको काठमाडौं च्याप्टर स्थापना भएको थियो ।

बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

१५ प्रतिशत लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश पारित गर्न स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले कात्तिक ३० गते बिहान ११ बजे काठमाडौंमा २३औं वार्षिक साधारणसभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवदेन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदको निर्वाचन गर्नेछ । सभाले पुँजी वृद्धिअनुरूप हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कुनै उपयुक्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।