सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयको सम्मान
काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेका थिइन् । सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरेकी थिइन् । सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदीन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि हो र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागी सम्पूर्णलाई अनुरोध पनि गरेका थिए । साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यव्सायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यवाद दिए । मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो । आर्थिक वर्ष २०७९-८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ । कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न
काठमाडौं । दर्जनौं धार्मिक संघ–संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यले आयोजित हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । योगी नरहरिनाथ टेष्ट आध्यात्मिक परिषद्को आयोजनामा शुक्रबार भएको उक्त धार्मिक अन्तक्रियात्मक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको हो । स्वामी चतुर्भुजाचार्य महाराजको प्रमुख अतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा। गजमान गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सनातन धर्म, संस्कृति र परम्परा संकटमा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ,सस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । धर्म र संस्कृति देशको परिचय हुनका साथै सम्पत्ति भएको जिकीर गर्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नुपर्ने बेला आएको एक विज्ञप्ति मार्फत परिषद्ले अपिल समेत गरेको छ ।
माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो, ईपीएस ५३.९६ रुपैयाँ
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो । कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो । बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदा पनि कम्पनीको खुद नाफा १५.६८ प्रतिशतले बढेको छ । हाल भने ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रहेको छ । कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १३.३९ रुपैयाँबाट बढेर १३.४९ रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी भने ५३.९६ रुपैयाँ हुन आउछ। कम्पनीको प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ७७ पैसा रहेको छ।