२६.३१ प्रतिशत लाभांश बाँड्ने नबिलको घोषणा
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले ८ करोड १० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.३१ प्रतिशतका दरले ४२ लाख ६३ हजार १५७ रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २४ गते बिहान ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन स्वीकृत गर्ने र आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको पुनर्नियुक्ति लगायत सञ्चालक समितिमा भएका परिवर्तनलाई अनुमोदन गर्नेछ ।
बीमा दाबी सहजीकरणका लागि नेपाल इन्स्योरेन्सले प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सात प्रदेशमा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकेको छ । जेनजी आन्दालेनबाट भएको आगजनी र तोडफोडबाट भएको क्षतिको छिटो र सहज तरिकाले दाबी गर्न सहज होस् भनी फोकल पर्सन तोकेको हो । कम्पनीले एक सूचना जारी देशको विषम परिस्थितिमा ग्राहकको सहजीकरण एव आवश्यक सेवाको लागि प्रधान कार्यालय र क्षतिसम्बन्धी विवरण प्रदान गर्न सम्पर्क व्यक्ति तोकेको हो । कम्पनीका अनुसार बागमती प्रदेश/केन्दीय कार्यालयका लागि दयानीधिप्रसाद ओझैया, विष्णुप्रसाद ढुंगाना, सुरेश दाहाललाई तोकेको छ । कोशी प्रदेशका लागि द्रोणराज भट्टराई, मधेश प्रदेशका लागि द्रवेश कार्की, गण्डकी प्रदेशका लागि राजेश श्रेष्ठ, लुम्बिनी प्रदेशका लागि भुपेन्द्र उप्रेती, सुदूरपश्चिम प्रदेशका लागि खेमराज अवस्थी र कर्णाली प्रदेशका लागि प्रकाशबहादुर शाहीलाई नियुक्त गरिएको छ ।
सन नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । यो सुविधा ई–सेवा र खल्ती मार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई उपलब्ध हुनेछ । कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने छ । कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री हुने विश्वास व्यक्त गरेको छ ।