शेयर बजार गिरावटको प्रभाव म्युचुअल फण्डमा, कसले कति गुमाए एनएभी ?

काठमाडौं । माघ महिना म्युचुअल फण्डहरुको मूल्यमा गिरावट आएको छ । माघ महिनाको वित्तीय विवरण प्रकाशन गरेका ७ ओटा म्युचुअल फण्डको खुद मूल्यसँगै प्रतिइकाई मूल्यमा समेत गिरावट आएको हो । माघ महिनाकाे वित्तीय विवरणअनुसार म्युचुअल फण्डहरुले प्रतिइकाई ५ पैसादेखि १९ पैसासम्म खुद मूल्य गुमाएका छन् । सानिमा इक्विटीले १ करोड मूल्य गुमाउँदा सबैभन्दा कम र  २ करोड मूल्य गुमाएको एनआईबीएल समृद्धि फण्डको प्रतिइकाई खुद मूल्य सबैभन्दा बढीले घटेको हो । सानिमाकाे माघ मसान्तकाे खुद मूल्य १३७ कराेड र एनआइबीएलकाे ९९ कराेड ६ लाख रुपै‌ंया छ । त्यस्तै, ५२ करोड ४६ लाख खुद मूल्य भएको लक्ष्मी भ्यालु फण्डले १८ पैसा, १०६ करोडको लक्ष्मी इक्विटी फण्डले १७ पैसा, १५९ करोडको सिद्धार्थ इक्विटी फण्ड र ८६.५१ करोडकोे एनआईसी एशिया ग्रोथ फण्डले १३/१३ पैसा गुमाउँदा १०५ करोड खुद मूल्य भएको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको प्रतिइकाई मूल्यमा १० पैसाको गिरावट आएको छ । गत पुस मसान्तमा ११७८.०३ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तमा ११२८.१९ विन्दुमा झरेको छ, यो ४.२३ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक नै नकारात्मक भएपछि सूचिकृत कम्पनीहरुमा लगानी गर्ने म्युचुअल फण्डको मूल्यमा गिरावट आएको हो । हाल बजारमा १७ ओटा म्युचुअल फण्ड सञ्चालनमा छन् । वित्तीय विवरण प्रकाशन गरेका ७ ओटामध्ये सबै फण्डको मूल्य घटेसँगै अन्य फण्डहरुको पनि मूल्य घट्ने देखिएको छ । शेयर बजार हाल ३ बर्ष अघिदेखिकै न्यून विन्दुमा आइपुगेको छ । सरकारी प्रयासका बाबजुद बजारमा लगानीकर्ताको मनोबल उच्च नदेखिएपछि बजारले ओरालो बाटो लिन छाडेको छैन ।

गुडविल फाइनान्सको नगद लाभांश पारित, निक्षेप र कर्जा दुबैमा वृद्धि

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न फाइनान्सको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष(आव)को मुनाफाबाट सेयरधनीलाई सो मात्रा अर्थात ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा संस्थाले ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन प्रथम त्रैमासिकको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो । संस्थाले चालु आवको असोज मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, चालु आवको असोज मसान्तमा ५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले पुस मसान्तसम्ममा ५ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ बाट वृद्धि गरी ४ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ ।  त्यस्तै, आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा संस्थाको मूल्य आम्दानी अनुपातमा वृद्धि भएको छ । त्यसैगरी, व्याज आम्दानी तथा कर्जा तथा सापट, कुल कर्जा/निक्षेप र कुल संचालन खर्च तथा कूल सम्पत्तीमा वृद्धि भएको छ । आव २०७३/७४मा १२.८८ प्रतिशतले बढेको संस्थाको आधार व्याजदर २०७४/७५ मा १३.५७ प्रतिशतले बढेको छ । संस्थाले निक्षेप र कर्जा दुबैमा वृद्धि भएपनि संस्थाको खुद नाफामा भने गिरावट देखिएको छ । आव २०७३/७४को तुलनामा २०७४/७५मा संस्थाको खुद नाफा ६.३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५.१७ प्रतिशत बढी नाफा कमाएको संस्थाले गत वर्ष जम्मा ८.८३ प्रतिशत कमाएको छ ।

चौतारी लघुवित्तको फागुन २९ गतेदेखि बुक क्लोज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको आगामी फागुन २९ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस वित्तीय संस्था आगामी चैत १६ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे बुटवलको सुख्खानगरस्थित आप्रपाली कटेज एण्ड रेष्टुरन्टमा बस्दै छ । उक्त सभाले संस्था मर्जर वा एक्विजिसनमा जाने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।