यूनियन हाइड्रोले चैत १३ गतेदेखि आईपीओ बिक्री गर्ने, यस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं । यूनियन हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ३५ लाख ३४ हजार ३४० कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सो मध्ये २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात एक लाख ७६ हजार ७१७ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । साथै, बाँकी रहेको ३२ लाख ८६ हजार ९३७ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त कम्पनीमा लगानीका लागि लगानीकर्ताले कम्तीमा ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३५,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । अर्थात उक्त आयोजनामा लगानी गर्न चाहने इच्छुकले न्युनतम ५००० देखि ३५ लाख रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । तर, कम्पनीले जारी गर्न लागेको आईपीओमा संस्थाका संस्थापक तथा सञ्चालकहरु तथा संस्थापक सेयरधनीहरुका एकाघरको सदस्यले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ । उक्त सेयर चैत १३ गतेदेखि खुला भई छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । यस्ताे छ कम्पनीको अवस्था ३ मेघावाट क्षमताको यस आयोजनाको कुल लागत ७९ करोड ५० लाख रुपैयाँ र प्रति मेगावाट उत्पादन लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको सामान्य भुक्तानी अवधि(नर्मल पेब्याक पिरड) १०.६१ वर्ष र छुट्याइएको भुक्तानी अवधि(डिष्काउन्टेड पेब्याक पिरड) २३.२३ वर्ष रहेको अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले आईपीओ निष्कासनका लागि आईपीओ ग्रेड ५ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ ।

दुई कम्पनीको एक अर्ब ५७ करोडको आईपीओ आउँदै, हेरौँ क-कसको कति ?

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई कम्पनीलाई साे मात्रा अर्थात एक कराेड ५७ लाख ३८ हजार १५० कित्ताको सेयर जारी गर्न अुनमति दिएको हो । बोर्डको अनुमति पाएसँगै साञ्जेन लघुवित्तले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक नागरिक लगानी कोष मार्फत अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने छ । त्यसैगरी, रसुवागढी हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरले एक करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ ।

धितोपत्र बोर्डको तालाबन्दी खुल्यो, सेयर लगानीकर्ता दवाव समूहको बैठक बस्दै

काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले आइतबार नेपाल धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खुलाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा बिहान ९ बजेदेखि ताला लगाएका थिए । तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका थिए भने बाँकी कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका थिएनन् र कार्यालयको काम प्रभावित भएको थियो । प्रहरीले ताला फुटाएपनि समूहका अध्यक्ष हरि ढकाल भन्छन्, “प्रहरीले हामीलाई बोर्डबाट लाठीचार्ज गरेर लखेट्यो । सयौँ जनाको संख्यामा प्रहरी उपस्थित भएर आन्दोलनमा हस्तक्षेप गरेको छ ।” अब यस बारेमा लगानीकर्ता समूहको कोर टिमको बैठक बसेर अब के गर्ने भन्ने बारे निर्णय लिने उनले बताए । पूँजी बजारसम्बन्धी ३२ बुँदे मागको सुनिवाई नभएको भन्दै आन्दोलनमा उत्रिएको अध्यक्ष ढकालले बताए ।