साधना लघुवित्तले आर्थिक समृद्धिलाई एक्वायर गर्ने, ‘१००ः८० को सेयर स्वाप अनुपात कायम’
काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु जिल्ला भानु न.पा वडा नं ५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने बिशेष प्रस्ताब पारित गर्दै बिशेष साधारण सभा सम्पन्न गरेको छ । बिशेष साधारण सभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मूल्याङ्गकन प्रतिवेदनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको हो । उक्त साधारण सभाले एक्विजिसन पश्चात एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्तापूँजी रु १४ करोड सत्तरी लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताबपनि पारित गरेको छ । साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष कुष्णबहादुर थापाले एक्विजिसनपछि वित्तीय संस्था १० जिल्ला मात्र सीमित नरही राष्ट्रियस्तरको वित्तीयसंस्थाको रुपमा स्थापित हुने बताए । त्यस्तैगरी सञ्चालक रमेश सापकोटाले एक्विजिसन पश्चात वित्तीय संस्थामा थप चुनौतिहरु बढेतापनि थप जिम्मेवारीका साथ ग्रामीण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए । यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात लघुवित्त कै क्षेत्रमा यो एक्विजिसन पहिलो रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गरी आगामी दिनहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग समेत मर्जर÷प्राप्ति सम्वन्धमा छलफल गरी सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
कालो धन थुपार्ने थलो बन्दै सहकारी, वित्तीय क्षेत्रमा जोखिम
काठमाडौं । बैंकहरू स्रोत नखुलेको रकम बचत गर्न मान्दैनन्। आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन्। तर, सहकारीहरू भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । पछिल्लो समयमा अवैध आर्जन गरेको रकम जम्मा गर्ने माध्यम बनेका छन् सहकारी ।सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालो धन जम्मा गर्ने थलो बनेको हो । यसबाट समग्र वित्तीय क्षेत्रमा जोखिम बढ्न थालेको छ । सम्पत्ति शुद्धीकरण निर्देशिका कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रमा गैरकानुनी, कालो धन लुकाउन प्रयोग भएको अर्थविद्हरुले आशंका गरेका छन् । सहकारी विभागले २०७४ मा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई निर्देशन जारी गरेको थियो । तर निर्देशन जारी भएको एक वर्षभन्दा बढी बित्दा पनि सहकारीले कार्यान्वयन गरेका छैनन् । बैंक तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ प्रभावकारी रूपमा कार्यान्वन्यन भइरहेको छ। सहकारीले तीन खर्बभन्दा बढी कारोबार गर्दै आएको छ। देशभर झन्डै ३५ हजार सहकारी सञ्चालनमा छन् । विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ प को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको थियो । तर सहकारी क्षेत्रमा सम्पत्ति निवारणसम्बन्धी प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । निर्देशन कार्यान्वयन नगर्ने सहकारीमाथि लिखित रूपमा सचेत गराउनेदेखि पाँच करोड रुपैयाँसम्म जरिबाना हुने र संस्थाको दर्ता खारेजी गर्नेसम्मको कारबाही हुने व्यवस्था छ । सहकारी विभागले पछिल्लो दुई महिनायता १५ वटा सहकारीमा सम्पत्ति शुद्धीकरणका विषयमा अनुगमन गरेको छ । अधिकांश सहकारीले निर्देशिका कार्यान्वयन गरेका छैनन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
एशियन लाइफले हकप्रद सेयर बेच्न टेण्डर खोल्यो, कहिले भर्ने ?
काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र(टेण्डर) आह्वान गरेको छ । कम्पनीले २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर, माग बमोजिम आवेदन नपरेपछि उक्त परिमाणको हकप्रद सेयर टेण्डर गरी बिक्री गर्न लागेको हो । असार १ गतेदेखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्र(टेण्डर) पेश गर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन नम्बर १५ को प्रावधानलाई आधार मानी सेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्न लागिको कम्पनीले जनाएको छ । उक्त सेयरहरु खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक समूहतर्फको २४२०.७० कित्ता र सर्वसाधारण समूहतर्फको २१८९३९.०३ कित्ता गरी २२१३५९.७३ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्न लागिएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार एनआबीएल एस क्यापिटलका शाखाहरु, नेपाल इएन्भेष्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी तथा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड बाग्लुङबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने छ ।