राष्ट्र बैंकद्वारा नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति
काठमाडौँ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)ले बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्ने अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ बमोजिम नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको हो । नेप्स विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवम् संचालित कम्पनी हो । कम्पनीले १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्नुको साथै एटिएम र पस सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ ।
इमाडोलमा श्री इन्भेष्टमेन्टको १२ औँ शाखा बिस्तार
काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।
रिलायन्सले ६३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त
काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर(आइपीओ) निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । रु.१००/– दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमालाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।