सेल पे सेवा शुभारम्भ, यसरी गर्नुस् भुक्तानी र रकम स्थानान्तरण
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेल पे सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार साँझ राजधानीमा आयोजित एक समारोहका बीच उक्त सेवा शुभारम्भ गरेका हुन् । सेल पे सेवाबाट मोवाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेल पे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाई विकसित गरिएको कम्पनीले जनाएको छ । विभिन्न दूर सञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी र बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्रालिले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सेल पे को शुरुवात गरेको हो । सेल पे सेवा कसरी प्राप्त गर्ने ? सर्वप्रथम गुगल प्ले स्टोर वा एप्पल एप स्टोर वा सेल पेको वेबसाइटमा गई सेल पे एप्स आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्नेछ । त्यसपछि एपमा भनिए अनुरुप आफूलाई दर्ता गरी आवश्यक केवाईसी जानकारीहरु भरी आफ्नो बैंक खाताहरुमा जोड्न सकिने र आफ्ना भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।
बलेफी हाइड्रोले आइपीओ निष्काशन गर्ने, आइएमई क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौँ । बलेफी हाईड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरको प्रति सेयर १०० अंकित दरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा हाईड्रोपावरका कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । यस कम्पनीले सर्वसाधारण सेयर निष्कासनका लागि रेटिङ्ग एजेन्सिबाट आईपिओ ग्रेड ४ प्लस प्राप्त गरेको छ ।
धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू, के छ यो नीतिमा ?
काठमाडौँ । धितो पत्र बोर्डको सूचना तथा प्रविधि नीति साउन महिना देखि लागू भएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवम् जानकारीहरुको अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको अत्यन्तै महत्वपूर्ण भूमिकालाई दृष्टिगत गरी बोर्डको आव २०७६/७७ को नीति तथा कार्यक्रम अनुरुप बोर्ड संचालक समितिको निर्णयानुसार बोर्डको सूचना प्रविधि नीति, २०७६ पारित भई साउन महिनादेखि लागू गरिएको हो । सूचना प्रविधिको निरन्तर विकास तथा विस्तारबाट सिर्जित अवसरहरुको उच्चतम उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन बोर्डले सूचना प्रविधिसम्बन्धी नीति पहिलो पटक ल्याएको बोर्डका प्रवक्ता निरज गिरीले जनाएका छन् । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगलाई बढाउने, बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रुपमा प्रयोग गर्ने, सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय उपयोगमार्फत् धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशील एवम् विश्वसनीय बनाउने यो नीतिको उद्देश्य रहेको जनाइएको छ । नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ लागू भई कार्यान्वयनमा आए पछि देशको धितोपत्र तथा वस्तु विनिमय बजारमा हुने सूचना प्रविधिको उपयोग स्तरीय एवं भरपर्दो हुदै जाने सूचना प्रविधिको प्रभावकारी तथा सुरक्षित उपयोगका लागि महत्वपूर्ण आधार तयार हुदै जाने तथा धितोपत्र बजार नियमन तथा बजार गतिविधिहरुमा सूचना प्रविधिको उपयोगमा एकरुपता आई बजारको विश्वसनीयता अभिबृद्धि र बजारको विकास एवम् लगानीकर्ताको हित संरक्षण हुने बोर्डले अपेक्षा गरेको छ । के छ सूचना तथा प्रविधि नीतिमा ? १. उपर्युक्त उद्देश्यहरु परिपूर्तिको लागि बजारमा विकसित तथा स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गर्ने, बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्ने बजार सम्बन्धी सूचना तथा जानकारीहरुको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्ने इत्यादि नीतिहरु राखिएका छन् । २. उपुर्यक्त नीतिहरुको कार्यान्वयनको लागि देहायका रणनीतिहरु अवलम्बन गर्ने व्यवस्था गरिएको छ: – बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय एवम् अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास अनुरुपको डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने/गराउने । – बजार नियमन, धितोपत्र बजार संचालन तथा केन्द्रीय निक्षेप सेवा, बजारका अन्य गतिविधिहरुमा प्रयोग गरिने सूचना प्रविधिका साधन र प्रणाली विकास तथा खरिद धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आएस्को)को सिद्धान्त र सफ्टवेयर सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी व्यवस्था गर्ने/गराउने । – बजार सम्बन्धी गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न बजार सञ्चालक तथा नियमन निकायमा सूचना प्रविधियुक्त बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था गर्ने/गराउने । – सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्याङ्कन, पूर्व हस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक निर्धारण गर्ने÷गराउने । – बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरीक्षण गर्नुपर्ने व्यवस्था गर्ने/गराउने । – बजारसँग सम्बन्धित सूचना प्रविधि साधनहरुलाई स्तरीय, प्रभावकारी तथा विश्वसनीय बनाउन यस सम्बन्धी निर्देशिकाहरु बनाई लागू गर्ने/गराउने । – नियमन निकाय, बजार संचालक तथा अन्य पूर्वाधारहरुमा उपलब्ध सूचना तथा जानकारीको अभिलेख, प्रयोग तथा सुरक्षाका लागि विकसित एवं भरपर्दो सूचना प्रविधि संयन्त्रको स्थापना तथा विकास गर्ने/गराउने । – बजारसँग सम्बन्धित पक्षहरुले आ-आफ्नो क्षेत्रमा परेका तथा सम्बन्धित नीति तथा रणनीतिहरुको योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने । ३. बोर्डको सूचना प्रविधि नीति कार्यान्वयका लागि बोर्डका उप कार्यकारी निर्देशकको संयोजन रहने गरी ५ सदस्यीय समिति हुने व्यवस्था गरिनुका साथै उक्त नीति कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था समेत गरिएको छ ।