महिला नेतृत्वको मानुषी लघुवित्तले आईपीओ ल्याउँदै, व्यवसाय र सम्पत्ति थप्न मात्रै २ करोड लगानी गर्ने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दै छ । संस्थाले सो दिनदेखि एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न संस्थाले जनाएको छ । यससँगै इच्छुकले आगामी साउन २७ गतेदेखि छिटोमा साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्मा माग बमोजिम बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन बिक्री खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जानकारी गराएको छ । हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ । सेयर जारी गर्नुको उद्देश्य बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुरुप कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने भएको र सोही बमोजिम लघुवित्त वित्तीय संस्थाको प्रवन्ध-पत्रमा जारी पुँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप सेयर जारी गर्न लागेको हो । यससँगै संस्थाले कूल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ सेयर पुँजी सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई बिक्री वितरण गरी लघुवित्त वित्तीय संस्थाको जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुर्याउने छ । त्यस्तै, संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नको लागि सेयर जारी गर्न लागेको हो । आईपीओबाट उठेको रकम कहाँ लगानी हुन्छ ? संस्थाले सेयर निष्काशनबाट प्राप्त हुने रकम विभिन्न क्षेत्रमा लगानी गर्ने छ । आर्थिक वर्ष २०७७/७८ मा संस्थाले वित्तीय पहुँच कम भएका स्थानहरुमा वित्तीय सेवा प्रदान गर्नका लागि कम्तीमा १२ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गर्ने छ । र, व्यवसायमा भएको वृद्धिसंगै हाल रहेको भौतिक सम्पत्ति थप गर्नको लागि संस्थाले कूल २ करोड रुपैयाँ लगानी गर्ने छ । त्यसैगरी, पशुपालन तथा कृषि कर्जामा ५० लाख रुपैयाँ खुद्रा व्यापार र सेवा कर्जामा ५० लाख रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा ९३ लाख ७५ हजार रुपैयाँ लगानी गर्ने छ । संस्थाको विवरण २०७५ मंसिर १ गतेदेखि कारोबार सञ्चालन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाको कारोबार इतिहास छोटो रहेको छ । ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाले २०७५ असोज २५ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति पाएको थियो । काभ्रेपलाञ्चोकको बनेपास्थित भैसेपाटीमा केन्द्रिय कार्यालय रहेको संस्थाले हाल ८ जिल्लामा २६ वटा शाखा विस्तार गरेको छ । आर्थिक वर्ष २०७६र७७ सम्ममा ८ वटा जिल्लाका २८ वटा गाउँ तथा नगरपालिकामा २६ वटा शाखा कार्यलय विस्तार गरिसकेको छ । यो अवधिसम्ममा संस्थामा २६ हजार ९ सय ४७ जना सदस्यलाई लघुवित्त कार्यक्रममा आवद्ध गरी चालु आवमा ऋणी सदस्य संख्या थपेर १६ हजार ७३१ जना पुर्याएको छ । चालु आर्थिक वर्षमा अन्य लघुवित्त संस्थाको उपस्थिति कम भएका हाल कार्यक्रम विस्तार भएका जिल्लाहरुमा तथा थप जिल्लाका उपयुक्त स्थानहरुमा सम्भाव्यता अध्ययन गरि शाखा कार्यालय स्थापना गरि कार्यक्रम विस्तार गर्ने, केन्द्र बैठकलाई अझ प्रभावकारी बनाउन पुनर्ताजगी तालिम तथा वित्तीय साक्षरता कक्षा संचालन गर्ने, ग्राहक सदस्यको क्षमता तथा आवश्यकता आदिको पर्याप्त विश्लेषण गरेर गुणस्तरीय कर्जा लगानी गर्दै कर्जा कारोबार वृद्धि गर्ने, बचत वृद्धिमा विशेष जोड दिने र बचत तथा कर्जाका नयाँ सेवा विकास गर्ने लक्ष्य लिइएको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर आम्दानी १५.४७ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा २६.८४ रुपैयाँ प्रक्षेपण गरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ क्रमशः १४६.४१ र १७३.२५ रुपैयाँ पुग्ने संस्थाको अनुमान रहेको छ । संस्थाको विगतको अनुभव तथा यस पश्चात लिइने बजार नीतिका आधारमा संस्थाले लगानी गरेको कुल कर्जा रकमको ४० प्रतिशत रकम कर्जा तथा सापट तथा ६० प्रतिशत रकम निक्षेप लिइने प्रक्षेपण गरेको छ । साथै, कर्जा तथा सापट रकममा बार्षिक ७.५ प्रतिशतका दरले ब्याज खर्च र निक्षेपको औषत मौज्दात रकममा ७ प्रतिशतका दरले ब्याज खर्च जनाइएको छ । आ.व. २०७७/७८, २०७८/७९ र २०७९/८० मा कर्जा तथा सापट रकममा कायम कर्जा तथा सापट रकमको क्रमशः ३० प्रतिशत, २५ प्रतिशत र २५ प्रतिशत बृद्धि हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, कर्मचारी खर्चमा हरेक वर्ष १० प्रतिशतका दरले र अन्य सञ्चालन खर्चमा पनि प्रथम तथा दोश्रो वर्षमा १० प्रतिशतका दरले र अन्तिम वर्षमा ५ प्रतिशतका दरले वृद्धि हुने संस्थाको प्रक्षेपण रहेको छ । यस्ता छन् संस्थाको भावी योजना तथा रणनीति लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय/सेवाको बृद्धिका लागि विभिन्न भावी योजना बनाई उक्त योजनाको प्राप्तिका लागि विभिन्न रणनीति बनाएको छ । वित्तीय संस्थाले आगामी आर्थिक वर्षमा निक्षेप संकलन ६८ करोड १५ लाख १६ हजार रुपैयाँ र संचालन नाफा(नोक्सान) ३ करोड १५ लाख रुपैयाँले बढाउने लक्ष्य लिएको छ । कूल सदस्य संख्या ८ हजार थप गरि ३४ हजार ९४७ सम्म पुर्याउने र प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु हासिल गर्नका लागि लघुवित्त कारोबारहरु बिस्तार गर्दै लैजाने संस्थाले जनाएको छ । आ.व. २०७७/७८ मा यस वित्तीय संस्थाले वित्तीय पहुँच कम भएका स्थानहरुमा वित्तीय सेवा प्रदान गर्नका लागि कम्तीमा १२ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गर्ने कार्य योजना रहेको छ । ग्राहकको आवश्यकता अनुरुप नै सेवाहरु उपलब्ध गराउँदै लैजाने र संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा विशेष जोड दिने संस्थाको योजना रहेको छ । र, भविष्यमा असर पर्न सक्ने नकारात्मक घटना वा अवस्था आउन नदिन आवश्यक नीति नियम, कार्यविधिहरुको तर्जुमा गरी अगाडी बढ्ने रणनीति यस वित्तीय संस्थाले लिएको छ । सञ्चालक समिति लगायत व्यवस्थापन समिति हाल संस्थाको सञ्चालक समिति तथा उच्च व्यवस्थापनमा कूल ९ जना रहेका छन् । जसमा महिला मात्रै ६ जना रहेका छन् । महिलाले लिड गरेको यो संस्थाको सञ्चालक समितिमा ६ जना (संस्थापक समूहबाट ५ र स्वतन्त्र सञ्चालक १) रहेका छन् । तर,आईपीओ पश्चात भने सञ्चालक समितिको संख्या घटेर ५ पुग्ने संस्थाले जनाएको छ । संस्थाले संस्थापक समूहबाट १ जना सञ्चालक हटाई जम्मा ४ जना मात्रले प्रतिनिधित्व गर्ने जानकारी गराएको हो । साथै, सबै सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको रहेको छ । संस्थाको अध्यक्षमा पद्मासना शाक्य र सञ्चालकमा दिव्यतारा तुलाधर, नविना धाख्वा, प्रमिला आचार्य रिजाल र चन्द्रप्रसाद कछिपति रहेका छन् । त्यस्तै, स्वतन्त्र सञ्चालकमा सुवर्ण कु. कर्माचार्य रहेका छन् । संस्थामा सञ्चालक समितिको स्वतन्त्र सञ्चालक बाहेक अन्यको कूल ४६ हजार कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, सीईओ शोभा बज्राचार्यको १० हजार कित्ता सेयर स्वामित्व रहेकाे छ । कम्पनीका अुनसार आर्थिक वर्ष २०७६/७७ मा सीईओ बज्राचार्यले १६ लाख ५० हजार ८३७ रुपैयाँ, प्रबन्धक श्रेष्ठले ९ लाख १४ हजार ५९६ रुपैयाँ र अधिकृत सिंहले ६ लाख ५२ हजार ६६९ रुपैयाँ पारिश्रमिक बुझेका थिए । महिलाले लिड गरेको यो संस्थाका सञ्चालक समिति लगायत व्यवस्थापन समिति तथा उच्च पदाधिकारीहरुमा लामो समयको बैंकिङ्ग तथा लघुवित्तको अनुभव रहेको छ । त्यसैले पनि अन्य प्रतिष्पर्धीभन्दा पृथक किसिमले सहज तरिकाले सञ्चालन गर्ने सक्ने क्षमता रहेको संस्थाले जनाएको छ ।
पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ नाघेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै लघुवित्तको बजार पुँजीकरण ६ अर्ब १ करोड ७६ लाख ८४ हजार ४०० रुपैयाँ पुगेको हो । लघुवित्तले आज(साउन १४ गते) देखि दोश्रो बजारको यात्रा शुरु गरेको छ । साउन १३ गते नेप्सेमा सूचीकृत भएको संस्थाको आजदेखि दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको पहिलो कारोबार ९१४ रुपैयाँबाट शुरु भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको करिब अधिकतम मूल्य हो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको थियो । यससँगै दिनभरको कारोबारमा लघुवित्तको सेयर मूल्य निरन्तर रुपमा बढेको थियो । र, बिहीबार बढी कमाउनेको दोश्रो स्थानमा पर्न सफल भएको छ । बजारमा लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ९८९.१० रुपैयाँ पुगेको छ । जुन संस्थाको शुरुवाती मूल्यको तुलनामा ८.२२ प्रतिशत अर्थात प्रतिकित्ता ७५.१० रुपैयाँले बढी हो । बिहीबारको बजारमा कूल ९५ हजार २५७ रुपैयाँ बराबरको १०० कित्ता सेयर कारोबारमा किनबेच भएको छ । संस्थाको एकपटकमा १०/१० कित्ता गरी १० पटकमा १०० कित्ता सेयर किनबेच भएको हो । चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको कूल ६० लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत (४१ लाख ६ हजार ७०० कित्ता) संस्थापक र ३२.५० प्रतिशत (१९ लाख ७७ हजार ३०० कित्ता) साधारण सेयर रहेका छन् । सम्बन्धित समाचार जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?
जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?
काठमाडौं । जीवन विकास लघुवित्तको ६० लाख ८४ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १३ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर बिहीबार (साउन १४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेबीएलबी’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।