पुँजीबजारलाई प्रभाव पार्ने तथ्यहिन समाचार प्रकाशित नगर्न आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजीबजारलाई प्रभाव पार्ने भ्रामक  एवम् तथ्यहिन विषयका समाचार प्रकाशित नर्गन आग्रह गरेकाे छ । संगठनले आज (साउन १८ गते) एक विज्ञप्तिमार्फत सो सम्बद्ध निकायरुसँग जोडिएका आग्रह गरेको हो । साथै, संगठनका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएका आएका विषयहरु सत्य तथ्य विवरण आधिकारिक निकायबाटै आउने जानकारी गराएको छ । त्यसैगरी विगत केही दिनयतादेखि बजारमा आएको समाचार सबै भ्रामपूर्वक रहेको बताउँदै यस्ता समाचार सम्प्रेषण नगर्न पनि संघठनको अनुरोध रहेको छ । यस्ताे छ विज्ञप्ति नेपालको पुँजी बजारमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता भई पुँजी बजारको तिब्र विकास भई रहेको सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएका समाचारहरुप्रति यस संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । विगत केही समय यता नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखा परेका समस्याहरुको समाधान गर्दै बजारको समग्र सुधार तथा विकासका लागि नीतिगत तथा कानुनी संरचनामा परिर्वतन गरेको र सोको प्रभाव धितोपत्र बजारमा सकारात्मक रही बजारमा लगानीकर्ताहरुको मनोवल बृद्धिहुदै गएको सबैमा विदितै छ । धितोपत्र बजारको विश्वसनीयता, पारदर्शीता र स्थिरताको साथै अन्तर्राष्ट्रिय सिद्धान्त तथा असल अभ्यास अनुरुप बजार संचालन हुनुपर्ने विषयलाई प्राथमिकता दिई सोही अनुरुपको बजार विकासको लागि संगठन तथा कर्मचारी स्तरबाट निरन्तर योगदान गर्दै आएको व्यहोरा जानकारी गराउँदछौ । बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा रहेका संचालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरुमा सुधारको प्रयासमा व्यवधानजन्य कार्यहरु भएगरेको विभिन्न सामाजिक संजालमा राखिएका सामाग्रीहरुबाट देखिन्छ । यस्ता गतिविधिहरुबाट धितोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने धितोपत्र बोर्डका कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्नुका साथै बजार विकासमा अवरोध आउनसक्ने विषयमा सवैलाई संयमित तथा चनाखो हुन अनुरोध गर्दछौ । पुँजी बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै लगानीकर्ताको लगानीको सुरक्षा गर्ने विषय सम्पूर्ण सरोकारवाला पक्षहरुको सकारात्मक योगदानबाट मात्र सम्भव हुने संगठनको ठहर छ । यसै सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारीत भई आवश्यक्तानुसार वास्तविकता वाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन यसै विज्ञप्ती मार्फत बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ । अन्त्यमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने हुँदा पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न सम्पूर्णमा यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन हार्दिक अपिल गर्दछ ।

मकर जितुमाया सुरी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नेको भएको छ । हाइड्रोले सो मात्राको सेयर जारी गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धमा मकर जितुमाया सुरी हाइड्रो र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । उक्त सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । हाइड्रोले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर निष्काशन गर्नेछ । सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

मेरो माइक्रोफाइनान्सले कमायो १४५ प्रतिशत बढी नाफा, कर्जा लगानीमा आक्रमक

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १४५.५१ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड ७२ लाख रुपैयाँ बढी नाफा कमाएको हो । संस्थाले प्रकाशित गरेको गत असारमसान्तसम्मको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सको अधिकांश सूचकमा सुधार देखिएको छ । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७२.४६ प्रतिशत, सञ्चालन आम्दानी ७८.३९ प्रतिशत र सञ्चालन नाफा १०२.५२ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ४४.७२ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.५१ रुपैयाँले बढी हो । अघिल्लो आवको असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर अम्दानी १८.२२ रुपैयाँ रहेको थियो । त्यस्तै, पीई रेसियो ३४.५७, प्रतिसेयर आम्दानी बढेर १६३.१२ रुपैयाँ पुगेको छ । विवरण अनुसार बिजेनसमा पनि संस्था आक्रामक देखिएको छ । समिक्षा अवधिमा संस्थाले निक्षेप सञ्कलन ५२.३५ प्रतिशत र कर्जा लगानी १३६.४० रुपैयाँले बढाएको छ । यससँगै संस्थाले एक वर्षमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६४ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको छ । निक्षेपमा भन्दा कर्जामा आक्रामक देखिएको संस्थाको निष्क्रिय कर्जा घटेर ३.७८ मा सीमित भएको छ । जुन अघिल्लो आवमा ३.६५ रहेको थियो । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाको जगेडा कोषको रकम २०१.९७ प्रतिशतले बढेर ६३ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको जगेडा कोषमा २० करोड ९० लाख रुपैयाँ रहेको थियो ।