नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज(साउन ५ गते) मात्रै संस्थाको १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो
काठमाडौं । स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला हुने भएको हो । कम्पनीले गत बैशाख २१ गतेदेखि स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । बैशाख २३ गतेसम्म बिक्री भई बाँकी रहेको सेयर कम्पनीले आजबाट बिक्री खुला गर्ने छ । यससँगै कम्पनीले छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म उक्त सेयरको बिक्री खुला गर्ने छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । साथै, यसअघि आवेदन दिईसकेका आवेदकले भने पुनः आवेदन दिन नपाउने कम्पनीले जानकारी गराएको छ । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ ।
एकैदिन ७६ करोड रुपैयाँ बढीको आईपीओ स्वीकृत, सबैभन्दा बढी इन्स्योरेन्सको
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको छ । बोर्डले गत असार ३१ गते मात्रै विभिन्न तीन कम्पनीलाई सो मात्रा अर्थात ७६ लाख २३ हजार ७५० कित्ता आईपीओ जारी गर्न स्वीकृति दिएको हो । बोर्डले सानिमा लाइफ एन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ्ग पावर कम्पनी गरी तीन कम्पनीलाई उक्त स्वीकृत दिएको हो । जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सले सबैभन्दा बढीको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले एक सय अंकित दरको ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको छ । यससँगै अबको केही दिनमै इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ । त्यसैगरी, मानुषी लघुवित्तले अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति पाएको हो । लघुवित्तले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ । त्यसैगरी, सामलिङ्ग पावर कम्पनीले पनि स्थानिय र सर्वसाधारणलाई गरी कूल १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डको स्वीकृति पाएको हो । यससँगै कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्रा अर्थात १२ लाख ३० हजार कित्ता सेयर जारी गर्ने छ ।