विद्युत नियमनको सूचनादेखि डराए हाइड्रोका लगानीकर्ता, अधिकांशको मूल्य घट्यो
काठमाडौं । विद्युत नियमन आयोगले सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका छन् । आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोमा लगानी गुर्न भन्ने सूचना जारी गरेसँगै हाइड्रोका लगानीकर्ता डराएका बिहीबारको बजारमा छर्लङ्ग देखिएको छ । यससँगै बजारमा अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबारसम्म दैनिक सकारात्मक सर्किट लाग्दै आएका कम्पनीमा आज भने नकारात्मक सर्किट लागेको छ । बिहीबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १०/१० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । जसमध्ये खानीखोलाको सेयर मूल्य यस साता शुरु भएदेखिनै निरन्तर पोजिटभ सर्किट लाग्दै आएको थियो । उसले प्रतिसेयर आम्दानी ७१ रुपैयाँ रहेको वित्तीय विवरण प्रकाशित गरेसँगै कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको थियो । त्यस्तै, बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा पनि अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । बढी कारोबार गर्नेको ५ स्थानमा सबै हाइड्रो नै रहेका छन् । जसमध्ये अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको क्रमशः एक अर्ब १६ करोड ७८ लाख र १ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको पनि ८३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बुधबारको बजारमा कूल २२९ कम्पनीको २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको छ । बुधबार दोहोरो अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबार मापक नेप्से परिसूचक १८.१७ अंकले ओरालो लागेर ३१८०.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो । बजारमा इन्स्योरेन्स, माइक्रोफाइनानस, ट्रेडिङ्ग र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । के थियो नियमन आयोगको सूचनामा ?
रुरु जलविद्युतले एकैपटक घोषणा गर्यो दुई वर्षको लाभांश, बोनस र नगद कति ?
काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकैपटक आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले दुई वर्षको साधारण सभा पनि एकैपटक आव्हान गर्ने छ ।
मौद्रिक नीतिले हल्लायो सेयर बजार, दिनभर तीव्र उतारचढाव, हालसम्मकै उच्च कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो दिनको कारोबार मै बजारमा उच्च उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा ८२.६२ अंकको उतारचढाव देखिएको छ । सो दिनको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अधिकतम ३१८७.४८ र न्युनतम ३१०४.८६ बिन्दुसम्म झरेको थियो । नियमित समयमा कारोबार खुल्दा (११ बजे) नेप्से परिसूचक ३१७१.१ बिन्दुमा थियो । त्यसको तीन मिनेट नबित्दै परिसूचक घटेर ३१४० बिन्दुसम्म झर्यो । त्यसपछि ११ बजेर १६ मिनेट जाँदा परिसूचक बढेर ३१८७.४१ बिन्दुसम्म पुगेको थियो । जुन सो दिनको अधिकतम बिन्दु हो । तर त्यसपछिको बजारमा करिब डेढ घण्टाको अवधिमा बजार निरन्तर घटेर ३१०५ बिन्दुसम्म घट्यो । जुन सो दिनको नियमित समयको न्युनतम बिन्दु हो । त्यस्तै, त्यसपछिको बजारले पुनः उकालोको बाटो तय गरेको थियो । र, २ बजेर ३० मिनेट जाँदा परिसूचक ३१७४.२८ बिन्दुसम्म पुगेको थियो । बजारका लगानीकर्ता संगठनका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएसँगै बजारमा केही करेक्सन आएको देखिन्छ । भेटमा अर्थमन्त्रीले बजारलाई प्रभाव पर्ने कुनै पनि काम हुन नदिने जस्तो आश्वासन दिएसँगै लगानीकर्तालाई केही राहत भएको महसुस गरेसँगै अन्त्यमा बजारले उकालोको बाटो तय गरेको देखिन्छ । अन्ततः आइतबारको सेयर बजार २४.५७ बिन्दुले घटेर ३१५४.३४ बिन्दुमा अडिएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । तीव्र उतारचढाव देखिएको बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २१ अर्ब ६४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासमै पहिलो रेकर्ड हो । सो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको देखिन्छ । बजारमा तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य घटेको छ । जसको एकैदिन ८.५४ प्रतिशतले घटेर प्रतिइकाई १२.८५ रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जनाउँदै यसलाई हटाउन माग समेत गरिसकेका छन् ।