यी हुन् उद्योगमन्त्री बडूले पाँच महिनामा गरेका काम
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पाँच महिनाको कार्य प्रगति सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पाँच महिना अवधिको उपलब्धि सार्वजनिक गरेको हो । मन्त्री बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको दाबी गर्दै मन्त्री बडूले अहिले अहिले अर्थतन्त्रमा केही सुधार गरिएको बताए । ‘कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको थियो, यस्ता १० प्रतिशत उद्योग पनि बन्द भएका थिए, आयात बढेको थियो, तर अहिले केही सुधार आएको छ, विदेशी मुद्रा सञ्चितिमा सुधार देखिँदै आएको छ,’ उनले भने । यस्ता छन् मन्त्रीका पाँच महिनाको उपलब्धि [pdf id=350704]
बागलुङमा ४१८ नयाँ उद्योग थपिए
गलकोट । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिइन् । शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन् । खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ । यस्तै उद्योगतर्फ नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट ५० हजार राजस्व सङ्कलन भएको छ । ‘जिल्लामा खासगरी कृषिजन्य क्रियाकलाप, उत्पादन र बजारीकरण गर्ने, फर्निचर उद्योग सञ्चालन गर्ने र सिलाइबुनाइ पसल सञ्चालन गर्दै उद्योग बढी दर्ता भएका छन्’, उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा उद्योग नै नगरी सञ्चालनमा आएका उद्योगसमेत सचेतनाका कारण धमाधम दर्ता भइरहेका छन्, हामीले उद्योग दर्ता, नवीकरण लागतको कामसँगै पदमार्ग, चौतारी र पार्कलगायतका संरचना ८१ लाखको लागतमा निर्माण सम्पन्न गरेका छौँ ।’ यस्तै गत आवमा दुई सय ६८ उद्योगको नवीकरण, पाँच सय १३ वाणिज्यतर्फका उद्योगको नवीकरण, ३८ उद्योगको नामसरी, २० वाणिज्यतर्फको उद्योगको नामसरी, चार उद्योगको ठाउँ सरी, तीन वाणिज्यतर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, पाँच उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्यतर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पुँजीवृत्ति र ५७ वाणिज्यतर्फका उद्योगको पुँजी वृद्धि गरिएको छ । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले ३९ स्थानमा पार्क तथा पदमार्ग निर्माण गरिएको कार्यालयको भनाइ छ । गत आवमा कार्यालयले पदमार्ग, चौतारो तथा पार्क बनाउने, कोरोना प्रभावितलाई उपकरण, उद्यमशीलता विकास तालिम, कुशन बनाउने तालिम, क्रिष्टलका गहन बनाउने तालिम, झोला बनाउने तालिम, खेलौना बनाउने तालिम, प्लम्बिङ तालिम र सिलाइबुनाइ तालिम सञ्चालन गरिएको कार्यालय सूचना अधिकारी विष्णप्रसाद शर्माले जानकारी दिए । कार्यालयले सहरमा मात्रै नभएर गाउँमा समेत पुगेर विभिन्न उद्योग तथा व्यवसायको विकास गर्नका लागि तालिम दिँदै आएको छ । रासस
४९ उद्योगले पाए गुणस्तर चिन्ह
काठमाडौं । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/०७९ मा १५ वटा गुणस्तर पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सोही आवमा १५ गुणस्तर पारित गरेको हो । नयाँ मन्त्री नियुक्ति भएपछि परिषद्को दुईपटक बैठक बस्दा उक्त गुणस्तर पारित भएको हो ।नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य–सचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ । विभागका महानिर्देशक दिनानाथ मिश्रले विभागको प्राविधिक समितिले ९२ गुणस्तर पारित गरिसकेको बताए । ‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर क्रमशः नेपाल गुणस्तर परिषद्मा लगेर पारित गछौँ’, उनले भने । परिषद्ले आव २०७७/०७८ मा भने ३१ नेपाल गुणस्तर पारित गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिमा ढिलाई हुँदा आव २०७७/०७८ भन्दा गत आवमा नेपाल गुणस्तर पारित कम भएको विभागले जनाएको छ । विभागले आव २०७८/०७९ मा ५४ वटा उत्पादित वस्तुलाई इजाजतपत्र प्रदान गरेको छ भने १२ वटालाई प्रमाणपत्र प्रदान गरेको छ । सोही आवमा ४९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । सो विभागले गत आवमा दुई सय १३ पटक उद्योगको निरीक्षण अनुगमन, सात सय ५६ वस्तुको नमूना सङ्कलन र नौ वटाको प्रणाली प्रमाणिकरण प्रदान गरेको छ । तीन हजार दुई सय १४ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परिक्षण सम्पन्न गरेको छ । एक हजार आठ सय ५९ वटालाई क्यालिब्रेसन सेवा प्रदान गरेको जनाएको छ । विभागले उक्त कार्य गरेवापत गत आवमा चार करोड ९२ लाख आठ सय रुपैयाँ पाँच राजश्व सङ्ककलन गरेको छ । रासस