माग नभएको भन्दै हुवासिन सिमेन्टले गर्यो उत्पादन बन्द, कम्पनी भन्छ : करोडौं घाटा भयो
काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । गत भदौमा नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएको हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । पछिल्लो समय बजारमा सिमेन्टको माग कम हुँदा केही समयका लागि सिमेन्ट उत्पादन सटडाउन गरिएको कम्पनीले जनाएको छ । नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगले नै खपत कम भएको भन्दै उत्पादन बन्द गरेको हो । करिब ८ महिनादेखि परीक्षण उत्पादन गरिरहेको कम्पनीले पछिल्लो समय ठूलो परिमाणमा मौज्दात हुँदा केही समयका लागि सटडाउन गर्नुपरेको उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए । कम्पनीले गुणस्तर विभागबाट एनएस चिह्न पाएसँगै सटडाउन गरेको हो । ‘हाल बजारमा आर्थिक गतिविधिमा मन्दी आउँदा सिमेन्टको माग अत्यन्तै कम छ, बजारको अवस्थाका कारण हाल अधिकांश सिमेन्ट उद्योगहरु समस्यामा छन्, त्यसमा बढी समस्यामा हुवासिन भयो’, उनले भने,‘ उत्पादनको तयारीबाटै विभिन्न खालको समस्या झेलेको उद्योगले गुणस्तरको अनुमति पाएसँगै बजारको मन्दी थपियो ।’ उनले उद्योगले अनुमान गरेभन्दा सिमेन्ट उत्पादनको समयसँगै लगानी थपिँदा हुवासिन सिमेन्टले सुरुवाती चरणदेखि नै घाटाको व्यापार गर्न बाध्य भएको उनको भनाइ छ । उनले हाल उद्योगवाट उत्पादिन सिमेन्ट काठमाडौं, पोखरा र चितवन सहित मुख्य मुख्य बजारमा पठाएको बताए । ‘नेपालमा धेरै सिमेन्ट उद्योग छ, अधिकांश उद्योगले क्षमताको ३० प्रतिशतसम्म समेत सिमेन्ट उत्पादन गर्न सक्ने अवस्था छैन, हामीले क्षमताभन्दा कम उत्पादन गर्दै उत्पादन लागतभन्दा पनि सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराएका छौँ’, उनले भने । उनले हाल सिमेन्ट उद्योग समस्यामा परेको भन्दै सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हाल उद्योगले पीपीसी सिमेन्ट ५३० रुपैयाँमा र ओपीसी सिमेन्ट ६४० रुपैेयाँमा बिक्री गर्दै आएको छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने जनाइएको । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वि.सं २०७४ मंसिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेका सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछन् । उद्योगले धादिङको ताल्दी पुग्ने सडक निर्माण, स्थानीयरुपमा निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि अन्य सामाजिक कामसमेत गर्दै आएको छ ।
धमाधम बन्द हुन थाले कंक्रिट मिक्सर मेसिन उद्योग, उच्च भन्सारदरको समस्या
भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इञ्जीनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । वि सं २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कङ्क्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ । एक समय वार्षिक एक हजार हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको कम्पनीले गत वर्ष मुस्किलले एक सयवटा मेसिन निर्माण गरेर बिक्री गरेको थियो । यस वर्षदेखि भने उद्योग चल्ने अवस्थामा नरहेको कम्पनीका सञ्चालक ताराप्रसाद पौडेलले जानकारी दिए । गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए । “सरकारले हामीलाई सहज वातावरण बनाइदिए यस्ता उद्योग अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ”, उनले भने । उनको उद्योगले नयाँ मेसिनका लागि चाहिने पार्टस् उत्पादन बन्द गरिसकेको छ । बनेर बसेको १५–२० वटा मेसिन बिक्री भएपछि नयाँ उत्पादन नगर्ने निर्णयमा पुगेको सञ्चालक पौडेलले बताए । चितवन, रुपन्देहीलगायतका जिल्लामा १५ वटा यस्ता उद्योग सञ्चालनमा थिए । अहिले घटेर दुईवटा उद्योगमा खुम्चिएको छ । चितवन र रुपन्देहीमा एक–एक उद्योग सञ्चालनमा छन् । रुपन्देहीमा रहेको नेशनल इञ्जीनियरिङ मेटल प्रालि एक समय सर्वाधिक वार्षिक एक हजार पाँच सयसम्म मेसिन उत्पादन गर्दथ्यो । अहिले घटेर एक सय मात्रै मेसिन उत्पादन गर्ने गरेको छ । सरकारले यस उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १० देखि १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी पाँच रुपैयाँका दरले अन्तःशुल्कसमेत थप गरेको छ । तर यही सिङ्गो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र चार प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ । यस नीतिलाई सच्याउन उद्योगीले सरकारसँग पटक–पटक माग गरिरहेका छन् । तर माग सुनुवाइ नहुँदा छिट्टै उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ । नेशनल इञ्जीनियरिङ मेटलका सञ्चालक रामप्रसाद खनालले सरकारले उद्योगीको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताए । “हामीले अहिले मात्र होइन, पटक–पटक कच्चा पदार्थको भन्सार दरबारे माग राखेका थियौँ, तर अहिलेसम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौँ”, उनले भने । उद्योगीका साझा संस्था नेपाल उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन् । तर ती कुराको सुनुवाइ नहुँदा झन् समस्या बल्झिन थालेको चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए । “सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्” उनले भने । पछिल्लो समय अन्य उद्योगधन्दा पनि खुल्ने क्रम जारी छ । तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ । चितवन उद्योग सङ्घका उपाध्यक्ष युगराज वस्तीले युवा उद्यमी व्यवसायीलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाए। उनले कङ्क्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योग बन्द हुँदै गर्दा युवा रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताए । उनले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । नेपालका कङ्क्रिट मिक्सर मेसिन उद्योगमा सुरुआती समयमा चार सय ५० भन्दा बढीले रोजगारी पाएका थिए । उद्योग बन्द हुँदै जाँदा अहिले घटेर एक सयमा झरेको छ । नेपालमा उद्योग बन्द हुँदै जाँदा बर्सेनि ११ हजार बढी कङ्क्रिट मिक्सर मेसिन विदेशबाट आयात हुँदै आइरहेको छ । यसबाट ७६ करोडभन्दा बढी रकम विदेशिने गरेको छ । रासस
रुपन्देहीका पाँच स्टिल उद्योग अनिश्चितकालका लागि बन्द, २ हजार मजदुर बेरोजगार हुने
भैरहवा । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ । पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् । सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीरूरु लामो समयदेखि असन्तुष्ट रहेका थिए । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि रुपन्देहीका पाँच स्टिल उद्योग बन्द भएका हुन् । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्णरूपमा बन्द भएका छन् । एसआर स्टिल गत साउनदेखि बन्द भएको हो भने एभरेष्ट रोलिङ इन्डस्ट्रिज यही असोज पहिलो सातादेखि बन्द भएको हो । पञ्कन्याले पनि आफ्नो उत्पादन एक महिना अगाडिदेखि बन्द गरेको छ । एसआर गु्रपले सञ्चालन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज साउनदेखि बन्द भएको छ । दैनिक दुई सय टन टिएमटी स्टिल उत्पादन गर्दै आएको यो उद्योग २०६८ सालमा स्थापना भएको हो । एसआर स्टिलका प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए । ‘सरकारको नीतिपछि स्पञ्ज तथा फलामका कबाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्षरूपमा हामी ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा प¥यौँ, जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन’, उप्रेतीले भने, ‘त्यस्तै आर्थिक मन्दी, ऋणमा कडाइ, पूर्वाधार विकासका काममा कमी, माग नभएको लगायतले पनि उद्योगहरू चल्न सकेनन् । सरकारले बजेटमा स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा पाँच प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो भने एमएस ब्लेड आयातमा भन्सार विन्दुमै प्रतिकेजी तीन रुपैयाँ ५० पैसा अन्तःशुल्क कायम गरेको थियो । स्पञ्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा भएको उद्योगीहरू बताउँछन् । सरकारको यही विभेदकारी नीतिका कारण उद्योग बन्द हुने अवस्था आएको बताउँछन् रुपन्देहीको एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्का । ‘एकै प्रकृतिका सामानमा सरकारले फरक फरक दर कायम ग¥यो, स्पञ्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिएन’, गोयन्काले भने, ‘त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनु प¥यो ।’ गोन्यकाले स्पञ्ज ल्याएर ब्लेड बनाउने उद्योगले भारतबाट आयात हुने ब्लेडभन्दा सस्तोमा दिन्छौँ भनेर दाबी गरेको तर दाबीअनुसारको सामान नदिएको बताए । एभरेष्ट रोलिङ उद्योगले दैनिक एक सय ५० टन टिएमटी स्टिल उत्पादन गर्दै आएको थियो भने सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो । नेपालको पहिलो स्टिल उद्योग हिमाल हो भने दोस्रो स्टिल उद्योग एभरेष्ट रोलिङ हो । उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो भने एमएस ब्लेडको अन्तःशुल्क एक रुपैयाँ घटाई दुई रुपैयाँ ५० पैसा कायम गरेको थियो । सरकारको नीतिका कारण लागत बढ्न गएको, स्पञ्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएपछि एक महिनादेखि स्टिल उत्पादन नै बन्द गर्नुपरेको पञ्चकन्या समूहअन्तर्गतका उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले बताए । ‘हाम्रो माग हो, भन्सार शुल्क बराबर गर्नु प¥यो र तयारी वस्तुमा लिइने अन्तःशुल्क भन्सार विन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नु प¥यो’, महाप्रबन्धक साहुले भने । कोभिडका कारण सतहमा आएका उद्योगहरू बिस्तारै गति लिने क्रममा रहेकै अवस्थामा स्टिल उद्योगमा फरक नीतिका कारण उद्योगीहरूलाई व्यवसाय गर्न वञ्चित गरेको उद्योगीहरूको आरोप छ । दैनिक प्रयोजनमा प्रयोग हुने ह्यान्ड पम्प, ढकलगायत फलामे सामान र मेसिनरी पार्ट्सहरू रुपन्देहीमै बनाउँदै आएको रत्न आइरन इन्डष्ट्रिज पनि बन्द भएको छ । विसं २०४० मा भैरहवा पडसरीमा सञ्चालित काष्ट आइरनमा आधारित यो उद्योगबाट वार्षिक पाँच सय टन बराबरका सामान उत्पादन हुँदै आएको थियो । स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने बताउँछन् । ‘जबसम्म उद्योग तथा औद्योगिक क्षेत्र मैत्री नीति आउँदैन अन्य उद्योगहरू पनि बन्द हुन्छन्’, उनले भने, ‘कोरोनाले धरासायी भएका उद्योगहरूलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै च्याप्दै जाँदा समस्या बढिरहेको छ ।’ भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेष्ट, एसआर, गोयन्का, रत्न, फेरो, काठमाडाँै स्टिललगायतका उद्योगले अन्तःशुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग रहेको छ । त्यसैगरी स्पञ्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिलसमेत छन् । उद्योगहरू धमाधम बन्द हुन थालेपछि यहाँ काम गरिरहेका कामदारहरू चिन्तित भएका छन् । यी पाँचवटै उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब दुई हजार कामदार प्रभावित हुने एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक गोयन्का बताउँछन् । उनले उद्योग बन्द भएपछि केही कामदारलाई बिदा दिएर न्यूनतम कर्मचारीलाई मात्र उद्योगमा राखिएको बताए । यस्तै पञ्चकन्या समूहका महाप्रबन्धक साहुले पनि तिहारपछि उद्योगले ठूलो परिमाणमा कामदार कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । रासस