कास्की-तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने
फाइल फोटो गण्डकी । गण्डकी प्रदेश सरकारले कास्की-तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटमा औद्यागिक पूर्वाधारका रूपमा प्रादेशिक औद्यागिक क्षेत्र र औद्योगिक ग्रामको न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । गण्डकी प्रदेशमा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीनवटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बताए । महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सबलीकरण, सम्भावना बोकेका उद्यमहरूको स्तरोन्नतिका लागि स्थानीय तह तथा साझेदार संस्थासँगको लागत तथा प्राविधिक साझेदारीमा प्रदेशभित्रका पाँच स्थानीय तहमा वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई परीक्षण परियोजनाका रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । ‘उत्पादन, उद्यमशीलता र उद्यमः गण्डकी समुन्नतिको माध्यम’ अभियानलाई प्रवर्द्धन गर्न उद्योग, कृषि, रोजगार वृद्धिसम्बन्धी कार्यक्रम एकीकृत रूपमा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदाता कारबाहीमा
बागमती । बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा गरिएको अनुगमनका क्रममा बालश्रमिकका रूपमा काम लगाउने प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ३७ हजार ७ सय जरिवाना र ३ लाख ४० हजार ७ सय १२ रुपैयाँ क्षतिपूर्ति तिराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानहरूबाट बालश्रमिकका रुपमा रहेका २२ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । चालु आर्थिक वर्षको वैशाखसम्म दुई सय प्रतिष्ठानमा अनुगमन गरिएको थियो । अधिकांश ठूला उद्योग प्रतिष्ठानहरूमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको भए पनि साना उद्योग प्रतिष्ठानहरुमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको उनले जानकारी दिए । अनुगमनका क्रममा कमजोरी देखिएका उद्योग प्रतिष्ठानहरुलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकहरूलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए । श्रम तथा रोजगार कार्यालय हेटौँडामा होटल, उद्योग, वर्कशप गरी ५० वटा साना–ठूला उद्योग प्रतिष्ठान सूचीकृत छन् । चालु आवमा एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । कार्यालयमा धेरै जसो उजुरीहरू पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उनको भनाइ छ । चालु आर्थिक वर्षको १० महिनामा पारिश्रमिकसम्बन्धी ७० वटा उजुरी दर्ता भएकामा ५५ वटा उजुरी प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १५ वटा उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो अवधिमा श्रमिक आपूर्तिकर्ता कम्पनी दर्ता तथा नवीकरणबापत रु ६८ हजार पाँच सय, बालश्रमसम्बन्धी जरिवाना बापत ३७ हजार ७ सय र ट्रेड युनियन दर्ता तथा नवीकरणबापत १ हजार ६ सय ५३ गरी १ लाख ७ हजार ८ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।
अध्यक्ष ढकालले एनआरएनलाई भने- विदेशको कमाई नेपालमा लगानी गर्नुस्
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरू (एनआरएनलाई) आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गरे । ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताए । ‘नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ,’ उनले भने, ‘लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ ।’ महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै यसले नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने बताए । उनले यस कम्पनीमा सेयर लगानी गर्दै नेपालको विकास र समृद्धिमा हातेमालो गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गर्न जोड दिएका छन् । उनले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताए । नेपाली बैंकहरू नेपाल राष्ट्र बैंकको रेगुलेसनमा रहेको बताउँदै नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मकरूपमा बढी ब्याज पाइने समेत उल्लेख गरे । उनले ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपालीहरूलाई बैंकिङ प्रणाली मार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अष्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराउने बताए । कार्यक्रममा २०० बढी गैरआवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।